काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले ठूलो संख्यामा रोजगारी तथा स्वरोजगारी सिर्जना गर्ने महत्त्वपूर्ण माध्यम घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्ने नीति रहेको बताएका छन्।
विभिन्न माग लिएर अर्थ मन्त्रालय पुगेको महासंघ प्रतिनिधिमण्डलसँग कुरा गर्दै अर्थमन्त्री पौडेलले साना उद्योग प्रवर्द्धनका निम्ति कानुन, नियम, निर्देशिका तथा निर्णयमा ध्यान दिइने प्रतिबद्धता जनाए।
महासंघका अध्यक्ष उमेशप्रसाद सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँग उनले भने, ‘घरेलु तथा साना उद्योगको महत्त्व भनेकै देशका सबै जिल्ला, सबै पालिकामा यसको विस्तार हुनु हो। ठूलो संख्यामा रोजगारीका रुपमा यो क्षेत्रमा आबद्ध रहेको छ। यो क्षेत्र स्वरोजगारीका लागि पनि महत्त्वपूर्ण माध्यम हो। त्यसैले घरेलु तथा साना उद्योगलाई प्रवर्द्धन गर्ने सरकारको स्पष्ट नीति छ।’
सरकारले निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाउने उद्देश्यसाथ काम गरिरहेको उनले बताए। ‘अहिले हामीले उत्पादनको अवस्था, रोजगारी अवस्था, समस्या के छ एकपछि अर्को जानकारी लिने र छलफल गर्ने काम भइरहेको छ। हाम्रो कोसिस भनेकै तपाईंहरुलाई आफ्नो पेसा, व्यवसाय र उत्पादनमा लाग्न सक्ने परिस्थिति निर्माण गर्ने हो’, अर्थमन्त्री पौडेलले भने।
घरेलु तथा साना उद्योग व्यवसायीले ऐन, कानुनमा सुधार गर्न चाहेको बुँदा सम्बन्धमा तथा औद्योगिक व्यवसाय ऐनमा के–कस्ता परिमार्जन गर्ने हो, लिखित सुझाव दिन उनले आग्रह गरे।
अर्थमन्त्री पौडेलले भने, ‘अन्तर्राष्ट्रिय प्रदर्शनी, निर्यात गृह सञ्चालन गर्ने विषयमा छलफल गरौं।’
महासंघ अध्यक्ष सिंहले मुलुकको अर्थतन्त्रको संवाहक लघु, घरेलु तथा साना उद्योगको अहिलेको मुख्य समस्या साना उद्योगीको ऋण भएकाले विगतमा सरकारले साना तथा महिला उद्यमीलाई लक्षित गरी ल्याइएको सहुलियतपूर्ण र पुनर्कर्जा व्यवस्थालाई यथावत राख्न आग्रह गरे।
कोभिडकालदेखि नै लघु, घरेलु, साना तथा महिला उद्यमी प्रवर्द्धनात्मक कार्यक्रमहरु पर्याप्त मात्रामा हुन नसकेकाले उद्यमीमा निराशा छाएको हुँदा विभिन्न कोषलाई एकीकृत गरी तयार पारिएको औद्योगिक तथा लगानी प्रवर्द्धन कोष सञ्चालन कार्यविधिलाई तत्काल अन्तिम रुप दिई सञ्चालन गर्ने व्यवस्था मिलाउन उनले अर्थमन्त्रीको ध्यानाकर्षण गराए।
सिंहले स्वदेशमै उत्पादित गुणस्तरीय वस्तु जनमानस तथा विदेशी पर्यटकले खरिद गर्नुपरे एकै थलोमा नपाइने हुँदा उपभोक्ता भौतारिनुपर्ने अवस्था अन्त्यका लागि स्वदेशी वस्तु मात्र रहने गरी केन्द्रीय स्तरमा निर्यातगृह स्थापना गर्न आवश्यक बजेटको व्यवस्थाका लागि मन्त्री पौडेलसमक्ष आग्रह गरे।
महासंघका निवर्तमान अध्यक्ष श्याम गिरीले कोरोनापछि अहिले देखिएको आर्थिक मन्दी र लामो समयदेखि साना उद्योगमैत्री कार्यक्रमका साथै नीति एवं ऐन आएर लागू हुन नसक्दा लघु घरेलु तथा साना उद्योगी विस्थापित हुनुपरेको गुनासो गरे।
अर्थमन्त्रीलाई भेट्न महासंघका सल्लाहकार वासु गिरी, वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, उपाध्यक्षहरु शोभा गुरुङ, राजेन्द्रमान श्रेष्ठ, हरिहर थापा, महासचिव डम्बरप्रसाद रेग्मी, महासंघ बागमती प्रदेशका अध्यक्ष तारानाथ चौलागार्इंलगायत मन्त्रालय पुगेका थिए।