काठमाडौं । प्रेस चौतारी नेपालले सञ्चालन र व्यवस्थापन गर्ने गरी डा.शान्ति पाण्डे स्मृति राष्ट्रिय महिला पत्रकारिता पुरस्कार स्थापना गरिएको छ।
पूर्वमन्त्री तथा उद्योगी हरिप्रसाद पाण्डे तथा श्रीमती तुलसा पाण्डेकी छोरी शान्तिको जन्मदिन अवसरमा पोखरामा आयोजित कार्यक्रममा पुरस्कार घोषणा तथा पुरस्कार सञ्चालनका लागि पाण्डे परिवारले स्थापना गरेको मातृ सेवा प्रतिष्ठान नेपाल र प्रेस चौतारी नेपाल महिला विभागबीच सम्झौतापत्रमा हस्ताक्षर गरियो।
पुरस्कारका लागि ५ लाखको अक्षय कोषको व्यवस्था गरिएको छ। प्रत्येक वर्ष थप ५० हजार रकम १० वर्षसम्म उपलब्ध गराउने गरी सम्झौता भएको प्रेस चौतारीका महिला विभाग प्रमुख जमुना वर्षा शर्माले जानकारी दिइन्।
आफ्नी छोरीको अधूरा सपना पूरा गर्न थुप्रै छोरीहरूको सशक्तीकरणमा तल्लीन पाण्डे दम्पतीले विभिन्न चुनौतीबीच पत्रकारितामा सक्रिय छोरीहरूलाई प्रोत्साहन गर्न अक्षय कोष स्थापना गरिएको शर्माले बताइन्।
उक्त कोषको ब्याज रकमबाट हरेक वर्ष प्रेस चौतारीमा आबद्ध रहेर सक्रिय पत्रकारिता गर्ने एक जना पत्रकार महिलालाई नगद ५० हजार १०१ रुपैयाँबाट पुरस्कृत गरिनेछ।
उक्त पुरस्कार प्रत्येक वर्षको माघ २२ मा प्रदान गरिनेछ। स्व. पाण्डेको २०६१ साउन ४ मा स्कुटर दुर्घटनामा निधन भएको थियो। उनकै स्मृतिमा समाज रुपान्तरणमा योगदान गर्ने पत्रकार महिलालाई सम्मान गर्न पत्रकारिता पुरस्कार स्थापना गरिएको हो।
कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले पत्रकार महिलालाई सम्मान गर्न पुरस्कार स्थापना गरेकामा मातृ सेवा प्रतिष्ठान प्रति आभार प्रकट गरे। ‘नलेख्ने पत्रकार महिलालाई पुरस्कार दिएर प्रतिष्ठानको अपमान गरिने छैन,’ उनले भने, ‘लेख्ने पत्रकार महिला नभेटेको अवस्थामा पुरस्कारलाई चौतारीको सीमाभन्दा बाहिर जान सक्ने व्यवस्था गर्ने योजना छ।’
कार्यक्रममा पूर्वमन्त्री पाण्डेले प्रतिष्ठानले आफ्नो जन्मभूमि, कर्मभूमि र सिंगो देशलाई कार्यक्षेत्र बनाएर शिक्षा, स्वास्थ्य र विचार निर्माणको क्षेत्रमा काम गरेको जानकारी दिए।
पाण्डेले नेपाल पत्रकार महासंघ कास्कीमा समेत २५ हजार १०१ रुपैयाँको पुरस्कार स्थापनाका लागि प्रक्रिया अगाडि बढाउन सुझाए।
छोरी शान्ति पाण्डेको स्मृतिमा २ सय बढी नर्सिङ शिक्षाका लागि छात्रवृत्ति व्यवस्था गरेको पाण्डेले बताए। प्रतिष्ठानले देशभरिमा ८६९ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइसकेको उनको भनाइ छ।
कार्यक्रममा एमाले जिल्ला कमिटी कास्की अध्यक्ष बैनबहादुर अधिकारी, केन्द्रीय प्रचार विभाग सदस्य रामकृष्ण ज्ञवाली, प्रेस स्वतन्त्रता सेनानी बद्रीविनोद प्रतीक, न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष गंगाधर पराजुलीलगायतले पुरस्कारबारे मन्तव्य व्यक्त गरेका थिए।