काठमाडौं । सरकारले वैदेशिक रोजगारमा जानेलाई अनिवार्य बिमा प्रावधान लागू गरेसँगै बिमा कम्पनीहरूले म्यादी जीवन बिमालाई ‘बिजनेस टार्गेट’ पूरा गर्ने अस्त्रको रुपमा प्रयोग गरिरहेका छन्।
वैदेशिक रोजगारमा जानेका लागि गरिने म्यादी जीवन बिमामा कम्पनीहरुले गैरकानुनी रुपमा कमिसनको सहारा लिएर व्यवसाय विस्तार गर्दै आएका हुन्।
सोही कारण पछिल्लो समय जीवन बिमा क्षेत्रमा गैरकानुनी कमिसन फस्टाउँदो छ।
जीवन बिमा व्यवसायअन्तर्गत बीमकले आजीवन जीवन बिमा, सावधिक जीवन बिमा, लघु जीवन बिमा र म्यादी जीवन बिमा व्यवसाय गर्न पाउँछन्।
‘टार्गेट’ (लक्ष्य) पूरा गर्ने होडमा कम्पनीहरुले गैरकानुनी कमिसन दिँदै म्यादी बिमा पोलिसीमा घाटा खाएरै खरिद गरिरहेको क्यापिटल नेपालले फेला पारेको छ। अधिकांश बिमा कम्पनीले म्यादी बिमा पोलिसी बिक्रीमा प्राप्त पैसा वैदेशिक रोजगार व्यवसायी र वालेट कम्पनीलाई कमिसनमा खर्च गरेको पाइएको हो।
बिमा प्राधिकरण भन्छ– वैदेशिक रोजगार म्यादी जीवन बिमामा कमिसन गैरकानुनी
नेपालमा मध्यस्थर्तामार्फत ‘कमिसन’ दिएर विस्तार गरिने व्यवसायमध्ये बिमा पनि प्रमुख हो। बिमा कम्पनीले अभिकर्तालाई व्यवसाय विस्तार गरिदिएबापत त्यसबाट निश्चित प्रतिशत कमिशन दिन पाउने व्यवस्था बिमा ऐनमै छ।
तर, बिमा व्यवसायका केही बिमा पोलिसीमा भने बिमा प्राधिकरणले कमिसन व्यवस्था गैरकानुनी भनेको छ। यसमध्ये वैदेशिक रोजगारमा जानेहरुले गर्नुपर्ने म्यादी जीबन बिमा हो।
सरकारले वैदेशिक रोजगारमा जानेका लागि अनिवार्य बिमा व्यवस्था गरे पनि नियमनकारी निकायले प्रभावकारी नियमन तथा सुपरिवेक्षण गर्न नसक्दा विकृति बढेको हो। सरकारले २०७३ यता वैदेशिक रोजगारमा जानेले अनिवार्य बिमा नीति लिएको हो।
वैदेशिक रोजगार म्यादी जीवन बिमामा पोलिसी कम्पनीहरुले सोझै बीमितलाई बिक्री गर्न सकिने व्यवस्था प्राधिकरणले गरेको छ। बिमा कम्पनीका कर्मचारीले सोझै वैदेशिक रोजगारमा पठाउने म्यानपावर कम्पनीसँग समन्वय गरी वालेटमार्फत अनलाइन प्रणालीमा पोलिसी बिक्री गर्न सक्ने व्यवस्था प्राधिकरणले गरेको छ।
यसमा बिमा कम्पनीले वालेटलाई प्रतिट्रान्जेक्सन र अक्वायर शुल्कबाहेक अन्य प्रकारको कमिशन दिन नपाउने बिमा प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदी बताउँछन्।
