काठमाडौं। फाइनान्स समूह चम्किँदा सेयर बजार ३५ अंकले बढेको छ। साता कारोबारको तेस्रो दिन मंगलबार फाइनान्स समूहमा लगानीकर्ताको आकर्षण फर्किएसँगै सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३५.५५ अंक अर्थात् १.३३ प्रतिशतले बढेर २६९६.६५ बिन्दुमा बन्द भएको हो।
गत शुक्रबार नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेसँगै बैंकिङ समूहमा लगानीकर्ताको बढी आकर्षण देखिएको थियो। तर, मंगलबार लगानीकर्ताको आर्षण फाइनान्स समूहमा बढी देखिएको हो।
सोमबार राष्ट्र बैंकले निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुले २०८१ साउनमा मसान्तभित्र रिकभरी गरेको ब्याजलाई आर्थिक वर्ष २०८०÷८१ मै रियलाइज भएको भनेर आम्दानी बाँध्न पाउने व्यवस्था ल्याएसँगै फाइनान्स समूहमा लगानीकर्ताको आकर्षण बढेको हो।
यसअघिका तीन कारोबार दिनमा फाइनान्स समूह लगातार नकरात्मक बनेको थियो। मंगलबार फाइनान्स समूहमा ५.९८ प्रतिशतको वृद्धि भएको छ। कारोबारमा आएकामध्ये १५ फाइनान्स कम्पनीको सेयर मूल्य बढेको छ। यस्तै, होटल तथा पर्यटन समूहको सेयर मूल्य पनि ५.९९ प्रतिशतले बढेको छ।
मंगलबार प्रोग्रेसिभ फाइनान्स, बरुण हाइड्रोपावर, सान्जेन जलविद्युत कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सिइडीबी हाइड्रोपावर, नेपाल फाइनान्स, मध्यभोटेकोसी जलविद्युत्, हाथवे इन्भेस्टमेन्ट, मुक्तिनाथ कृषि कम्पनी र सगरमाथा जलविद्युत् कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले बढेको छ।
पछिल्लो तीन कारोबार दिन लगातार २७०० माथि पुगेको नेप्से मंगलबार २६९६.६५ बिन्दुमा सीमित भयो। साताको पहिलो कारोबार दिन आइतबार नेप्से २७०८.५८ बिन्दुसम्म पुगेको थियो।
तर, कारोबार बन्द हुँदा भने २६८१.५६ बिन्दुमा सीमित भयो। अघिल्लो कारोबार दिन सोमबार २७३७.६८ बिन्दुसम्म पुगेको नेप्से बन्द हुँदा २६६१.०९ बिन्दुमा सीमित भयो।
त्यसैगरी मंगलबार पनि २७०९.८९ बिन्दुसम्म पुगेको नेप्से २६९६.६५ बिन्दुमै सीमित भएको हो। आज नेप्सेमा १७ अर्ब २६ करोड बढीको सेयर कारोबार भएको छ।
मंगलबार नेप्सेमा कुल १७ अर्ब १९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन सोमबार भने कुल १९ अर्ब ४४ करोडको कारोबार भएको थियो। यस्तै, आइतबार भने १५ अर्ब ६९ करोडको कारोबार भएको थियो।
मंगलबार कारोबारमा आएकामध्ये १८९ कम्पनीको सेयर मूल्य बढ्दा कम्पनीको घटेको छ। यस्तै, ६ कम्पनीको सेयर मूल्य भने स्थिर छ। मंगलबार एसियन हाइड्रोपावरको सेयर मुल्यमा नकरात्मक सर्किट लाग्दा बैंकिङ समुहको सेयर मूल्यमा भने ०.७६ प्रतिशतको गिरावट आएको छ।