काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले जोखिममा आधारित सुपरिवेक्षण ढाँचा लागू गर्ने भएको छ। धितोपत्र बजारको थप प्रभावकारी नियमन तथा सुपरिवेक्षणण्मार्फत गलत अभ्यासलाई निरुत्साहित गर्न जोखिममा आधारित सुपरिवेक्षण लागू गर्ने भएको हो।
बोर्डले चालू आर्थिक वर्ष २०८१/८२ का लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममा यो प्रणाली लागू गर्ने उल्लेख गरेको हो।
धितोपत्र दलाल व्यवसायी तथा मर्चेन्ट बैंकरको जोखिममा आधारित सुपरिवेक्षण ढाँचा लागू गरिनेछ,’ बोर्डले भनेको छ, ‘सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल, २०७७ अनुसार कम्तीमा १५ सूचक संस्थाको स्थलगत सुपरिवेक्षण हुनेछ।’
बोर्डले धितोपत्र निष्कासनका क्रममा निष्काशनकर्ता कम्पनीले सार्वजनिक निष्काशनबाट संकलित रकम विवरणपत्रमा उल्लेख भए बमोजिम सदुपयोग गरे/नगरेको सम्बन्धमा सुपरिवेक्षण गर्ने, सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा अन्य सरोकारवाला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग आवश्यक सहयोग र समन्वय गर्ने पनि जनाएको छ।
बोर्डले सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजनामा नियमन निकाय तथा अनुसन्धानकारी निकायका लागि तोकिएका कार्यहरु गर्ने, धितोपत्र बजारमा हुने दैनिक कारोबार, कारोबार रकम, कारोबार हुने कम्पनी, कारोबार भएको धितोपत्र आदिको रियल टाइम सर्भिलेन्स गर्ने तथा नियमित रुपमा बजार तथा कारोबारको अनुगमन तथा सुपरिवेक्षण गरी सुपरिवेक्षणका क्रममा कुनै गलत अभ्यास भएको देखिएमा सो को प्रारम्भिक जाँचबुझ विषय पनि नीति तथा कार्यक्रममा समेटेको छ।
अब धितोपत्र बजार, केन्द्रीय निक्षेप कम्पनी, धितोपत्र व्यवसायी ( मर्चेण्ट बैंकर), क्रेडिट रेटिङ्ग कम्पनी, धितोपत्र दलाल तथा धितोपत्र व्यापारी, निक्षेप सदस्य र सामूहिक लगानी कोष तथा विशिष्टीकृत लगानी कोषहरुको कुल संख्याको कम्तिमा १५ प्रतिशतको स्थलगत सुपरिवेक्षण हुनेछ।
सूचीकृत संगठित संस्था, धितोपत्र बजार, केन्द्रीय निक्षेप कम्पनी, निक्षेप सदस्य, मर्चेण्ट बैंकर, क्रेडिट रेटिङ्ग कम्पनी, आस्वा सदस्य, धितोपत्र दलाल, धितोपत्र व्यापारी, सामूहिक लगानी कोष, विशिष्टीकृत लगानी कोषहरुको वित्तीय विवरण, सूचना तथा जानकारी तथा अन्य काम कारवाहीहरुको गैरस्थलगत सुपरिवेक्षण गर्ने, धितोपत्र बजार र धितोपत्र व्यवसायीहरुको विस्तृत विवरण अद्यावधिक गर्ने विषयलाई पनि बोर्डले प्राथमिकतामा राखेको छ।
बुक बिल्डिङमा सार्वजनिक लेखा समितिको निर्देशन कार्यान्वयन हुने
बोर्डले नीति तथा कार्यक्रममा धितोपत्र बजारको नियमनलाई व्यवस्थित बनाउने सम्बन्धमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको निर्देशन कार्यान्वयन गरिने जनाएको छ।
‘बुक बिल्डिङ विधिमार्फत सार्वजनिक निष्काशनलाई थप व्यवस्थित बनाउन नियमावली तथा निर्देशिकामा आवश्यक परिमार्जन गरिनेछ,’ बोर्डले भनेको छ, ‘धितोपत्रको सार्वजनिक निष्काशनमा नेटवर्थ तथा प्रिमियम मूल्य निर्धारण सम्बन्धमा एकरुपता कायम गर्न प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिको निर्देशन तथा अन्तर्राष्ट्रिय प्रचलनलाई समेत मध्येनजर गरी स्ट्यान्डर्ड गाइडलाइन्स तयार हुनेछ।’
यस्तै, सूचीकृत संगठित संस्थाको संस्थापक सेयरको हाल कायम लकइन अवधि सम्बन्धी व्यवस्थामा अध्ययन गरी परिमार्जन गरिने, धितोपत्र व्यवसायी तथा सूचीकृत संगठित संस्थाले बोर्डसमक्ष पेस गर्नुपर्ने प्रतिवेदनमा एकरुपता कायम गरिने, धितोपत्र दलाल व्यवसायी तथा व्यापारी, मर्चेन्ट बैंकर र सामूहिक लगानी कोषहरुले पेश गर्नुपर्ने विवरणहरुको रिपोर्टिङ फम्र्याट पनि लागू हुने भएको छ।
