काठमाडौं । पछिल्लो तीन कारोबार दिनमा सेयर बजारले ५ पटक २७०० बिन्दु पार गरेको छ। सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले पछिल्लो तीन कारोबार दिनमा लगातार ५ पटक २७०० पार गरेपनि सो बिन्दुमा भने टिक्न सकेको छैन। साताको पहिलो कारोबार दिन आइतबार नेप्सेले २९ महिनापछि पहिलोपटक २७०० बिन्दु पार गरेको थियो।
यसअघि २०७८ फागुन ११ मा २७२० बिन्दुमा रहेको नेप्से आइतबार १२ बजेर २ मिनेटमा २७०८.५८ बिन्दु पुग्न सफल भयो। बजार खुलेको १ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लाग्यो। यसको २० मिनेटपछि खुलेको बजारमा पुनः १ मिनेटमै थप १ प्रतिशतले बढ्दै समग्रमा ५ प्रतिशतको वृद्धि भएर नेप्सेमा दोस्रो सर्किट ब्रेक लाग्यो।
दोस्रो सर्किट ब्रेक लागेर ४० मिनेटपछि खुलेको बजार २७०० बिन्दु माथि पुगे पनि कारोबार बन्द हुँदा भने २६८१.५६ बिन्दुमा सीमित भयो। आइतबार नेप्से ११३ अंकले बढेर २६८१.५६ बिन्दुमा बन्द भएको थियो।
आइतबार एक पटक २७०० माथि पुगेको नेप्से सोमबार भने तीन पटकसम्म उक्त बिन्दु पार गर्दै फर्कदैं गर्यो। सोमबार प्रिओपन सेसनमा २५.१६ अंकले बढेर २७०६.७३ बिन्दुमा पुगेको नेप्से कारोबार सुरु भएको एक मिनेटमै थप उचाइ लिँदै २७३७.६८ बिन्दुसम्म पुग्यो। यसपछि पनि नेप्सेले दुई पटक २७०० बिन्दु पार गर्यो तर, बजार बन्द हुँदा भने अघिल्लो दिनको तुलनामा २०.४६ अंकले घट्दै २६६१.०९ बिन्दुमा सीमित भयो।
आइतबार र सोमबारको दुई कारोबार दिनमा चार पटक २७०० माथि पुगेको नेप्सेले मंगलबार पनि उक्त बिन्दु पार गर्यो। कारोबारको सुरुवाती चरणमा घट्दै गएको बजार १२ बजेर ४० मिनेटमा २६०९.०२ को न्यून बिन्दुसम्म झरेको थियो। त्यसपछि सम्हालिँदै गएको बजार २ बजेर ४१ मिनेटमा २७०९.८९ बिन्दुसम्म पुग्यो। अघिल्लो दिनको तुलनामा ३५.५५ अंकले बढे पनि कारोबार बन्द हुँदा नेप्से २६९६.६५ बिन्दुमा सीमित भयो।
पटक-पटक २७०० पार गर्दा पनि उक्त बिन्दुमा टिक्न नसक्दा बजार फर्कन लागेको हो कि भन्ने आशंका पनि पैदा भएको छ। तर, नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे बजार करेक्सन हुँदै बढ्ने भएकाले अझै माथिल्लो बिन्दुमा जाने सम्भावना बढी देखेको बताउँछन्।
‘पछिल्लो समय कारोबारले पनि साथ दिइरहेको छ। क्षेत्रगतरुपमा पनि सबै समूह चलेका छन्,’ अध्यक्ष पाण्डे भन्छन्, ‘गत साताको बिहीबार ३२ र यस साताको आइतबार नेप्से ११३ अंकले बढेपछि सोमबार २० अंकको करेक्सन आयो। मंगलबार पनि पहिला करेक्सनमा गएर बजार बढ्यो। नेप्से यसरी नै तलमाथि हुँदै बढ्छ।’ अध्यक्ष पाण्डेले कारोबार हेर्दा लगानीकर्ताबीच राम्रै भलाकुसारी देखिएको बताए।
