काठमाडौं। अमेरिकी लगानीको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)परियोजनाअन्तर्गत एमसीए–नेपालले तीन वटै ४०० केभी सबस्टेसन निर्माण सम्झौता सम्पन्न भएको बताएको छ।
बुधबार एमसीए–नेपालले तनहुँको दमौलीमा ४०० केभी क्षमताको नयाँ दमौली सबस्टेसन निर्माणका लागि भारतको टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङसँग ३.८८ करोड अमेरिकी डलरको ठेक्का सम्झौता गरेसँगै आयोजना निर्माणका तीन वटै सम्झौता सम्पन्न भएका हुन्।
दमौली सबस्टेसनसँगै एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण गर्न लागिएका तीनवटै ४०० केभी सबस्टेसन निर्माण सम्झौता सम्पन्न भएको एमसीए नेपालले जानकारी दिएको छ।
निर्माण सम्पन्नपछि नयाँ दमौली सबस्टेसन पनि सोही कम्पनीसँग २०८१ जेठमा निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको रातमाटे सबस्टेसनजस्तै १ हजार मेगा भोल्ट एम्पिएर क्षमताका नेपालकै ठूला सबस्टेसनमध्ये एउटा बन्नेछ।
नयाँ दमौली सबस्टेसनले रातमाटे, लेखनाथ र नयाँ बुटवल सबस्टेसनबीच विद्युत् प्रसारणका लागि महत्त्वपूर्ण आधार तयार गर्नेछ।
एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र टेक्नो इलेक्ट्रिक एन्ड इञ्जिनियरिङका व्यापार निर्देशक राजीव अग्रवालले सम्झौतामा हस्ताक्षर गरे।
एमसीसी नेपाल कम्प्याक्टले विद्युत् प्रसारण आयोजनाअन्तर्गत तीन सबस्टेसनका अतिरिक्त काठमाडौंको लप्सीफेदीदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)स्थित नेपाल–भारत सीमासम्म ३१५ किमि लामो प्रसारण लाइन निर्माणमा आर्थिक सहयोग गर्नेछ।
अहिले १८ किमि लामो सीमापार प्रसारण लाइन निर्माणका लागि प्राप्त बोलपत्रको मूल्यांकन कार्य भइरहेको छ। एमसिए–नेपालले यसको निर्माण सम्झौता साउनमा गर्ने लक्ष्य लिएको छ।
बाँकी २९७ किमि प्रसारण लाइन निर्माणका लागि यसै वर्ष यथाशीघ्र पुनः बोलपत्र आह्वान गर्ने तयारी छ। एमसीए–नेपालले सडक मर्मत आयोजनातर्फ फूल डेप्थ रिक्लेमेसनसम्बन्धी खरिदका लागि आउँदो भदौभित्र बोलपत्र आह्वान गर्ने तयारी गरेको छ।
२०८० भदौ १३ देखि कार्यान्वयनमा आएको एमसीसी परियोजनाको समयसीमा ५ वर्षको छ।
नेपाल र अमेरिकी सरकारको एमसीसीबीच ५० करोड अमेरिकी डलर अनुदान सहयोग लिने र पूर्वाधार आयोजना बनाउन २०७४ सम्झौता भएको थियो। यो परियोजनामा नेपालले १३ करोड डलर अर्थात् करिब ८३ अर्ब करोड रुपैयाँ खर्चिने सम्झौता छ।
एमसीसी परियोजना कार्यान्वयनका लागि पत्र आदान–प्रदान गर्दै तत्कालीन अर्थमन्त्री प्रकाशशरण महत र एमसीसी कम्प्याक्ट उपाध्यक्ष अल्फोर्ड, २०८० भदौ १३। तस्बिरः अर्थ मन्त्रालय
एमसीसी परियोजनाअन्तर्गत भारतीय सीमादेखि न्यू बुटवल, न्यू बुटवल–न्यू दमौली, न्यू दमौली–रातमाटे (नुवाकोट), रातमाटे–हेटौंडा र रातमाटे–लप्सीफेदी (काठमाडौं) प्रसारण खण्ड निर्माण हुनेछन् । सबै प्रसारण लाइनको क्षमता ४०० केभी हुनेछ।
रातमाटे, दमौली र बुटवलमा तीन वटा ४०० केभीका ठूला सबस्टेसन निर्माण हुनेछन्। प्रसारण लाइनअन्तर्गतका आयोजनामा करिब ५८ करोड २४ लाख अमेरिकी डलर खर्च गरिनेछ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले एमसीसी परियोजनाअन्तर्गतका तीनवटै सबस्टेसनले नेपालको विद्युत् वितरण प्रणालीको सशक्तीकरणमा महत्त्वपूर्ण योगदान गर्दै आर्थिक समृद्धिका लागि मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गरे। उनले आयोजना समयमै सम्पन्न गर्न सरोकारवालालाई आग्रह गरे।
अर्थ मन्त्रालयका सचिव एवं एमसीए–नेपाल सञ्चालक समिति अध्यक्ष डा. रामप्रसाद घिमिरेले यो प्रगति एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनका लागि एमसीए–नेपालले गरेका निरन्तर प्रयासको राम्रो संकेत भएको बताए।
उनले भने, ‘फैलिँदो ऊर्जा क्षेत्रका लागि यी तीन वटा सबस्टेसन महत्त्वपूर्ण छन् र यिनले नेपालको आर्थिक विकासका लागि आवश्यक औद्योगिक र व्यापारिक क्रियाकलाप विस्तार गर्न भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्नेछ।’
अमेरिकी राजदूत डीनआर थम्प्सनले आयोजनाको प्रगति र नेपालको सुन्दर भविष्य निर्माणका एमसीसी परियोजना महत्त्वपूण रहेको बताए। उनले भने, ‘समावेशी एवं दिगो आर्थिक विकासमार्फत नेपालको घरघरमा ऊर्जा पुर्याउन, नेपाली अर्थतन्त्रलाई थप ऊर्जा दिन, रोजगारी सिर्जना र गरिबी न्यूनीकरण गर्न नेपालसँग सहकार्य गर्दै एमसीसी नेपाल कम्प्याक्ट सफल कथाको महत्त्वपूर्ण अंग बन्दै छ।’
एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनमा गएको पहिलो वार्षिकोत्सवको पूर्वसन्ध्यामा तीनवटै सबस्टेसन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनु कोसेढुंगा रहेको बताए।
कार्यक्रममा टेक्नो इलेक्ट्रिक एन्ड इञ्जिनियरिङका प्रबन्ध निर्देशक पदमप्रकाश गुप्ता, विद्युत् प्राधिकरण, एमसीसी र एमसीए–नेपालका अन्य पदाधिकारी उपस्थित थिए।