काठमाडौं । सरकारले १८ देशका लागि नेपाली राजदूत नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १८ देशका राजदूत नियुक्त गर्नुका साथै तीन प्रदेश प्रमुख फेरेको छ भने २१ सचिवको सरुवा गरिएको छ।
भारतका लागि नेपाली राजदूतमा भने डा. शंकर शर्मालाई नै निरन्तरता दिइएको छ। सरकारले पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी र पूर्वसचिव चन्द्र घिमिरेलाई राजदूत सिफारिस गरेको बताइएको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा माओवादी केन्द्र र एकीकृत समाजवादी कोटाबाट नियुक्त भएका राजदूतहरूलाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको हो। सरकारको यस निर्णयसँगै चीन, रुस, अस्ट्रेलियालगायतका देशका राजदूत फिर्ता हुने छन्।
यस्तै सरकारले बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुख फेरेको छ। मन्त्रिपरिषद् बैठकले बागमतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीका कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशी प्रदेश प्रमुख नियुक्त गरेको बताइएको छ।
यसअघि बागमतीमा यादव शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख थिए।
यस्तै सरकारले २१ सचिवको सरुवा गरेकोमा अर्थमा हालका राजस्व सचिव रामप्रसाद घिमिरेलाई ल्याएको छ। अर्थसचिव रहेका मधुकमार मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ।
हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य सचिव रहेका दिनेशकुमार घिमिरेले राजस्व सचिवका रूपमा सरुवा भएका छन्।
सरकारले उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव राधिका अर्यालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरेको छ। यस अघि लुम्बिनी प्रदेशको प्रमुख सचिव रहेकी अर्याल केही महिना अघि सरुवा भएर उपराष्ट्रपति कार्यालयमा सरुवा भएर आएकी थिइन्।
सञ्चार मन्त्रालयको सचिवको जिम्मेवारीमा रहेका रामकृष्ण सुवेदीको अन्य निकायमा सरुवा भएको छ। यद्यपि कुन निकायमा सरुवा भयो भन्ने खुलिसकेको छैन।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा केशवकुमार शर्मा सचिवका रुपमा फर्किएका छन्। उनी हाल जल तथा ऊर्जा आयोगमा थिए।
त्यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल ऊर्जा सचिवमा सरुवा भएका छन्।
हाल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सचिव रहेका घनश्याम उपाध्यायको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ। हालका अख्तियारमा सचिव रहेका रामेश्वर दंगाललाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिव रहेका मुकुन्दप्रसाद निरौला श्रम मन्त्रालयमा सरूवा भएका छन्।