काठमाडौं । नेपालमा प्रवेश गर्ने दुईपांग्रे विद्युतीय सवारीसाधनमा विद्युतीयतर्फ चिनियाँ ब्रान्ड र इन्धनतर्फ भारतीय ब्रान्डको वर्चस्व देखिएको छ।
नेपालमा बढी मात्रामा भारतबाट इन्धन टू ह्वीलर्स र चीनबाट ईभी टू ह्वीलर्स आयात गरिँदै आए पनि सानो संख्यामा दुवै देशबाट आउने गरेका छन्।
नेपालमा दुईपांग्रे विद्युतीय सवारीसाधनमा स्कुटर बढी प्रयोग भइरहेको छ। यसले ईभी र इन्धन दुवैको संयुक्त बजार आँकडा हेर्ने हो भने भारतीय सवारीसाधनको हिस्सा बढी छ। यद्यपि, पछिल्लो समय ईभी आकर्षण बढ्दै जाँदा चीनतर्फको हिस्सा पनि उकालो लाग्दै छ।
भारतबाट १७०० ईभी भित्रिँदा चीनबाट ५ हजार बढी
गत आर्थिक वर्ष २०८०/८१ भित्र भारतबाट १ हजार ७५७ युनिट ईभी मोटरसाइकल तथा स्कुटर आयात भएको छ। सोही अवधिमा चीनबाट ५ हजार ९१६ युनिट दुईपांग्रे ईभी आयात भएको छ।
भारत र चीन दुवै मुलुकबाट आयातीत दुईपांग्रे विद्युतीय सवारीसाधन संख्या ७ हजार ७४७ युनिट छ। भारत र चीनबाट गत एक वर्षमा ८३ करोड ४ लाख ४६ हजार रुपैयाँ बराबरको टू ह्वीलर्स सवारी आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।
चीनबाट ९०० इन्धन टू ह्वीलर्स आयात हुँदा भारतबाट १ लाख ३३ हजार
ईभीमा चिनियाँ हिस्सा बढी हुँदा इन्धनतर्फ भने भारतको बढी छ। गत आर्थिक वर्षमा चीनबाट नेपालमा ९०३ युनिट इन्धन दुईपांग्रे सवारीसाधन आयात भएको छ। भारतबाट उक्त अवधिमा १ लाख ३३ हजार ५८९ युनिट इन्धन टू ह्वीलर्स आयात भएको छ।
सोही अवधिमा इन्धनतर्फ १५ अर्व ५९ करोड ८८ लाख रुपैयाँ बराबरको सवारीसाधन आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ।
समग्रमा गत आर्थिक वर्षमा नेपालमा १६ अर्ब ४२ करोड ९३ हजार रुपैयाँ बराबरको कुल १ लाख ४२ हजार २८१ युनिट टू ह्वीलर्स सवारीसाधन भित्रिएका छन्।
नेपालमा चारपांग्रेमा विद्युतीय सवारी साधनको बजार राम्रो बन्दै गए पनि दुईपांग्रेको सोहीअनुरुप बन्न सकेको छैन। दुईपांग्रे ईभीमा पनि स्कुटरको बजार मात्रै राम्रो बन्दै गएको छ। विद्युतीय मोटरसाइकलको प्रयोग खासै बढ्न सकेको छैन।
स्रोतः भन्सार विभाग