काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघिका सरकार अस्थिर हुँदा जनतामा निराशा छाएको र मुलुकको विकास तथा स्थायित्वका लागि दुई ठूला दलले नेतृत्व लिनुपरेको बताएका छन्। सिंहदरबारमा मंगलबार संघीय मन्त्रालयका सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले गम्भीर परिस्थितिमा रहेको मुलुकलाई निकास दिनुको विकल्प नरहेकाले सचिवहरूलाई एक्सन ओरियन्टेड भएर काम गर्न निर्देशन दिए।
'गम्भीर परिस्थितिबीच दुई प्रमुख दलको सहभागितामा सरकार बनेको छ। यसलाई असफलताको छुट छैन। दुई पार्टीले मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा विशेष योगदान दिँदै आएका छन्। राणाकालदेखि राजतन्त्रसम्मको आन्दोलनमा जितेर आएका पार्टीको मुलुकको विकास र परिवर्तनका लागि हिस्सा र मुख्य भूमिका रहेको छ। त्यसैले सरकारको काँधमा असाधारण जिम्मेवारी छ। यसलाई असफल हुने छुट छैन र कुनै हालतमा असफल हुन दिइँदैन,' उनले भने।
असफल हुँदैन भनेर हातमा हात बाँधेर आरामले बसेर सफलता प्राप्त नहुने भएकाले एक्सन ओरियन्टेड काम गरिने उनले दाबी गरे। 'भाग्यमा छ भन्दैमा डोकोमा दूध दोएर अडिँदैन। हामीले सफलताको संकेत यस आर्थिक वर्षमा दिनुपर्छ। अर्को आर्थिक वर्षमा त्यो सफलता बढाउँदै लानुपर्छ’, प्रधानमन्त्रीले भने, ‘यो देशका लागि केही गरौं भन्ने अठोट भएको सरकार हो। यसले को पक्ष को प्रतिपक्ष भन्ने आधारमा भेदभाव गर्दैन। विना आग्रह मूल्यांकन गरेर निर्णयमा जान्छ।’
ओलीले सरकारको स्थायित्वमा शंका नगर्न आग्रह गरे। उनले आफूले सहमति बमोजिम दुई वर्ष पुग्ने एक साताअघि राजीनामा दिने र त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा बनेर स्थिरताको सन्देश दिने प्रष्ट्याए। ‘त्यसकारण यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन। कर्मचारीहरूले ढुक्कले ठीक काम गर्नुस्, सरकारले त्यसको उत्तरदायित्व लिन्छ,’ उनले भने।
उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा बमोजिम जनतालाई प्रभावकारी सेवा दिन, भोकमरी, भ्रष्टाचार र कुशासन हटाउँदै विकासको गतिलाई तीव्रता दिन योजनाबद्ध जनताका काम बिनाझन्झट छिटो गरिदिन निर्देशन दिए।
प्रधानमन्त्री ओलीले सरकार स्थिर रहेको र विकास निर्माणलाई गति दिन प्रशासन संयन्त्रको मुख्य भूमिका हुने हुँदा सोही अनुसार काम गर्न सचिवहरूलाई निर्देशन दिए।