काठमाडौं । लगातार दुई सकरात्मक सर्किट ब्रेक लाग्दै २७०८.५८ बिन्दुसम्म पुगेको बजार २६८१.५६ बिन्दुमा पुगेर रोकिएको छ। दुई सकरात्मक सर्किट ब्रेकपछि लगानीकर्ता सम्हालिएर सेयर कारोबारमा लाग्दा तेस्रो सर्किट ब्रेक लाग्न पाएन।
कारोबार बन्द हुँदा साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११३.४२ अंक अर्थात् ४.४१ प्रतिशतले बढेर २६८१.५६ बिन्दुमा रोकिएको हो।
अघिल्लो कारोबार दिन बिहीबार भने नेप्से ३२.०२ अंकले बढेर २५६८.१३ बिन्दुमा थियो। आइतबार कारोबार सुरु भएको १ मिनेटमै अर्थात् ११ बजेर १ मिनेटमा १०२.६८ अंक (४ प्रतिशत)ले बढेर नेप्सेमा पहिलो सर्किट ब्रेक लागेको थियो। पहिलो सर्किट ब्रेक लागेर २० मिनेटपछि खुलेको बजारमा पुनः कारोबार खुल्नसाथ १२९.०७ अंक अर्थात ५ प्रतिशतको वृद्धि हुँदै दोस्रो सर्किट ब्रेक लाग्यो। दोस्रो सर्किट ब्रेक लागेर ४० मिनेटपछि खुलेको बजार १२ बजेर २ मिनेटमा २७०८.५८ को बिन्दुसम्म पुगेको थियो।
दोस्रो सर्किट ब्रेकपछि सेयर किनबेचका लागि लगानीकर्ता सम्हालिएर प्रस्तुत भए। त्यसपछि तेस्रो सर्किट ब्रेक भने लाग्न सकेन। यसो त, आइतबार प्रि–ओपन सेसनमा नै नेप्से ३८.२७ अंक बढेर २६०६.४१ विन्दुमा पुगेको थियो। आइतबार नेप्सेमा कुल १५ अर्ब ६९ करोडको कारोबार भएको छ। अघिल्लो कारोबार दिन बिहीबार भने नेप्सेमा कुल १४ अर्ब बढीको कारोबार भएको थियो।
नेपाल राष्ट्र बैंकले शुक्रबार लचिलो मौद्रिक नीति प्रस्तुत गर्दा यसको सकरात्मक प्रभाव सेयर बजारमा परेको छ। बैंक तथा वित्तीय संस्थाको नीतिमा राष्ट्र बैंकले लचकता अपनाएपछि लगानीकर्ता लामो समयदेखि सुस्ताएको बैंकिङ समुहमा झुम्मिएका छन्। आइतबार १९ वाणिज्य बैंकमा सबैको सेयर मूल्य बढेको छ। सबै वाणिज्य बैंकको सेयर मूल्यमा ९ प्रतिशत बढीको वृद्धि हुँदा स्ट्यान्डर्ड चार्टड बैंकको सेयर मूल्य सबैभन्दा कम ८.३० प्रतिशतले बढेको छ।
आइतबार नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नेपाल एसबीआई बैंक, सानीमा बैंक, एनएमबी बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक, सिटिजन्स बैंक, प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक र नेपाल बैंकको सेयर मूल्यमा सकरात्क सर्किट लागेको छ। यस्तै, उपकार लघुवित्त वित्तीय संस्था र हाथवे इन्भेस्टमेन्ट नेपालको गरी कुल १२ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ।
एभरेस्ट बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, एआईसी एसिया बैंक, नबिल बैंक, हिमालयन बैंक, नेपाल इन्फ्राक्टचर बैंक, माछापुच्छे« बैंक, सिद्धार्थ बैंक र एसियन हाइड्रोपवार लिमिटेड गरी कुल १० कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि भएको छ। आज गणपती लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक अर्थात् ९.३५ प्रतिशतले घटेको छ।
आइतबार कारोबारमा आएकामध्ये १४८ कम्पनीको सेयर मूल्य बढ्दा ८७ कम्पनीको घटेको छ। यस्तै, ८ कम्पनीको सेयर मूल्य भने स्थिर छ। आइतबार नेप्सेका १३ समुह मध्येमा १२ समुहको सेयर मूल्य बढेको छ। जसमा बैंकिङ समुहमा ९.८९ प्रतिशत, लगानी समुहमा ५.७५ प्रतिशत, विकास बैंक समुहमा ४.८७ प्रतिशत र जीवन बिमा समुहको सेयर मुल्यमा ४.२४ प्रतिशतको वृद्धि भएको छ। लघुवित्त समुहमा भने ०.१८ प्रतिशतको गिरावट आएको छ।