काठमाडौं । नेपालमा इलेक्ट्रिक भेहिकल (ईभी) आयातको संख्या पछिल्लो समय तीव्र रूपमा बढिरहेको छ। भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा ४ हजार ५० वटा विद्युतीय गाडी भित्रिएकोमा २०८०/८१ मा ११ हजार ७०१ वटा नेपाल आएको छ। एकै वर्षमै झन्डै तेब्बर ईभी आयात बढेको अवस्थाले ईभी व्यवसाय कस्तो भएको छ भन्ने देखाउँछ।
अघिल्लो वर्ष आयातको वृद्धि तीव्र हुँदा यो वर्ष नाडा अटो शो र दसैं तिहारलाई लक्षित गरी पुराना ब्रान्ड र नयाँ ब्रान्ड ल्याउन अटो व्यवसायी लागिपरेका छन्।
डिलर नेटवर्क नभएका र पूर्वाधार नबनाई गाडी मात्र आयात गर्ने प्रचलन हुँदा नेपालमा ईभीको अवस्था माछा बजारमा परिणत हुने खतरा बढेको स्वयं व्यवसायीले बताउन थालेका छन्। थोरै या धेरै जति संख्यामा भए पनि गाडी मात्र आयात गरेर बिक्री गर्ने तर सर्भिस दिने बेला पूर्वाधार नहुँदा उपभोक्ताले सास्ती भोग्न थालेपछि उपभोक्ताको आक्रोश स्वर पनि बाक्लिँदै गएको छ।
यसको प्रारम्भिक नतिजा हाइवेमा बिग्रेर बसेका ईभी माइक्रो बस हुन् या सर्भिस सेन्टरमा पार्टस् नपाउँदा महिनौंदेखि नबनेका कारमा देखिन थालेको छ। सुरुमा केही सय गाडी आयात गरेर बिक्री गर्ने चल्यो भने पूर्वाधारमा लगानी र नचले पूर्वाधार नबनाउने कम्पनीले गर्दा बन्दै गरेको ईभी बजारको वातावरण नेपालमा बिग्रने खतरा बढ्दै गएको हो।
३ वर्षको बीचमा नेपालमा ३१ वटा ब्रान्डका कार र कमर्सियल ईभी ब्रान्ड नेपाल भित्रिसकेका छन्। एक वर्षमा एक दर्जन ब्रान्ड थपिएका छन्। नेपालको अटो बजारमा नयाँ नयाँ ईभी ब्रान्ड थपिँदै गए पनि त्यस अनुसारको पूर्वाधार निर्माण नहुँदा ईभीको लागि बन्दै गरेको माहौल बिग्रने डर व्यवसायी र उपभोक्ता दुवैमा बढ्दै गएको हो।
गत जेठ २० गते ६ नयाँ फिचरका साथ सिट्रोन ई–सीथ्री सार्वजनिक भयो सांग्रिला मोटर्स प्रालिले ई–सीथ्रीको प्रिमियम मोडल सार्वजनिक गरेको ठिक २९ दिनपछि अर्थात् असार १२ गते, एमएडब्लू वृद्धिले कमर्सियल भेहिकलले सोकोन ईसी थर्टी सिक्स भ्यान सार्वजनिक गर्यो। त्यसको एक दिनपछि असार १३ गते सिजी मोटर्सले चिनियाँ ब्रान्ड जीएसी आयोन वाई एसयूभी नेपाली बजारमा सार्वजनिक गर्यो भने लक्ष्मी ई–मोबिलिटी प्रालिले केईको इलेक्ट्रिक एसयूभी एक्स–३ प्रोको बुकिङ खुल्यो गर्यो। यसरी, चालू आर्थिक वर्ष २०८१/८२ को बजेट अघि एक हप्तामा एउटा ब्रान्डको गाडी सार्वजनिक गर्ने होड नै चलेको थियो। यो होड यो आर्थिक वर्षमा पनि देखिन थालेको छ। स्याम्पल पिस गाडी आयात गरेर बुकिङ सुरु गरेका छन्। चिनियाँ कम्पनी केईले त नेपालमा लक्ष्मी ग्रुप, गोल्छा ग्रुप र एलआरआर ग्रुपलाई नेपालमा आधिकारिक बिक्रेताको जिम्मेवारी दियो। एउटै ब्रान्ड नेपाल ल्याउन तीन ग्रुपले सम्झौता गरेर र प्रतिस्पर्धा गरे। यो उदाहरणले पनि थाहा हुन्छ ईभीको आगामी बजार कता जाँदै छ।
