काठमाडौं । सेयर बजारमा ८२ अंकको उतारचढाव आउँदा १९ अर्ब ४४ करोड बढीको कारोबार भएको छ। साताको कारोबारको दोस्रो दिन सोमबार कुल १९ अर्ब ४४ करोड बढीको कारोबार भएको हो। यो कारोबार २०७८ जेठ ३० यताकै उच्च हो। उक्त कारोबार दिन भने बजारमा कुल १९ अर्ब ५५ करोड बढीको कारोबार भएको थियो।
अघिल्लो कारोबार दिन आइतबार भने बजारमा कुल १५ अर्ब ६९ करोड बढीको कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा कारोबार रकममा उल्लेख्य वृद्धि आएपनि सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) भने २०.४६ अंकले घटेको छ। आइतबार २६८१.५६ बिन्दुमा रहेको नेप्से सोमबार कारोबार बन्द हुँदा भने २०.४६ अंकले घटेर २६६६.०९ बिन्दुमा सीमित भएको हो।
यद्यपि, सोमबार पटकपटक २७०० बिन्दुमाथि पुगेको नेप्से कारोबार सुरु भएको एक मिनेटमै बढेर २७३७.६८ बिन्दुसम्म पुगेको थियो। त्यसपछि तिब्र उतारचढाव आउँदा नेप्से २ बजेर ५८ मिनेटमा २६५५.१५ को बिन्दुसम्म झरेको थियो। तर, बन्द हुने समयमा भने नेप्से २६६६.०९ बिन्दुमा रोकियो। आइतबार नेप्से ११३.४२ अंक र गत साताको बिहीबार ३२.०२ अंकले बढेपछि सोमबार नेप्सेमा करेक्सन आएको हो।
सोमबार कारोबारमा आएकामध्ये ७० कम्पनीको सेयर मूल्य बढ्दा १६८ कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै, ४ कम्पनीको सेयर मूल्य भने स्थिर छ। सोमबार नेपाल फाइनान्सको सेयर मूल्य ९.७७ प्रतिशत, मन्डकिनी हाइड्रोको ८.५८ प्रतिशत र बाराही हाइड्रोपावरको सेयर मूल्य ८.१६ प्रतिशतले बढेको छ। सोमबार आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने सर्वाधिक अर्थात् ८.३५ प्रतिशतले घटेको छ।
सोमबार लघुवित्त समुहको सेयर मूल्यमा ३.७१ प्रतिशतको गिरावट आएको छ। कारोबारमा आएका लघुवित्त कम्पनीमध्ये ४६ को सेयर मूल्य घट्दा २ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ। नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरको लाभांश वितरणमा थप कडाइ गर्दै, सेवा शुल्क घटाउँदै र कर्जाको सीमा संकुचित गर्दै नयाँ निर्देशन जारी गरेपछि लघुवित्ततर्फको आकर्षण घटेको हो। केन्द्रीय बैंकले एकीकृत निर्देशन २०७९ संशोधन गरी लघुवित्त क्षेत्रमा कडाई गरेसँगै आइतबारबाट नै लघुवित्ततर्फ लगानीकर्ताको आकर्षण घटेको छ।
सोमबार १३ उपसमुहमध्येमा दुई समुहको सेयर मूल्य मात्रै सकरात्मक बनेको छ। जसमा फाइनान्स र जलविद्युत समुह रहेका छन्। अघिल्लो दिन आइतबार १९ मध्ये १८ वाणिज्य बैंकको सेयर मूल्य नौ प्रतिशत बढीले बढेकोमा सोमबार भने त्यसले निरन्तरता पाएन। सोमबार बैंकिङ समुहमा ०.०३ प्रतिशतको गिरावट आउँदा विकास बैंक समुहको सेयर मूल्य २.६९ प्रतिशतले घटेको छ।