‘म्यादी जीवन बिमा वालेट कम्पनीमार्फत बीमितले सोझै खरिद गर्न सक्ने व्यवस्था छ। यसमा बिमा कम्पनीले वालेटसँग बिजनेस अक्वायर शुल्क र ट्रान्जेक्सन शुल्क मात्रै लिन पाउँछन्,’ सुवेदीले क्यापिटल नेपालसँग भने, ‘यदि यस्तो बिमा पोलिसीमा कुनै कम्पनीले कमिसन दिन्छ भने त्यो गैरकानुनी हो। प्राधिकरणले कमिसन दिने बिमा कम्पनीलाई कारबाही दायरामा ल्याउँछ।’
जीवन बीमा कम्पनीले अन्य बिमालेखमा अभिकर्तालाई कमिसन दिन पाए पनि म्यादी जीवन बिमालाई अभिकर्तामार्फत नभएर बीमित र बीमकको प्रत्यक्ष समन्वयमा हुने व्यवस्था रहेकाले कमिसन गैरकानुनी हुने उनको भनाइ हो।
यस्तो बिमालेख जारी गर्दा बिमा कम्पनीले अभिकर्ता होस् वा वैदेशिक रोजगारमा पठाउने कम्पनी। कसैलाई पनि कमिसन दिनु पर्दैन। तर, अधिकांश बिमा कम्पनीले १२ सय रुपैयाँसम्म कमिसनमा खर्चिने गरेको पाइएको छ।
वार्षिक ‘टार्गेट’ पूरा गर्ने माध्यम बनाइँदा म्यादी जीवन बिमामा कमिसनको झगडा
नाफा कमाउने उद्देश्यले स्थापित निजी कम्पनीहरुले वार्षिक व्यवसाय विस्तारको ‘टार्गेट’ राखेका हुन्छन्। यस्तै, टार्गेट बिमा कम्पनीहरुमा पनि लागू हुन्छ।
गत आर्थिक वर्ष जेठसम्म जीवन बिमा कम्पनीले कुल १ खर्ब ३३ अर्ब ७५ लाख बिमाशुल्क संकलन गरेका छन्। यसमध्ये नयाँ व्यवसाय अर्थात् प्रथम बिमाशुल्क २७ अर्ब ७० करोड ५ लाख रुपैयाँ रहेको छ।
नयाँ व्यवसायमा वैदेशिक रोजगार बिमाको हिस्सा साढे १० प्रतिशत छ। सञ्चालनमा रहेका १२ जीवन बिमा कम्पनीमध्ये १० वटाले मात्रै यस्तो बिमालेख बिक्री गर्छन्। गत जेठसम्म १० कम्पनीले २ अर्ब ८७ करोड ७७ लाख रुपैयाँ बराबरको २० लाख ६७ हजार बढी वैदेशिक रोजगार बिमालेख जारी गरेका छन्।
गत वर्षमा जीवन बिमा कम्पनीले आफ्नो. वार्षिक लक्ष्य हासिल गर्न सरकारले अनिवार्य गरेको वैदेशिक रोजगार बिमालाई हतियार बनाएको एक बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले बताउँछन्।
‘सबैले गरेपछि हामीले नगर्दा सबै बिजनेस खोसिने भएपछि हामीले पनि वालेटसँग समन्वय गरेर बिमा गराउनेलाई कमिसन दियौं’ ती सीईओले क्यापिटल नेपालसँग भने, ‘बोर्डबाट दिइएको टार्गेट पूरा गर्नुपर्ने दबाब व्यवस्थापनलाई हुन्छ। खल्ती र ईसेवाबाट वैदेशिक रोजगार बिमा गराउनेलाई क्यासब्याक दिएर पोर्टफोलियो म्यानेज गर्यौं।’
प्राधिकरणले वैदेशिक रोजगार बिमामा पुल व्यवस्था खारेज गरेसँगै केही कम्पनीले कमिसनको आडमा बिजनेस तान्दा सबैलाई दिनुपर्ने बाध्यता रहेको उनको भनाइ छ।
‘क्यासब्याक’का नाममा कमिसन
