काठमाडौं । चिनियाँ ब्रान्ड बीएडब्लूको ब्रम्बी कार नेपाल भित्र्याइने भएको छ। बेइजिङ अटोमोबाइल वर्क (बीएडब्लू)को इलेक्ट्रिक उत्पादन नेपाली बजारमा ल्याइने भएको हो।
कम्पनीले नेपालका लागि आधिकारिक बिक्रेता एलआरआर ग्रुपलाई नियुक्त गरेको छ।
आधिकारी बिक्रेता नियुक्त भएसँगै कम्पनीले इलेक्ट्रिक ह्याचब्याक ब्रम्बी नेपाल ल्याउन लागेको हो।
बीएडब्लूको ब्रम्बी इलेक्ट्रिक ह्याचब्याकमा १७.२८ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक दिइएको छ। उक्त ब्याट्रीलाई फुल चार्ज गर्दा २०५ किलोमिटर गुडाउन सकिने कम्पनीले दाबी गरेको छ। यो गाडीको टप स्पिड प्रतिघन्टा १०० किलोमिटर दिइएको छ।
ब्रम्बी ह्याचब्याक चार जनाले यात्रा गर्न सक्ने ५ ढोका भएको ईभी हो। ब्रम्बी ह्याचब्याकमा ३० किलोवाट पीक पावरको इलेक्ट्रिक मोटर र रेटेड पावर १५ किलोवाट, लम्बाइ ३५३२ एमएम, चौडाइ १४९८ एमएम र उचाइ १६०५ एमएम, २२७५ एमएम लामो ह्वीलबेस पाउन सकिन्छ।
रियर ह्वील ड्राइभ मोटर दिइएको कारमा अगाडि चक्कामा डिस्क र पछाडि चक्कामा ड्रम ब्रेक सुविधा छ।
दुई रङमा उपलब्ध कारमा इन्टेरियर, १०.२५ इन्चको इन्टेलिजेन्ट डिस्प्ले, पार्किङ राडार, ३६० डिग्री क्यामेरा, हाइटेक सेफ्टी फंग्सनलगायत विशेषता समावेश छन्।
२०२० देखि ईभी उत्पादन गर्दै आएको बीएडब्लूका हाल विश्वभर ८ हजार बढी कर्मचारी र २ हजार बिक्री केन्द्र एवं आउटलेट छन्।