काठमाडौं । अहिले बैंकर र व्यवसायी अतिरिक्त तनाव खेपिरहेका छन्। नेपाल राष्ट्र बैंकले अन्तिम घडीमा दिएको सहुलियत उपयोग गर्दा बैंकर र बैंकका ऋणी (व्यापारी तथा व्यवसायी) तनावमा परेका हुन्।
केन्द्रीय बैंकले बैंकहरूलाई गत असारमा पाकेको ब्याज उठाउने समय १५ दिन थप गरेको छ। साउन १५ गतेसम्मको समयसीमालाई थप गरी साउन मसान्तसम्म पुर्याइएको हो। यससँगै बैंकरले हिजो नै तिर्न सक्दैन भनेर जवाफ पाइसकेका ऋणीलाई थपिएको समयमा तिर्न आग्रह गर्न थालेका छन्। यसले ऋणीलाई नयाँ व्यवसाय विस्तार गर्न राखेको पैसा पनि बैंकलाई तिर्नु पर्ने अवस्था सिर्जना भएको छ।
साउन ११ गते शुक्रबार सार्वजनिक चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले २०८१ असार मसान्तसम्मको अवधिमा पाकेको ब्याज २०८१ साउन मसान्तसम्म प्राप्त भएमा विद्यमान लेखामानको अधीनमा रही आर्थिक वर्ष २०८०/८१ मा आम्दानी बाँध्न पाउने व्यवस्था गरिने उल्लेख गरेको थियो। यसको कार्यान्वयनमा केन्द्रीय बैंक नियमन विभागले साउन १४ गते परिपत्र जारी गर्दै उल्लेखित समयमा प्रोदभावी आधारमा लेखांकन गरिएको ब्याज आम्दानीलाई गत वर्षकै नाफामा गणना गर्न पाउने व्यवस्था गरेको छ।
नेपाल फाइनान्सियल रिपोटिङ सिस्टम (एनएफआएस)को व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले प्रवाहित ऋणको पाकिसकेको ब्याज ऋणीले भुक्तान नगर्दा भविष्यमा प्राप्त हुने ब्याज आम्दानी (ब्याज बक्यौता)मा राखेर नाफा–नोक्सानको हिसाब देखाउनुपर्छ। हालसम्म यस प्रकारको ब्याज आम्दानी बैंकले साउन १५ गतेसम्म उठाइ रहेका थिए। यही समय थप हुँदा कर्मचारीलाई अतिरिक्त कामको भार थप भएको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत नेपाल वित्तीय संस्था कर्मचारी संघका उपाध्यक्ष शिवहरी भण्डारी बत्ताउँछन्।
‘पुरानो व्यवस्थाअनुसार पाकेको ब्याज उठाउनु पर्ने समय हिजोसम्म मात्रै थियो। राष्ट्र बैंकले समय थप गरेपछि बैंकरलाई कामको बोझ थप भएको छ,’ संघका उपाध्यक्ष भण्डारीले भने, ‘तिर्ने/नतिर्ने पहिले नै निश्चित गरिसकेकालाई पनि तिर्दिनुस् भन्दै फोन गरिरहेका छौं।’
राष्ट्र बैंकले यस्तो नीति आर्थिक वर्ष समाप्त हुनु एक महिना अगावै ल्याएको भए बैंकले एउटै व्यक्तिलाई पटक/पटक फोन गर्दै पोकेको ब्याज तिर्नु भन्नु नपर्ने उनको भनाइ छ। केही बैंकले पाकेको ब्याज उठाउन कर्मचारीलाई टार्गेट नै दिएर काम सुरु गरेको उनले भनाइ छ।
‘सक्नेले असार मसान्तमै तिर्थे। अब भनेको बैंकरले आफ्नो जागिर जोगाउन लगाएको काम गर्ने मात्रै हुन्। दिएको सहुलियतलाई सदुपयोग गर्दा कतै आउँछ कि भन्ने आशा मात्रै हो,’उनले भने।
राष्ट्र बैंकले असारमै तिर्ने गरी पाकेको ब्याजलाई प्रोदभावी अर्थात् एक्रुअल ब्याजमा लेखांकन गरी साउन मसान्तसम्म उठाएर गत वर्षकै आम्दानीमा गणना गर्न पाउने व्यवस्था गरेको हो। यो भनेको बक्यौता रहेको भनिएको ब्याज उठाएर कर्मचारीलाई बोनस र कर कट्टा गरी सञ्चित मुनाफामा राख्न पाउने सुविधा दिएको हो। यस्तो मुनाफाबाट बैंकले भविष्यमा सेयरधनीलाई लाभांश वितरण गर्न पाउँछन्।
आर्थिक मन्दीको असरमा व्यवसाय नै विस्तार गर्न नसकेर बैंकलाई तिर्नु पर्ने पैसा नबुझाएका व्यवसायी अहिले राष्ट्र बैंकले थप गरेको समयले अर्को तनावमा परेका छन्। बैंकले बारम्बार फोन गरेर बक्यौता ब्याज तिर्न भनेपछि ऋणी फोन नै अफ गरेर बस्न बाध्य भएका नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का एक सदस्य बताउँछन्।
‘असारमै तिर्न सक्दैनौं भनिसकेका थियौं। अहिले राष्ट्र बैंकले समय थप गरेपछि पुनः बैंकरको फोन आउन थालेको छ,’ ती सदस्यले भने, ‘केही साथीले व्यवसाय विस्तारका लागि राखेको पैसा बैंकसँगको सम्बन्ध जोगाउन ब्याज तिर्न थालेका छन्। तिर्न नसक्ने फोन अफ गरेर बस्नु बाध्य छौं।’ राष्ट्र बैंकले अन्तिम समयमा दिएको सहुलियतले बैंकर र व्यवसायी दुवै थप तनावमा फसेको उनको भनाइ हो।