काठमाडौं। मंगलबार रातीदेखिको निरन्तर वर्षाका कारण काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रभावित भएका छन्। बाढीका कारण उपत्यकाभित्रका नदीको पानी बस्तीमा पसेको छ । उपत्यकाभित्र सञ्चालनमा रहेका उद्योग, कलकारखानामा समेत बाढी पसेर क्षति पुगेको छ।
काठमाडौंमा जनजीवन प्रभावित
रातभरिको वर्षासँगै काठमाडौंका नदी–खोलाको बाढी बस्तीमा पसेपछि जनजीवन प्रभावित भएको छ। बाढीमा फेसका काठमाडौंबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको नेपाल प्रहरीले जनाएको छ।
कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एक जनाको उद्धार गरिएको हो। काठमाडौंको बल्खु, तरकारी बजार, बाफल, धोबीखोला करिडोर, सुन्दरीघाट क्षेत्र डुबानमा परेको थियो।
फुटुङको नागपोखरीमा पहिरो खस्दा एक घरमा क्षति पुगेको छ। नयाँ बसपार्क, मितेरी पुल क्षेत्र पनि डुबानमा परेको छ।
ललितपुरको युएन पार्क क्षेत्रबाट डुबान प्रभावित दुई, सुन्दरीघाटबाट आठ, बालकुमारी पुलमुनिबाट एक, महालक्ष्मी नगरपालिका–८ चागाथलीबाट ७ र महालक्ष्मी नगरपालिका राममन्दिरबाट ६ जनाको उद्धार गरिएको छ।
भक्तपुरमा लाखौंको क्षति
मंगलबार रातीदेखिको वर्षापछि आएको बाढीका कारण मध्यपुरथिमि नगरपालिका‐५ राधेराधे, संगम कोलोनी, कमेरोटार जग्गा एकीकरण आयोजनाभित्रको तल्लो क्षेत्रका बासिन्दा प्रभावित भएका छन्।
बस्तीभित्र बाढी पसेपछि सुरक्षित स्थानमा घरका सामान सार्ने र आफ्ना सवारीसाधन उच्च स्थानमा सार्नुपरेको प्रभावित स्थानीय बताउँछन्।
भूमिगत पसल तथा साना उद्योगमा सामान हेर्दाहेर्दै डुबे। कसैले आफ्ना सामान जोगाएभने कयौँका बगे। यो क्षेत्रमा हनुमन्ते खोला पसेको होइन, कमेरोटार जग्गा एकीकरण आयोजना र मध्यपु थिमि नगरपालिकाको लापरबाहीका कारण समस्या भएको प्रभावित स्थानीयको गुनासो छ।
रातभरको वर्षाले हनुमन्ते र वरपरका सहायक खोला उर्लिंदा आसपासका अस्पताल, विद्यालय, बस्ती, उद्योग, कलकारखाना जलमग्नमात्र भएका छैनन्, त्यहा लाखौंको क्षति भएको प्रभावित परिवारले बताएका छन्।
सूर्यविनायक नगरपालिका क्षेत्रका बालकोटबाट सिरुटारसम्मका ७० भन्दा बढी घर डुबानमा परेका छन्। हनुमन्तेको बाढी बालकोट पुल हुँदै बस्तीमा पसेपछि मेरिगोल्ड स्कुल, आसपासका बस्ती डुबानमा पर्नुका साथै बिहानदेखि ९ बजेसम्म बालकोट सडक अवरुद्ध भएको छ।
सडकबाट भेल बगेपछि बाटाघाटा मात्रै बन्द भएका छैनन्, यहाँका विद्यालयसमेत बन्द भएका छन् । बालकोटको माइक्रोबस पार्क क्षेत्रको बस्ती डुबानमा परेको छ।
बालकोट क्षेत्रबाट राती १ बजेदेखि स्थानीयको उद्धारमा खटिएको प्रहरी र स्थानीयले ५० बढीको उद्धार गरेको आरएनए ग्रुपका संयोजक अरुण सैजुले जानकारी दिए। उनले रातिदेखि नै भक्तपुर अस्तव्यस्त भएको बताए।
ललितपुरका विभिन्न स्थान डुबानमा
गए राती परेको अविरल वर्षाका कारण ललितपुरका विभिन्न स्थान डुबेका छन्।
ललितपुर प्रहरी परिसरका सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार गए रातीको अविरल वर्षाका कारण ललितपुर महानगर–९ स्थित नेपाल कम्युनिस्ट पार्टी (एमाले)को कार्यालय र च्यासल फुटबल मैदान जलमग्न भएको छ।
‘डुबानमा परेका क्षेत्रमा उद्धारका लागि हामीले बुधबार बिहान १ बजेदेखि प्रहरी परिचालन गरेका थियौं। बाढीको चपेटामा परेका तीन बालक, आठ महिला र १३ पुरुष गरी विभिन्न स्थानबाट २४ जनाको उद्धार भएको छ, अझै उद्धारको काम जारी छ’, सूचना अधिकारी सुवेदीले भने।
ललितपुर महानगर–२ सानेपा, वडा–९ शंखमूल, वडा–१ कुपन्डोल, महालक्ष्मी नगरपालिका–७ चाँगाथलीलगायत क्षेत्रमा बाढी पसेको छ। महालक्ष्मी नगरपालिका–९ लाकुरीभन्ज्याङको सिस्नेखर्कमा पहिरो खस्दा काभ्रे जाने सडक अवरुद्ध भएको छ।
बाढीका कारण गोदावरी नगरपालिका–१ दमाइटार सातथलीमा खड्कनन्द दाहालले सञ्चालन गरेको फार्मका चार सय कुखुरा मरेका छन्। बाढीकै कारण महालक्ष्मी नगरपालिका–८ लुभुको तल्लो चौतारास्थित पीपलको बोट ढलेर सडक अवरुद्ध भएको छ।
यसैगरी, पहिरोले बागमती गाउँपालिका–३ पाङ्दुरडोल र टार्कुचेमा पहिरो खस्दा कान्ति लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
बितेका १२ घन्टामा देशैभर वर्षा
जल तथा मौसम पूर्वानुमान महाशाखाले बितेका १२ घन्टामा देशभर वर्षा भएको जनाएको छ। महाशाखाले कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धैरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको बुलेटिनमार्फत जानकारी दिएको हो।
मंगलबार राती मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा धेरै वर्षा मापन गरिएको विभागले बताएको छ। विभागका अनुसार आगामी २४ घन्टामा सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।
कोसी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट बच्न विभागले आग्रह गरेको छ।