अन्धाधुन्ध गाडी आयातले नेपालमाको ईभीप्रति नै उपभोक्ता नकारात्मक बन्ने खतरा स्वयं व्यवसायीले स्वीकार गर्न थालेका छन् तर आयातको मोडालिटी र सरकारसँगको समन्वयमा भने पन्छिँदै गएका छन्।
केई मात्र होइन कामा ईभी भ्यानका लागि पनि नेपालमा तीन ग्रुपले ल्याएको घोषणा गरेका थिए। मेघा ग्रुप, लक्ष्मी ग्रुप र कविन श्रेष्ठ समूहले कामा भ्यानलाई नेपालमा बिक्री गर्ने घोषणा गरेका थिए।
अन्धाधुन्ध गाडी आयातले नेपालमाको ईभीप्रति नै उपभोक्ता नकारात्मक बन्ने खतरा स्वयं व्यवसायीले स्वीकार गर्न थालेका छन् तर आयातको मोडालिटी र सरकारसँगको समन्वयमा भने पन्छिँदै गएका छन्। व्यवसायीले आफ्नो व्यापार र तत्कालको नाफा खोज्ने प्रवृत्तिले दीर्घकालीन फाइदा गुम्ने डर बढ्दै गएको छ।
नेपालमा हालसम्म २ लाख ४० हजारभन्दा बढी गाडी सञ्चालनमा छन् तीमध्ये २४ हजार निजी सवारी साधन विद्युतीय भइसकेको छ। यसरी हेर्दा समग्र गाडीको संख्याको आधारमा झन्डै १० प्रतिशतभन्दा बढी हिस्सा विद्युतीय गाडीले ओगटिसकेको छ।
संख्यात्मक रूपमा विद्युतीय गाडी बढे पनि आवश्यक पूर्वाधार निर्माणमा भने सीमित कम्पनीले मात्र ध्यान दिएको देखिन्छ। अहिले काठमाडौंसहित केही ठूला राजमार्ग केन्द्रित गरेर चार्जिङ स्टेशन बनाइएको भए पनि पर्याप्त मात्रामा देखिँदैन। हालसम्म १४० वटा सवारी चार्जिङ स्टेसन सञ्चालनमा रहेका छन्। अन्तर्राष्ट्रिय प्रचलन अनुसार २० वटा गाडी बराबर एउटा चार्ज पोइन्ट हुनु पर्छ, तर अहिलेको अवस्थामा एउटा चार्ज पोइन्टका लागि ११० वटा गाडी प्रयोग हुँदै आएको छ। एउटा चार्जिङ स्टेसनमा २ देखि ३ वटा पोइन्ट हुन्छ। यसरी हेर्दा १४० वटा चार्जिङ स्टेसनमा बढीमा २ सय वटा पोइन्ट पनि छैन। अहिलेसम्म नेपालमा चार्ज पोइन्टको अवधारणा आइसकेको छैन। आधिकारिक रूपमा चार्जिङ आपरेटर को हो र कस्तो हुनुपर्छ, पेमेन्ट गेटवे कस्तो हुने र स्ट्यान्डबाइ कसरी रहने भन्ने अवधारणा अहिलेसम्म आएको छैन। कसरी व्यवस्थापन गर्ने भन्ने टुंगो पनि छैन।
बिवाइडीको आधिकारिक विक्रेता साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले खुल्ला बजार अर्थतन्त्र भएको मुलुकमा सबैले व्यापार व्यवसाय गर्ने बाटो खुल्ला रहेकै कारण प्रतिस्पर्धात्मक रूपमा ईभी गाडीहरू भित्रिएको बताउँछन् पछिल्लो समय एसियाकै सबैभन्दा बढी विद्युतीय सवारी साधन भित्रिने मुलुकको उच्च सूचीमा नेपाल परिरहेको बताउँदै गाडी आयातमा निश्चित मापदण्ड बनाउन आवश्यक रहेको उनको भनाइ छ।