बिमा कम्पनीहरुले ‘टार्गेट’ पूरा गर्न वैदेशिक रोजगार म्यादी जीवन बिमालाई माध्यम बनाएर गैरकानुनी रुपमा मध्यस्थकर्तासमेत राखेको पाइन्छ। यस्तो बिमा आफ्नो कम्पनीमा गराए निश्चित रकम ‘क्यासब्याक’ दिइने भन्दै केही बिमा कम्पनीले म्यानपावर र वैदेशिक रोजगार प्रतिनिधिलाई म्यासेज पठाउने गरेका हुन्।
प्राधिकरणले वैदेशिक रोजगार बिमा वालेटमार्फत गर्न निर्देशन दिएसँगै यस्तो बिमा ई–सेवा र खल्ती वालेटमार्फत भएको पाइन्छ। वालेट कम्पनीको सेवा प्रयोग गरेबापत अधिकतम २० रुपैयाँ शुल्क दिन पाउने व्यवस्था छ। त्यसबाहेक बिमा गराएर भुक्तानी भएको पैसाबाट समाशोधन शुल्कबापत फोन पेले १० रुपैयाँ र नेपाल क्लियरिङ हाउसले ९ रुपैयाँ २० पैसा काट्छन्।
बिमा कम्पनीले वैदेशिक रोजगार विभाग (डोफे) मा श्रम स्वीकृतिका लागि पुग्ने म्यानपावरका श्रम प्रतिनिधिलाई ‘कन्भिस’ गराउन विभागमै मध्यस्थकर्ता खटाएका हुन्छन्। उनीहरुले खल्ती तथा ई–सेवामार्फत क्यासब्याकको लोभ देखाउँदै आफ्नो कम्पनीमा बिमा गराउन अफर दिइरहेका हुन्छन्।
अधिकांश जीवन बिमा वालेट कम्पनीले गत आर्थिक वर्षको लक्ष्य प्राप्ति गर्न म्यानपावर कम्पनीहरुलाई कमिसन दिएका थिए। नेपाल लाइफ, सानिमा लाइफ, नेसनल लाइफ, सूर्यज्योति लाइफ, रिलायवल लाइफ, प्रभु महालक्ष्मी लाइफ र एसियन लाइफले खल्ती वालेटमार्फत म्यानपावर कम्पनीलाई ८५० सयदेखि १२ सय रुपैयाँसम्म क्यासब्याकको नाममा कमिसन दिएका छन्। जबकी १८ वर्षदेखि ३५ वर्षसम्मको व्यक्तिले वैदेशिक रोजगार बिमा गराउँदा १५ सय रुपैयाँ तिर्नुपर्छ।
ई–सेवा वालेटमार्फत सन् नेपाल लाइफ, सानिमा रिलाइन्स लाइफ, सिटिजन्स लाइफ, नेपाल लाइफ, सूर्यज्योति लाइफ, नेसनल लाइफ, प्रभु महालक्ष्मी लाइफ, रिलायवल लाइफ र एसियन लाइफले म्यानपावर कम्पनीलगायत वैदेशिक रोजगार बिमा गराउने व्यक्तिलाई कमिसन दिएका हुन्।
उल्लिखित केही बिमा कम्पनीले वैदेशिक रोजगार बिमा गराउनेलाई खल्ती र ई–सेवा दुवैमा क्यासब्याक अफर राखेका थिए भने केहीले एपमार्फत मात्रै यस्तो अफरमा कमिसन दिएका थिए।
२०८१ असार सुरु भएदेखि मसान्त बिहानसम्मै बिमा कम्पनीहरुले ‘खल्ती, ई–सेवाबाट फलाना बिमा कम्पनीबाट डोफे इन्स्योरेन्स भुक्तानी गर्दा... प्रोमो कोड प्रयोग गरी... रुपैयाँ इन्स्टा क्यासब्याक’ लेखिएका म्यासेज पठाएका थिए। कम्पनीहरुले पल्सर २०० बाइक जित्न सक्नेसम्मका अफर राखे।
