काठमाडौं । वायुसेवा सञ्चालक संघ पहिलो पटक हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको बचाउमा उत्रिएको छ। यस अघि नियामक निकायको विरोध गर्दै आएको संघले मंगलबार विज्ञप्ति जारी गर्दै हवाई दुर्घटनालाई लिएर नियमानकारी भूमिकाप्रति गरेको टीकाटिप्पणीबारे ध्यानाकर्षण भएको उल्लेख गरेको हो।
घटना/दुर्घटना काबु वाहिरको परिस्थितिमा हुने र यस्ता विषय व्यक्ति विशेष, कम्पनीलगायत नियमनकारी निकाय कसैले चाहेर पनि नहुने र कसैको नियन्त्रणमा नहुने हुदाँ दुर्घटनालाई आधार बनाई विभिन्न माध्यममा सदस्य वायुसेवा कम्पनीको र प्राधिकरणको विषयमा अनावश्यक टीकाटिप्पणी गर्नु गलत भएको विज्ञप्तिमा उल्लेख छ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनबाट निदृष्ट प्रावधानअनुरुप वायुसेवा सञ्चालक संघ, संघका सदस्य वायुसेवा कम्पनी तथा प्राधिकरण उड्डयन सुरक्षा तथा हवाई सुरक्षामा संवेदनशील रहेको जनाइएको छ।
'प्राधिकरणका प्राविधिक टोलीले हवाई सुरक्षाका लागि दिने उपयुक्त सुझाव अनुशरण गर्दै सदस्य वायुसेवा कम्पनीले अक्षरश: पालना गर्नुका साथै नियमनकारी निकाय उड्डयन प्राधिकरणबाट प्राप्त हुने निर्देशन पूर्ण पालना गरिँदै आएको, नियमनकारी निकाय प्राधिकरणबाट प्राप्त हुने निर्देशन पूर्ण पालना भए/नभएको बारे सम्बन्धित निकायले समय-समय अनुगमन गर्दै आएको छ,' विज्ञप्तिमा भनिएको छ।
संघ अध्यक्ष मनोज कार्कीले हस्ताक्षर गरेको विज्ञप्तिमा संघ तथा प्राधिकरण हवाई सुरक्षामा प्रतिबद्ध रहेको बताउँदै गलत सूचनाको पछि नलाग्न आग्रह गरिएको छ।
साउन ९ गते जहाज मर्मतका लागि पोखरा उड्ने क्रममा सौर्य एयरको जहाज दुर्घटना भएपछि उड्डयन प्राधिकरणको भूमिकामाथि सांसदहरूले समेत प्रश्न उठाइरहेका छन्। केही सांसदले प्राधिकरण महानिर्देशक प्रदीप अधिकारीलाई हटाउनुपर्ने माग गरिरहेका बेला संघले विज्ञप्ति जारी गर्दै बचाउमा लागेको हो।