काठमाडौं। केही समय अघिसम्म २४ प्रतिशतमा झरेको होटलको अकुपेन्सीमा एकाएक सुधार आएको छ। बंगलादेशमा आन्दोलन चर्किएसँगै त्यहाँको सरकारले इन्टरनेट काटिदिएपछि हजारौं बंगलादेशी नागरिक नेपाल प्रवेश गर्दा होटल अकुपेन्सीमा नाटकीय सुधार भएको हो।
बंगलादेशी नागरिकले विदेशी कम्पनीका लागि काम गर्दै आएका थिए। तर, त्यहाँको सरकारले आन्दोलन मत्थर बनाउन इन्टरनेट नै काटिदिएपछि उनीहरू लिएको जिम्मेवारी पूरा गर्न नेपाल आएका हुन्।
अध्यागमन विभागका महानिर्देशक कोषहरि निरौला बंगलादेशबाट पछिल्लो केही दिनयता नागरिक आइरहेको बताउँछन्। ‘स्थलमार्गबाट पनि नेपाल भित्रिएको भन्ने सुन्नमा आएको छ। हवाई मार्गबाट पनि प्रशस्त बंगलादेशी नेपाल आएका छन्,’ उनले भने, ‘बंगलादेशबाट ठ्याक्कै कति नागरिक नेपाल भित्रिए भन्ने तथ्यांक नभए पनि एक हजार बढी आएको अनुमान छ।’
केही दिनअघि एयरपोर्ट भिजिटका लागि जाँदा त्यहाँ बंगलादेशी नागरिकसमेत भेटेको उनले बताए। बंगलादेशबाट आएका नागरिक ठमेल तथा तारे होटलमा बसिरहेका छन्। बंगलादेशी नागरिककै कारण अहिले ठमेल खचाखच छ। उनीहरू समूह–समूह बनाएर नेपाल आएका छन्। ठमेलका चल्तीका होटल रुम बुक गरेर बसेका छन्, जहाँ बसेर विदेशका लागि काम गरिरहेका छन्।
‘बंगलादेश सरकारले इन्टरनेट काटिदियो। हामीले विदेशी कम्पनीका लागि आउटसोर्सिङको जिम्मा लिएर बसेका थियौं। समयसीमाभित्र काम सक्नुपर्ने दबाब भएपछि नेपाल आएर आफ्नो जिम्मेवारी पूरा गरेको हो,’ ठमेलको एक होटलमा साता दिनदेखि बसिरहेका बंगलादेशी नागरिकले क्यापिटल नेपालसँग भने, ‘यहाँ मसहित २६ जनाको टोली छ। हामी एक सातादेखि काम गरिरहेका छौं।’
यो समूहबाहेक अन्यले धेरै नेपालबाट गृहकार्य पूरा गरिरहेको उनको भनाइ छ। उनका अनुसार ठमेलमै अर्को ३२ जनाको समूह पनि बसिरहेको छ।
यद्यपि, बंगलादेश सरकारले पाँच दिनअघि नै इन्टरनेट जोडिदिएको छ। १० दिनअघि बंगलादेश सरकारले आन्दोलन दबाउन इन्टरनेट काटिदिएको थियो। ती नागरिकका अनुसार अझै बंगलादेशमा आन्दोलन जारी छ। आन्दोलनले चर्किनेबित्तिकै सरकारले फेरि इन्टरनेट काट्न सक्छ।
त्यसकारण आउटसोर्सिङ प्रभावित हुने भएकाले समयसीमाभित्र सक्नुपर्ने काम पूरा गरेपछि मात्रै नेपालबाट फर्किने उनले बताए। ठमेलका होटल व्यवसायीका अनुसार १० दिनदेखि अप्रत्याशित रूपमा होटल बुकिङ भएको हो।
बंगलादेशीले भन्दा पनि अमेरिका, युरोप, दुबईलगायतबाट होटल बुकिङ छ। बुकिङ होटलमा बंगलादेशी नागरिक बसेका छन्। उनीहरू दिनभर इन्टरनेटमार्फत काम गरिरहेका हुन्छन्।
अध्यागमन विभागका अनुसार भिजिट भिसामा बंगलादेशी नागरिक अझै आउन सक्ने देखिन्छ। सरकारी सेवामा विशेष आरक्षणको विरोधमा साउन १ देखि जारी आन्दोलन हिंसात्मक बन्दै गएपछि धेरै बंगलादेशीले नेपाललाई वर्क स्टेसन बनाइरहेका हुन्।