काठमाडौं । सेयर कारोबार रकममा नयाँ रकर्ड बनेको छ। साताको चौथो दिन बुधबार २१ अर्ब ७१ करोडको कारोबार हुँदै सेयरमा नयाँ रेकर्ड बनेको हो। यसअघि २०७८ साउन ३१ मा २१ अर्ब ५३ करोड रुपैयाँ बराबरको उच्च रेकर्ड थियो।
पछिल्लो समय उच्च कारोबार हुँदै आएको छ। आइतबार नेप्सेमा कुल १५ अर्ब ६९ करोड, सोमबार १९ अर्ब ४४ करोड र मंगलबार १७ अर्ब १९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। थप उचाई लिँदै बुधबार भने कारोबार रकमले नयाँ रेकर्ड बनाएको हो।
बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६४.२५ अंक अर्थात् २.३८ प्रतिशतले बढेर २७६०.९० बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन मंगलबार नेप्से ३५.५५ अंकले बढेर २६६९.६५ बिन्दुमा बन्द भएको थियो।
बुधबार कारोबारमा आएकामध्ये १९१ कम्पनीको सेयर मूल्य बढ्दा ४४ कम्पनीको घटेको छ। यस्तै, ७ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
बुधबार युनाइटेड अजोड इन्स्योरेन्स, गोर्खाज फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स, रिलायन्स फाइनान्स, दिव्यश्वरी हाइड्रोपावर, मकर जितुमाया सुरी हाइड्रोपावर, नेपाल रिपब्लिक मिडिया र कुथेली बुखारी स्मल हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। यस्तै, १३ कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि भएको छ।
बुधबार फाइनान्स समूहको सेयर मूल्य ८.०८ प्रतिशत, लगानी समूहको ६.८९ प्रतिशत, विकास बैंक समूहको ३.२१ प्रतिशत, जीवन बिमा समुह २.१० प्रतिशत र बैंकिङ समूह १.०४ प्रतिशतले बढेको छ।
अघिल्लो कारोबार दिन मंगलबार पनि होटल तथा पर्यटन र फाइनान्स समूहमा लगानीकर्ताको बढी आकर्षण देखिएको थियो। मंगलबार होटल तथा पर्यटन समूह ५.९९ प्रतिशत, फाइनान्स समूह ५.९८ प्रतिशत, लगानी समूह ३.१५ प्रतिशत, जलविद्युत समूह ३.१२ प्रतिशत र विकास बैंक समूह २.४० प्रतिशतले बढेको थियो। यस्तै, बैंकिङ समूहको सेयर मूल्य ०.७६ प्रतिशतले घटेको थियो।
बुधबार हिमालयन रि इन्स्योरेन्सको कारोबार सबैभन्दा बढी भएको छ। यस कम्पनीको ८४ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री हुँदा माउन्टेन इनर्जीको ४१ करोडभन्दा बढीको सेयर किनबेच भएको छ। यस्तै, शिवम् सिमेन्ट्सको पनि ४० करोडभन्दा बढीको सेयर कारोबार भएको छ।