कमिसन लिने प्रोमो कोर्डमा भने कम्पनीको नामको पछि डोफे लेखिएको हुन्छ। उदाहरणका लागि, ‘सन्डोफे, नेपालडोफे, एसियनडोफे’ इत्यादि।
म्यादी बिमामा कमिसनको खेलः नियामक बेखबर, बिमा कम्पनी, म्यानपावर र वालेटको रजाइँ
अहिले पनि एसियन लाइफ १ हजार, नेपाल लाइफ ११ सय, सूर्यज्योति ८५० र सन्लाइफ इन्स्योरेन्सले ९९९ रुपैयाँ वैदेशिक रोजगार बिमा गराउने म्यानपावर कम्पनीलाई कमिन दिइरहका छन्।
यसमा खल्तीबाट व्यक्तिगत रुपमा वैदेशिक रोजगार बिमा गराउनेलाई साताको एक दिन एकमुष्ट कमिसनको पैसा दिइने गरेको छ। तर, आफ्नो खल्ती एकाउन्टलाई बिजनेस एकाउन्टमा परिणत गराए बिमाबापतको पैसा तत्कालै खातामा प्राप्त हुन्छ। कम्पनीका प्रतिनिधिले व्यक्तिगत एकाउन्टलाई बिजनेस एकाउन्ट बनाउन सहजीकरण गर्दै खल्तीको फारमसमेत भरिदिन्छन्।
बिमा प्राधिकरणद्वारा जारी वैदेशिक रोजगार (म्यादी) जीवन बिमालेख निर्देशन, २०८० अनुसार यस्तो बिमालेखको बिमादर १ हजार ४८६ देखि १८ हजार २२२ रुपैयाँसम्म छ। उक्त निर्देशनले उमेरअनुसारको बिमादर निर्धारण गरेको हो। यस्तो बिमालेख १ वर्षमाथि साढे ६ वर्षसम्मका लागि जारी गरिएको हुन्छ भने बिमांक रकम १० लाखसम्म निर्धारण गरिएको छ।
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी अहिले वैदेशिक रोजगारमा जानेमध्ये ९० प्रतिशत १८ वर्षदेखि ३५ वर्ष उमेर समूहका हुने गरेको बताउँछन्। यी उमेर समूहकै बढी बिमा भइरहेको र बिमा कम्पनीले बिजनेस प्रमोसनको नाममा केही रकम म्यानपावर कम्पनीलाई दिने गरेको उनको भनाइ छ।
‘केही बिमा कम्पनीले बिजनेस प्रमोसन भनेर उनीहरुमार्फत वैदेशिक रोजगारमा जानेहरुको बिमा गराएबापत बिमाशुल्कको केही प्रतिशत कमिसन दिइरहेका छन्,’ महासंघ अध्यक्ष भण्डारीले क्यापिटल नेपालसँग भने।
बिमा कम्पनीले वैदेशिक रोजगार म्यादी जीवन बिमामार्फत कमिसनसहित अन्य सेवाशुल्कमा करिब साढे १२ सय रुपैयाँसम्म पैसा खर्च गरिरहेका छन्, जुन बिमादरबापत प्राप्त हुने पैसाको करिब ८५ प्रतिशत हो।
यसरी खर्च भएको पैसा कम्पनीले प्रशासनिक, विविध र कर्मचारी खर्चमा देखाउने भएकाले प्राधिकरणको निरीक्षण टोलीले कमिसनमा खर्च भएको थाहै नपाउने एक बिमा कम्पनीका कर्मचारी बताउँछन्।
‘केही बिमा कम्पनीले फर्जी कर्मचारीको नाममा खर्च देखाउँछन् भने केहीले सञ्चालन र ‘अन्य’मा खर्च समावेश गरेर वित्तीय विवरण बनाएका हुन्छन्, प्राधिकरणका सुपरिवेक्षकले यस्तो विषय पत्तो पाउँदैनन्,’ ती कर्मचारीले भने।