काठमाडौं । सेयर बजारमा दोस्रो सकरात्मक सर्किट ब्रेक लागेको छ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पहिलो सर्किट ब्रेक लागेर कारोबार खुलेको एक मिनेटमै दोस्रो सर्किट ब्रेक लागेको हो।
यसअघि कारोबार खुलेको एक मिनेट अर्थात् ११ बजेर १ मिनेटमै १०२.६८ अंक अर्थात् ४ प्रतिशतले बढेर नेप्सेमा पहिलो सर्किट ब्रेक लागेको थियो।
पहिलो सर्किट लागेर २० मिनेटका लागि कारोबार बन्द भएको नेप्से पुनः खुल्नसाथ ५ प्रतिशतले बढेर दोस्रो सर्किट ब्रेक लागेको हो। अघिल्लो कारोबार दिन २५६८.१३ को बिन्दुमा रहेको नेप्से दोस्रो सर्किट ब्रेक लाग्दा १२९.०७ अंक अर्थात् ५ प्रतिशतले बढेर २६९७.२१ बिन्दुमा पुगेको छ। यससँगै ४० मिनेटका लागि कारोबार बन्द भएको छ।
कारोबार सुरु भएको पहिलो घण्टा अर्थात् ११ देखि १२ बजेको बीचमा ४ प्रतिशतले, दोस्रो घण्टा ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्ने व्यवस्था छ।
दोस्रो सर्किट ब्रेक लाग्दासम्म नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, एनएमबी बैंक, प्रभु बैंक र ग्लोबल आईएमई बैंकमा सकरात्मक सर्किट लागेको छ। यस्तै, हिमालयन बैंक, कृषि विकास बैंक, नबिल बैंक, लक्ष्मी सनराइज बैंक र प्राइम कमर्सियल बैंकको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ।
यस्तै, कुमारी बैंकको सेयर मूल्य ८.७५, स्ट्याडर्ड चार्टड बैंकको ८.६० र एनआईसी एसिया बैंकको सेयर मूल्य ८.५९ प्रतिशतले बढेको छ। समग्र बैंकिङ समुह भने ८.९६ प्रतिशते बढेको छ।
नेप्सेमा कारोबार आएका २२१ कम्पनीको सेयर मूल्य बढ्दा ११ कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै, १ कम्पनीको सेयर मूल्य भने स्थिर छ। दोस्रो सर्किट ब्रेक लाग्दासम्म कुल ५२ करोड ४९ लाख बढीको कारोबार भएको छ।