काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र थाइल्यान्डबीचको द्विपक्षीय व्यापार सम्बन्धलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।
नयाँ दिल्लीस्तिथ थाई ट्रेड सेन्टरका निर्देशक र वाणिज्य परामर्शदाता सुछिरा पञ्चनासँग महासंघ सचिवालयमा भएको भेटमा ढकालले दुई मुलुकबीचको मित्रता एवं सहकार्यको लामो इतिहास रहेकामा व्यापारिक सम्बन्धले झनै दिगो बनाएको बताएका हुन्।
ढकालले विगत वर्षदेखि नेपाल र थाइल्यान्डबीचको व्यापारको मात्रामा निरन्तर वृद्धि भएको र सन् २०२३ मा द्विपक्षीय व्यापार करिब १५ करोड अमेरिकी डलर पुगेको उल्लेख गर्दै यसले दुवै राष्ट्रका लागि सम्भावना र अवसरको संकेत गरेको बताए।
ढकालले नेपाल र थाइल्यान्डबीचको सहकार्य अभिवृद्धिका लागि विभिन्न क्षेत्रमा जोड दिए।
उनले नेपाल चिया, कफी र जडिबुटी जस्ता उच्च गुणस्तरका कृषि उत्पादनमा धनी भएको र थाइल्यान्डको उन्नत खाद्य प्रशोधन प्रविधिको सदुपयोग गरेर यी उत्पादनलाई विश्व बजारमा थप प्रतिस्पर्धी बनाउन सहयोग पुर्याउन सक्ने उनको भनाइ छ।
ढकालले नेपाल र थाइल्यान्ड विविधतायुक्त पर्यटकीय स्थलका लागि प्रख्यात भएकाले दुवै देशले संयुक्त बजारीकरण अभियान र दुवै देशका गन्तव्यलाई समेट्ने पर्यटन प्याकेजको विकास गरी थप पर्यटक भित्र्याउन र पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न सकिने औंल्याए।
भेटमा सुचिरा पञ्चनाले थाई ट्रेड सेन्टरले आगामी वर्ष नेपालमा व्यापार मेला तथा गोष्ठी गर्ने योजना रहेको जानकारी दिइन्।
उनले व्यापार मेला तथा गोष्ठी आयोजना गर्न महासंघसँग सहयोगको अपेक्षा रहेको बताइन्।