बजेटनुसार बढी पुँजी भएका कम्पनीलाई आईपिओमा लग्न अगाडि बढाइने
पुँजी बजारमा क्षेत्रगत तथा औजारगत विविधता ल्याउन सहजीकरण गरिने, नेपाल सरकारको बजेट वक्तव्यमा उल्लेख भएअनुसार निश्चित रकम भन्दा बढी पुँजी भएका संगठित संस्थालाई अनिवार्यरुपमा धितोपत्र दर्ता गरी धितोपत्र बजारमा सूचीकरण गर्न कम्पनी रजिष्ट्रारको कार्यालयसंग समन्वय तथा संभाव्य कम्पनीहरुसँग अन्तरक्रिया गर्ने र धितोपत्र बजार र धितोपत्र व्यवसायको नियमन तथा सुपरिवेक्षण कार्यलाई विद्युतीय प्रणालीमा आवद्ध गर्दै लग्ने नीति तथा कार्यक्रममा उल्लेख छ।
नीति तथा कार्यक्रममा बोर्डको वेबसाइटलाई परिष्कृत गरी थप सूचनामूलक बनाउने पनि जाइएको छ। आइपिओ एलोमेन्ट सफ्टवेयरको भीपीएटी तथा अन्य प्राविधिक पक्षहरुका सम्बन्धमा अध्ययन गरी आवश्यक सुधार गर्ने पनि जनाइएको छ। पुँजी बजारसम्बन्धी तथ्यांकहरुको केन्द्रीय व्यवस्थापन तथा तथ्यांक उपलब्धताको सहज व्यवस्थापन गर्न केन्द्रीय पुँजी बजार तथ्यांक बैंक÷पोर्टल स्थापना सम्बन्धमा अध्ययन पनि बोर्डले गर्नेछ।
धितोपत्र बजार सूचना प्रविधि निर्देशिका तयार गरिने
सेबोनले धितोपत्र बजार सूचना प्रविधि निर्देशिका तयार गर्ने पनि उल्लेख गरेको छ। धितोपत्र बजारमा प्रयोग हुने सूचना प्रविधिका साधन तथा प्रणालीको सम्परिक्षण ढाँचा तयार गर्ने बोर्डको भनाइ छ। ‘बोर्डका कार्य संचालनका लागि आवश्यक हुने सफ्टवेयर तथा हार्डवेयर खरिद, विकास तथा प्रयोग गर्ने व्यवस्था मिलाइनेछ। बोर्डका सूचना प्रविधिको उपयोगलाई सुरक्षित बनाउन प्रणालीहरुको व्यवस्था गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘बोर्डको आफ्नै डाटा सेन्टर स्थापना गरिनेछ।’
धितोपत्र बजार तथा वस्तु विनिमय बजारमा हुने कारोबारको अनुगमन तथा सुपरिबेक्षण गर्न अन्तर्राष्ट्रिय रुपमा प्रयोग भइरहेका आर्टीफिसीएल इन्टेलिजेन्स (एआई)मा आधारित एकीकृत वास्तविक समय सुपरिवेक्षण प्रणाली प्रयोगमा ल्याउन अध्ययन गरिने पनि बोर्डले जनाएको छ। बोर्डले हकप्रद सेयर र संस्थापक सेयरको लिलाम बिक्रीलाई व्यवस्थित गर्न अटोमेटिक अक्सन सिस्टमलाई कार्यान्वयनमा ल्याउन निर्देशन दिने पनि बोर्डले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।
‘बोर्डको लेखा प्रणालीलाई चुस्त दुरुस्त र सहज बनाउन लेखा प्रणालीसम्बन्धी सफ्टवेयर खरिद गरिनेछ। गुनासो तथा उजुरी समाधान सम्बन्धी केन्द्रीकृत गुनासो व्यवस्थापन प्रणालीको व्यवस्था हुनेछ,’ बोर्डले नीति तथा कार्यक्रममा भनेको छ, ‘बोर्डको बजार सुपरिवेक्षण कार्यलाई प्रभावकारी बनाउन सुपरभाइजरी इन्फर्मेसन सिस्टम (एसआईएस) विकास गरी कार्यान्वयनमा ल्याउने सम्बन्धी अध्ययन गरिनेछ।’
बोर्डले नेपाल सरकारको बजेट बक्तव्यमा उल्लेख भए बमोजिम वस्तु विनिमय बजार संचालन गर्न कानूनी र संस्थागत व्यवस्था मिलाइने, वस्तु विनिमय बजारसम्बन्धी वस्तु कारोवार व्यवसाय, राफसाफ तथा फस्र्यौट व्यवसाय, वेयर हाउस सम्बन्धमा आवश्यक नियमावलीहरु तर्जुमा गर्ने, वस्तु विनिमय बजारको अनुमतिपत्र प्रदान गर्ने विषय पनि आफ्नो कार्यक्रममा समेटेको छ।
‘धितोपत्र बजारलाई थप स्वच्छ, प्रतिस्पर्धी र पारदर्शी बनाई बजारको स्थायित्व तथा लगानीकर्ताको हित प्रवर्द्धन गरी धितोपत्र बजारमा जनविश्वास बढाईनेछ। पुँजी बजारको दीर्घकालीन विकाससम्बन्धी नीतिगत व्यवस्थाका लागि पुँजी बजारसम्बन्धी राष्ट्रिय नीतिको मस्यौदा तर्जुमा गरिनेछ,’ सेबोनको नीति तथा कार्यक्रममा भनिएको छ। बोर्डले धितोपत्र व्यवसायी (मर्चेण्ट बैंकर), क्रेडिट रेटिङ्ग कम्पनी र धितोपत्र दलाल व्यवसायीहरुसँग अन्तरक्रिया कार्यक्रम संचालन गर्ने पनि उल्लेख गरेको छ।