नेपाल, भारत र चीन जस्ता दुई ठूला मुलुकहरूको बीचमा स्थित छ, जसले गर्दा आयातित अधिकांश वस्तुमा यी दुई देशहरूको दबदबा हुन्छ। विद्युतीय सवारीसाधनमा पनि भारत र चीनले नेपालमा आफ्नो वर्चस्व कायम गरेका छन्। तुलनात्मक रूपमा नेपाली अटो बजार सानो छ र विकासोन्मुख मुलुक भएकाले गाडी प्रयोगकर्ताको संख्या कम छ।
दिगो ग्रुप अफ कम्पनीका अध्यक्ष राजन रायमाझीले विद्युतीय गाडीको संख्या बढ्नु सकारात्मक भए पनि व्यवस्थापनको विषयमा सरकार गम्भीर नभएको बताए। सरकारले विद्युतीय गाडीमा भन्सार शुल्क घटाएको कारण धेरै विद्युतीय गाडी आएको बताउँदै त्यसको प्रत्यक्ष प्रभाव अर्थात् फाइदा आम सर्वसाधारणसम्म पुग्न भने नसकेको उनले बताए।
अध्यक्ष रायमाझीले भने, ‘अहिले आएका अधिकांश विद्युतीय गाडी निजी प्रयोजनका लागि छन्। सीमित पूर्वाधारमा यति धेरै विद्युतीय गाडी भित्रिए पनि सर्वसाधारणको पहुँच बाहिर रहेकोले सहुलियतको सदुपयोग सार्वजनिक यातायातले लिन सकेको छैन।’
निजी सवारी साधनले काठमाडौं उपत्यकामा यात्रा गर्दा दैनिक ३ लिटर इन्धन खर्च गर्दा सार्वजनिक यातायातले ३० लिटरभन्दा बढी गर्छ। यसरी हेर्दा इन्धनको खर्च घटाउन र वातावरण सफा राख्न मुख्य जोड सार्वजनिक यातायातमा गर्नुपर्ने भए पनि अहिले उल्टो निजी गाडीले बढी प्राथमिकता पाइरहेको छ। ‘सरकारले दिएको सहुलियत अहिले निजी गाडीले बढी उपभोग गरिरहेको छ,’ अध्यक्ष रायमाझीले भने,‘निजी गाडीको संख्या बढेर खास प्रभाव केही भएको छैन, सरकारले नियन्त्रणको केही नीति ल्याउन आवश्यक छ, नत्र विद्युतीय गाडीको डम्पिङ साइट नहोला भन्न सकिँदैन।’
सानो बजारमा पनि विद्युतीय सवारीसाधनले पाएको प्रवेश केही असामान्य देखिन्छ। नेपालमा छिमेकी मुलुक भारत र चीनसहित अमेरिका, बेलायत, कोरिया, जर्मनी, फ्रान्स, जापान लगायतका करिब दर्जन मुलुकका ३१ बढी विद्युतीय ब्रान्ड बिक्री वितरण भइरहेका छन्। बजारमा प्रतिस्पर्धाको वातावरण सिर्जना हुनु एक हिसाबमा सकारात्मक विषय हो।
विश्वभरका मुलुकका अटो ब्रान्डले आफ्नो बिक्री वितरणको थलो बनाइरहँदा नेपाल ईभीको ‘डम्पिङ साइट’ बन्ने हो कि भन्ने विषय पनि चर्चा हुनु सामान्य हो। विद्युतीय सवारीसाधनमा प्रयोग हुने ब्याट्री डिस्पोजलको विषय विश्वका लागि चुनौती बनिरहेको छ। ब्याट्री डिस्पोजलको लागि विभिन्न अध्ययन, अनुसन्धान र प्रयासहरू भए पनि कुनै मुलुक सफल भएको छैन। यसर्थ, नेपालका लागि भविष्यमा यो चुनौतीको विषय बन्न सक्दछ।
