काठमाडौं । चालु आर्थिक बर्षमा केन्द्र सरकारले देशभर झन्डै १० हजार किलोमिटर सडक मर्मत तथा स्तरोन्नती गर्न ६ अर्ब रुपैयाँ बजेट छुट्याएको छ । काठमाडौं उपत्यकासहित देशभरका राजमार्गका सडकको मर्मत सम्भार र खाल्डाखुल्डी पुर्न यो रकम छुट्याइएको हो । तर, सडक विभागले देशभरका सडक मर्मत गर्न भौतिक पूर्वाधार मन्त्रालयसँग २०/२२ अर्व माग गरेको थियो ।
विभागले काठमाडौं उपत्यकाका सडकको मर्मत÷सम्भार तथा खाल्डाखुल्डी पुर्न सबैभन्दा बढी बजेट छुट्टयाएको महाशाखाका प्रमुख सरोज प्रधानले बताए । उनका अनुसार काठमाडौं उपत्यकामा झन्डै ३ अर्ब बजेट मर्मतका लागि मात्रै छुट्याइएको छ ।
‘यसबर्ष झन्डै १० हजार किलोमिटर सडक मर्मत सम्भार र खाल्डाखुल्डी रहित बनाउन २०/२२ अर्ब बजेट माग गरेका थियौं । तर, ६ अर्ब रुपैयाँ मात्रै आयो’ उनले भने, ‘खासगरी काठमाडौं उपत्यकालाई बढी ‘टार्गेट’ गरेर सडक मर्मतमा लगायौं । धेरै सुधार पनि भएको छ ।’
उपत्यकामा ५० किमी सडक मर्मत हुदै
अहिले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा सडकका खाल्डाखुल्डी पुर्नेका धमाधम भइरहेको छ । काठमाडौं उपत्यकाभित्रका नयाँ बानेश्वर, बबरमहल, तीनकुने, कालीमाटी, मैतीदेवी, बालाजु, नागढुंगा, कलंकी, चावहिल लगायतका क्षेत्रका सडकका खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ ।
काठमाडौंका भित्री सडक तथा चक्रपथ र राजमार्गका ५० किलोमिटर सडक पुर्ने लक्ष्य सडक विभागको छ । हालसम्म १० किलोमिटर सडकका खाल्डाखुल्डी र विस्तारको काम सम्पन्न भएको प्रधानले बताए । बाँकी सडकको मर्मत यसै आवभित्र सम्पन्न गर्ने लक्ष्य विभागले लिएको छ ।
तर, किन हुन्छ खर्च न्युन?
सडक मर्मत र विस्तारका लागि छुट्याएको बजेट खर्च नहुने प्रवृत्ती भने सुध्रिएको देखिदैन् । यो अवधिमा ७२ करोड रुपैयाँ सडक मर्मतका लागि खर्च गरिसकेको विभागको भनाई छ । सडक विभागको समग्र खर्च हेर्ने हो भने यो १२ प्रतिशत हाराहारी मात्रै हो ।
समयमै ठेक्का नलाग्नु, निर्माण सामग्रीको आपूर्तिमा समस्या र ठेकेदारको बेवास्ताका कारण सडक मर्मत र विस्तार कार्यमा ढिलाइ हुने गरेको प्रधान बताउँछन् ।
त्यसबाहेक काठमाडौं उपत्यकाभित्र मेलम्ची खानेपानी विस्तार, विद्युत्का तार अन्डरग्राउन्ड, मौसमको प्रभाव, भवन निर्माण, पोल सार्नुपर्ने लगायतका कारण सडक मर्मत र विस्तार समयमै हुन नसकेको प्रधानको भनाइ छ ।