काठमाडौं । आइतबार प्रिओपन सेसनमै सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३८.२७ अंकले बढ्यो। शुक्रबार मौद्रिक नीति बजारलाई सपोर्ट गर्ने ढंगमा आएपछि आइतबार कारोबारमा उतारचढाव आउने अनुमान पहिल्यै गरिएको थियो। नभन्दै कारोबार सुरुभएको एक मिनेटमै ४ प्रतिशतको वृद्धि हुँदै नेप्सेमा पहिलो सकारात्मक सर्किट ब्रेक लाग्यो।
पहिलो सकारात्मक सर्किट ब्रेक लागेर २० मिनेटपछि खुलेको बजारमा पुनः कारोबार खुले लगत्तै दोस्रो सर्किट ब्रेक लाग्यो। दोस्रो सकारात्मक सर्किट ब्रेक लागेपछि ४० मिनेटमा खुलेको बजार भने सम्हालिएर प्रस्तुत भयो। तर, यो समयसम्म लगानीकर्ताले कारोबार व्यवस्थापन प्रणाली (टिएमएस)मा समस्या आएको भन्दै सामाजिक सञ्जालमा एकपछि अर्को गुनासो पोखिसकेका थिए। यद्यपि, सबैको टिएमएसमा भने एकै पटक समस्या आएको थिएन।
आइतबार नेप्से २७०८.५८ को उच्च बिन्दुमा उक्लिदा २६०६.४० को न्यून बिन्दुसम्म झर्यो। यद्यपि, बन्द हुने समयमा भने अघिल्लो कारोबार दिन बिहीबारको तुलनामा ११३.४२ अंकले बढेर नेप्से २६८१.५६ बिन्दुमा रोकियो। समग्रमा आइतबार १०२.१८ अंकको उतारचढाव आउँदा टिएमएसमा विगतकै समस्या दोहोरियो। अर्थात्, उच्च उतारचढाव हुँदा विगतमा पनि पटक-पटक टिएमएसमा समस्या आउने गरेको थियो, जसले आइतबार पनि निरन्तरता पायो।
सेयर लगानीकर्ता नवराज दाहाल आफ्नो टिएमएसमा समस्या नआए पनि धेरैबाट त्यसको गुनासो आएको बताउँछन्। ‘आइतबार आएको समस्या यसअघि पनि बारम्बार आइरहेको समस्या हो। नेप्से टेक्निकल समस्या भन्दै सधैँ पन्छिने गरेको छ तर, यसको प्रणाली नै परिवर्तन गर्नुपर्ने देखिन्छ,’ दाहाल भन्छन्, ‘नेप्सेको काम यी समस्याको पहिचान गरी समाधान गर्ने हो। यो काम नेप्सेले गर्न सकेको छैन।’ उनले नेप्से आइतबारको समस्याबाट पनि पन्छिएको भन्दै असन्तुष्टि व्यक्त गरे।
‘ब्रोकरहरूले टिएमएस प्रणाली कसरी चलाएका छन्? कुन सर्भर प्रयोग गरिरहेका छन्? लगानीकर्ताको गोपनीयता कायम छ वा छैन? यी सबै कुरा हेर्ने जिम्मेवारी नेप्सेको हो,’ दाहाल भन्छन्, ‘एउटा ब्रोकरको टिएमएसमा समस्या आएर अर्कोमा नआउँदा ब्रोकरको समस्या जस्तो पनि देखिन्छ। यद्यपि, यसलाई नजिकबाट नियालेर नेप्सेले मापदण्ड तोक्नुपर्छ।’ दाहालले टिएमएसमा सम्बन्धित लगानीकर्ता बाहेक कसैको पहुँच नपुग्ने अवस्था सिर्जना गर्नुपर्ने बताए।
यसअघि २०७७ चैत १८ मा पनि टिएमएसमा समस्या आएको थियो। कारोबार खुलेको केही समयमा नै समस्या आएपछि नेप्सेले पछि एक घण्टा थप गरेर ४ बजेसम्म कारोबार समय थप गरेको थियो। २०७८ फागुन ३० मा पनि टिएमएसमा सोही समस्या देखिएको थियो। ब्रोकरको टिएमएसमा समस्या देखिएपछि १२ बजेर ५३ मिनेटबाट उक्त दिन कारोबार बन्द गरिएको थियो। टिएमएसमा समस्या आउनुभन्दा अघिल्लो दिन नेप्से १०१ अंकले सुधार भएको थियो।
२०७९ जेठ ३ मा पनि टिएमएसमा समस्या आएको थियो। साताको पहिलो दुई कारोबार आइतबार र सोमबार बन्द भएर जेठ ३ मंगलबार बजार खुल्दा प्रि–ओपन सेसनदेखि नै नेप्सेमा समस्या देखिएको थियो। यस्तै, २०८० मंसिर १३ मा पनि टिएमएसमा समस्या आएको थियो। उक्त दिन कतिपय स्क्रिप्टमा खरिद बिक्री अर्डर राख्न नमिल्ने भएकोमा यसको भोलीपल्ट मंसिर १४ पनि केहीमा सोही समस्या दोहोरिएको थियो।
हुनतः यी केही प्रतिनिधि घटनामा मात्रै हुन्। बजार उच्च अंकले बढ्ने वा घट्ने हुँदा यस्ता समस्या पटक पटक आउने गरेका छन्। स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष धर्मराज सापकोटा एउटै समस्या पटक पटक दोहोरिनु उचित नभएको बताउँछन्। ‘प्रविधिको प्रयोगमा नयाँ नयाँ किसिमका समस्या र चुनौति देखिनु स्वाभाविक हो। तर, टिएमएसको हकमा एउटै समस्या पटक पटक दोहोरिएको छ,’ अध्यक्ष सापकोटा भन्छन्, ‘एउटै समस्या पटक पटक दोहोरिनुले यो समस्या बढी नै अस्वाभाविक हो कि भन्ने पनि देखिन्छ।’
सापकोटाले एक पटक समस्या आएपछि पुनः सोही समस्या नदोहोरिने गरी समाधान गर्न आवश्यक भएको बताए। समस्या आएपछि ब्रोकरतर्फ, नेप्सेतर्फ वा अन्य कहाँ समस्या आएको भन्ने पहिचान गरेर यस्तो समस्या सधैँका लागि अन्त्य गर्नुपर्ने सापकोटाको तर्क छ। टिएमएसमा पटक पटक समस्या आउँदा तेस्रो व्यक्तिले पहुँच राखेर बजारलाई स्वाभाविक गतिमा चल्न नदिएको विषय पनि उठ्दै आएको छ।
तर, नेप्से भने सधैँ आउने यो समस्याबाट पन्छिने गरेको छ। आइतबार टिएमएसमा देखिएको समस्याका विषयमा पनि नेप्से सोही ढंगमा प्रस्तुत भयो। नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले टिएमएसमा समस्या नआएको बताए। ‘आइतबार टिएमएसमा कुनै समस्या आएको देखिएन। हामीले रियल टाइम डेटा हेर्ने र मनिटर गर्ने गरिरहेका हुन्छौं,’ पराजुलीले भने, ‘हाम्रो पाटोमा समस्या आएको थिएन। ब्रोकर वा स्वयम् लगानीकर्तातर्फको टिएमएसमा समस्या आएको भने हुनसक्छ।’ उनले टिएमएसमा समस्या नआएकै कारण १५ अर्ब बढीको कारोबार भएको बताए।