बजारमा उपलब्ध अधिकांश ब्रान्ड बजार अध्ययन नगरी सवारीसाधन ल्याउन हतारिँदा चल्न नसकेर बन्द भएका छन्। बजारमा नाम चलेका र बिक्री वितरण भइरहेका ब्रान्डको संख्या औंलामा गणना गर्न सकिने छ।
अर्कोतर्फ, विभिन्न विद्युतीय ब्रान्डमा समस्या आएको, गाडी फिर्ता गरिएको लगायतका गुणस्तरको प्रश्न पनि समय–समयमा उठिरहेका छन्। विद्युतीय ब्रान्डबीच सवारीसाधन बिक्रीमा अस्वस्थ प्रतिस्पर्धा हुने गरेको, विभिन्न मुलुकले आफ्नो ब्रान्ड परीक्षण स्थलको रूपमा नेपाललाई प्रयोग गरेको विषय पनि आउने गर्दछन्। नेपालमा आयात हुने विद्युतीय ब्रान्डको गुणस्तर परीक्षण, व्यवस्थापनको कार्य हालसम्म गरिँदै छैन।
प्रिमियम ब्रान्ड जिकर र ओमोडा गाडी विक्री गर्दै आएको शारदा ग्रुप अन्तर्गतको पायोनियर मोटोकर्पका निर्देशक गौरभ शारदाले खुल्ला बजार नीतिमा कुनै ब्रान्डलाई रोक्नेभन्दा उपभोक्ता आफैँ सचेत हुने बेला आएको बताए। उपभोक्ताले सस्तो र प्रचारको पछि नलागी उत्पादनकर्ता कम्पनी र बिक्री कम्पनीको इतिहास हेरेर मात्र खरिद गरे समस्या नहुने उनको भनाइ छ।
अहिले केही गाडीको चार्जिङ स्टेसन र सर्भिस सेन्टर समेत छैन। तर, विभिन्न मुलुकबाट सस्तो गाडी भन्दै ल्याउने र विक्री गरेर उपभोक्तामा नकारात्मक भावना जगाउन धेरै कम्पनीहरू लागिरहेको बेला सरकारले यस्ता विषयमा कुनै चासो देखाएको पाइँदैन। ‘सरकारले नेपाल भित्रिने विद्युतीय गाडीको कुनै स्ट्यान्डर्ड वा मापदण्ड नतोकिरहेको बेलामा बजारमा जस्तो किसिमको पनि गाडी आउने भएकोले उपभोक्ताले नै सचेत भएर अगाडि बढ्नुपर्छ,’ निर्देशक सारडाले भने।
धेरै मुलुकबाट धेरै ब्रान्ड आयात हुँदा ग्राहकलाई रोजाइमा कठिनाइ हुने गर्दछ भने केही ब्रान्डको न्यून गुणस्तरले नेपाली ईभी बजारलाई ध्वस्त पार्नसक्ने सम्भावना पनि छ। न्यून गुणस्तरका सवारीसाधन नेपालीमाथि थोपरेर उम्कने प्रयास पनि कतिपय कम्पनीहरूले गर्न सक्छन्। त्यसैले गुणस्तर जाँच, मापदण्ड निर्धारण लगायतका काममा राज्यले कदम अगाडि बढाउन आवश्यक छ।
दिपाल गाडी आयात गर्दै आएको चांगन मोटर्स एवं एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारीयाले जसले राम्रो गर्न सक्छ त्यो ब्रान्ड टिक्नका लागि कुनै समस्या नहुने भएकोले उपभोक्ता यसमा सचेत हुने बेला आएको बत्ताउँछन्। ‘अहिले प्रतिस्पर्धात्मक रूपमा ब्रान्ड ल्याउने होड चलिरहेको छ, यसले उपभोक्तालाई सस्तो र छान्ने मौका मिलेको छ,’ प्रबन्ध निर्देशक सिकारीयाले भने, ‘तर, सचेत भएर खरिद गरिएन भन्ने पछि धोका पाउने स्थिति आउन सक्छ, यसमा होस पुर्याउनुपर्छ।’
...