बजारमा केही नाफा बुक गर्नुपर्छ भन्ने ढंगमा प्रस्तुत हुन्छन् भने केही खरिद गर्नमा उत्साहित छन्। पछिल्लो तीन दिनको कारोबार स्थिति पनि सकारात्मक नै छ। आइतबार नेप्सेमा कुल १५ अर्ब ६९ करोड, सोमबार १९ अर्ब ४४ करोड र मंगलबार १७ अर्ब १९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
सेयर लगानीकर्ता देव गुरागाईं नाफा बुकिङले गर्दा दिनमा माथिल्लो बिन्दुमा पुगेको नेप्से अन्तिममा भने घटेर बन्द हुने गरेको बताउँछन्। ‘लगानीकर्ताले यति पुगेपछि सेयर बिक्री गर्छु भनेर निश्चित सीमा तोकेका हुन्छन् र उक्त सीमा पुगेपछि बिक्री गर्छन्। साथै, हाल नयाँ लगानीकर्ताको प्रवेश पनि भइरहेको छ,’ गुरागाईं भन्छन्, ‘यसले नेप्सेमा तीव्र उतारचढाव ल्याउने गर्दछ।’ गुरागाईं यसलाई सकारात्मकरुपमा लिनुपर्ने बताउँछन्।
‘छोटो समयमा नेप्से धेरै माथि पुगेको छ। २७०० एउटा ड्रिम पोइन्ट जस्तो पनि भएको छ। तर, सबैतिर सकारात्मक वातावरण भएकाले बजार स्थिर हुने वा घट्ने भने देखिँदैन,’ गुरागाईं भन्छन्, ‘बजार माथि जाने सम्भावना नै बढी छ। यद्यपि, यस्तो समयमा नकारात्मक विषय केही फैलिएको खण्डमा भने गिरावट पनि उच्च गतिमा हुनसक्छ।’ गुरागाईं नेप्से हाल निकै सकारात्मक अवस्थामा भएको बताउँछन्।
आइतबार बैंकिङ समूहमा लगानीकर्ताको उच्च आकर्षण देखियो। उक्त दिन बैंकिङ समूहमा ९.८९ प्रतिशत, लगानी समूहमा ५.७५ प्रतिशत, विकास बैंक समूहमा ४.८७ प्रतिशत, होटल तथा पर्यटन समूह ०.४६ प्रतिशत, र जीवन बिमा समूहको सेयर मूल्यमा ४.२४ प्रतिशतको वृद्धि भएको छ। लघुवित्त समूहमा भने ०.१८ प्रतिशतको गिरावट आयो।
आइतबार आकर्षण देखिएको बैंकिङ समूह सोमबार भने सोही ढंगमा चल्न सकेन। सोमबार बैंकिङ समूहमा ०.०३ प्रतिशतको गिरावट आउँदा विकास बैंक समूह २.६९ प्रतिशतले घटेको छ। सोमबार १३ उपसमूहमध्येमा फाइनान्स र जलविद्युत समूह गरी दुई समूहको सेयर मूल्य मात्रै सकारात्मक रह्यो। लघुवित्त समूहको सेयर मूल्यमा भने ३.७१ प्रतिशतको गिरावट आयो।
मंगलबार भने होटल तथा पर्यटन र फाइनान्स समूहमा लगानीकर्ताको बढी आकर्षण देखियो। मंगलबार होटल तथा पर्यटन समूह ५.९९ प्रतिशत, फाइनान्स समूह ५.९८ प्रतिशत, लगानी समूह ३.१५ प्रतिशत, जलविद्युत समूह ३.१२ प्रतिशत र विकास बैंक समूह २.४० प्रतिशतले बढ्यो। तर, बैंकिङ समूहको सेयर मूल्यमा भने ०.७६ प्रतिशतको गिरावट आयो।