सन् २००८ मा रेभा विद्युतीय सवारीसाधन भित्रिएपछि नेपालमा चार पाङ्ग्रे विद्युतीय सवारीसाधनको प्रवेश भएको थियो। नेपाली बजारमा भित्रिएको पहिलो इलेक्ट्रिक कार भए पनि रेभाले खासै व्यवसाय गर्न सकेन, अझ भनौं, एक हिसाबमा नेपाली बजार त्यो समयमा विद्युतीय सवारीसाधनका लागि तयार भइसकेको थिएन। रेभापछि अर्थात् नेपालमा विद्युतीय सवारीसाधन भित्रिन सुरु भएको करिब १६ वर्षमा दर्जन मुलुकबाट ३१ भन्दा बढी ईभी ब्रान्ड भित्रिएपछि नेपाली बजार ईभीमय भएको मात्र संकेत गरेको छैन। यो नेपालका लागि एउटा चुनौतीको विषय पनि बनेको छ।
मोबाइल फोनकै अवस्था पुग्ने डर विद्युतीय गाडीमा
कुनै एक समय थियो नेपाली बजारमा स्मार्टफोनको बिगबिगी। हरेक दिनजस्तो नयाँ/नयाँ ब्रान्डको मोबाइल सार्वजनिक हुने र विभिन्न अफर देखाउँदै ग्राहकलाई आकर्षण गराउने। बजारमा छ्यापछ्याप्ती विभिन्न ब्रान्डहरू आएपछि दीर्घकालीन रूपमा ती मोबाइल ब्रान्डहरू टिक्न सकेनन् अहिले निश्चित ब्रान्डहरू मात्र टिक्न सफल भएका छन्। नेपाल भित्रिएका स्मार्टफोनमा ८० प्रतिशत बढी चिनियाँ ब्रान्ड थिए। स्मार्टफोनको बजार देखेर गोल्छा ग्रुप, ज्योति ग्रुप, लक्की ग्रुपलगयातले नेपालमा नै आफ्नै ब्राण्डमा स्मार्टफोन सार्वजनिक गरेका थिए। बजार सकिएसँगै ती ब्रान्ड पनि सकिए।
बाढी जस्तै ओइरिएको ईभी स्कुटर टिक्नै सकेन
केही वर्ष अघिसम्म साउने बाढी जस्तै ओइरिएको ईभी स्कुटर अधिकांश बजारमा टिक्नै सकेन। हालसम्म ४७ वटा ब्रान्ड नेपालमा दर्ता भएर बिक्री वितरण भए पनि अहिले औलामा गन्न सक्ने ब्रान्ड मात्र टिकिरहेको देखिन्छ।
बजारमा उपलब्ध अधिकांश ब्रान्ड बजार अध्ययन नगरी सवारीसाधन ल्याउन हतारिँदा चल्न नसकेर बन्द भएका छन्। बजारमा नाम चलेका र बिक्री वितरण भइरहेका ब्रान्डको संख्या औंलामा गणना गर्न सकिने छ। धेरै ब्रान्डहरू भने बन्द भइसकेका छन्। यो अवस्थाले अधिकांश ब्रान्डहरू प्रयोगकर्ताको रुचि, नेपाली बजार र दीर्घकालीन सोचलाई अध्ययन नगरी नेपाल प्रवेश गरेको देखिन्छ।
कतै अबको केही वर्षपछि विद्युतीय गाडीको हालत पनि स्कुटर जस्तै हुने त हैन भन्ने प्रश्न अहिले उब्जिन थालेको छ।
ब्याट्री व्यवस्थापनमा सरकारको उदासीनता
विद्युतीय गाडीहरू धमाधम भित्रिरहेको बेला ब्याट्री व्यवस्थापनमा सरकारले अहिलेसम्म आधिकारिक धारणा बनाएको छैन। विद्युतीय गाडीमा प्रयोग हुँदै आएको ब्याट्रीको वारेन्टी सामान्यतया ८ वर्षलाई दिँदै आएको छ। ८ वर्षपछि त्यो ब्याट्रीको व्यवस्थापन कसरी गर्ने र कहाँ गर्ने भन्ने निर्णय अहिलेसम्म सरकारले नगरेको साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको भनाइ छ। सम्बन्धित कम्पनीले नै ब्याट्री व्यवस्थापन गर्ने भनेमा, त्यसलाई पुनः विदेश पठाउँदा भन्सारले रोक्छ वा रोक्दैन र ब्याट्रीलाई भार नपर्ने गरी बिमामा कस्तो किसिमको पोलिसी ल्याउने भन्ने विषयमा बिमा समितिले निर्णय गर्नुपर्ने उनको भनाइ छ।
नेपालमा यस्तो छ ईभी ब्रान्डको लहर
नेपालमा सबैभन्दा धेरै चीनबाट विद्युतीय गाडी आयात हुने गरेको छ। चीनबाट मात्र अहिलेसम्म नेपालमा बिवाइडी, सेरेस, ओमोडा, काई एक्स–३ प्रो, स्काइवेल, वुलिङ, ओरा, निटा, नामी, अवतार, चांगन डिपल, जीएसी एवोन वाइ, जिकर, जेको, एमजीलगायत करिब १५ ईभी ब्रान्डको कार बिक्री वितरण भइरहेको छ। नेपाली बजारमा थप ७ नयाँ चिनियाँ ब्रान्ड भित्राउने तयारी पनि भइरहेको छ। त्यस्तै केही ब्रान्डले चार्जिङ स्टेसन र सर्भिस सेन्टरजस्ता पूर्वाधारमा लगानी गरेका छन्। तर, सबै ब्रान्ड यो दिशामा अगाडि बढेका छैनन्। व्यवस्थापनका विषयमा थुप्रै ब्रान्डको ध्यान पुग्न नसकेको गुनासो प्रयोगकर्ताबाट बेलाबेला आउने गरेको छ।
त्यसैगरि चिनियाँ ब्रान्डपछि नेपालमा सबैभन्दा धेरै भारतीय ब्रान्डका मोडलहरू आयात तथा बिक्री वितरण भइरहेको छ। हाल नेपालमा टाटाको तीन वटा विद्युतीय गाडी उपलब्ध छन्। भारतीय सवारीसाधन ब्रान्ड महिन्द्राले इलेक्ट्रिक एसयूभी–५०० उपलब्ध गराएको छ।
नेपालमा फ्रान्सेली ब्रान्डको पनि उपस्थिति रहेको छ। पछिल्लो समय विश्वमा नै आफ्नो ब्रान्ड फैलाउँदै लगेको फ्रान्सेली ब्रान्डले नेपाली बजारमा पनि उपस्थिति बलियो बनाउँदै लगेको छ। नेपालमा फ्रान्सेली ब्रान्ड सिट्रोनका तीन विद्युतीय गाडीहरू उपलब्ध छन्।
त्यसैगरि नेपालमा जर्मनीका तीन विद्युतीय ब्रान्ड उपलब्ध छन्। हाल बीएमडब्लू, भक्सवागन, औडी ब्रान्डका गाडीहरू नेपालमा पाउन सकिन्छ। यी ब्रान्ड पनि नेपालमा लोकप्रिय ब्रान्ड मध्यमा पर्ने गरेका छन्।
त्यसैगरि नेपालमा जापानी विद्युतीय ब्रान्ड निसानको लिफ बिक्री वितरण हुँदै आएको छ। यो नेपालमा विक्री वितरण भइरहेको एक मात्र विद्युतीय ब्रान्ड हो। नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले निसानको विद्युतीय गाडी लिफ २०७८ असारदेखि ल्याएर बिक्री गरिरहेको छ।
अमेरिकी ब्रान्ड टेस्लाका पनि हाल नेपालमा तीन वटा विद्युतीय गाडीहरू उपलब्ध छन्। नेपालमा कोरियन दुई ब्रान्डका गाडीहरू उपलब्ध छन्। नेपालमा हुन्डाई र कियाका ईभी गाडी रहेका छन्।
यी हुन् कमर्सियल ईभी भ्यान एवं बस
टाटा सीभी, किङ लंग, फोटोन, डिएफएसके,फोर्स, एसआरएम, जिनबेई, गोल्डेन ड्रयागन, डोङफेन, हाइगर, भिडब्लु, हाइलङ, जेएसी, दिगो, जोएलङ, डेरी अटो, टिएनमा लगाएत २ दर्जन भ्यान एवं बस आइसकेको छ।
पछिल्लो चार वर्षमा ईभी आयातको स्थिति