काठमाडौं । ‘मिस युनिभर्स नेपाल २०२४’को लागि यही सोमबार अडिसन हुने भएको छ। प्रिलिमिनरी राउन्डबाट छनौट भएका ६० जनामध्य ३५ जनाको अडिसनमार्फत हिल्टन काठमाडौंमा छनोट हुने आयोजकले जनाएको छ।
अडिसनको जज प्यानलमा गायिका इन्दिरा जोशी, मिस युनिभर्स नेपाल २०२२ सोफिया भुजेल र कोरियोग्राफर दिक्पाल कार्की रहेका छन्। त्यस्तै आयोजक ग्लोबल ग्ल्यामर भेन्चरका म्यानेजिङ डिरेक्टर आलोक छेत्री, सीईओ एवं प्रेसिडेन्ट सबी पुरी र मिस युनिभर्स नेपालको नेसनल डिरेक्टर संगीता पुरीले जजको रुपमा अडिसन लिने भएका छन्।
कार्यक्रममा अन्तर्राष्ट्रिय इमेज कन्सल्ट्यान्ट एवं पेजेन्ट कोच एलेक्जेन्डर गोन्जालेज र पेजन्ट एनलिस्ट लुइस पोर्तेलिसले भने भर्चुअल माध्यमबाट सहभागीता जनाउने छन्।
अडिसनमा छनोट हुने ३५ प्रतिस्पर्धीले फिनालेको लागि प्रशिक्षण तयारीमा भाग लिनेछन्। उनीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रशिक्षकबाट व्यक्तित्व विकास, वाककला, पब्लिक स्पिकिङ, आर्थिक व्यवस्थापनलगायत जीवनोपयोगी सिप सिकाइने आयोजकले जनाएको छ।
यसपालीको मिस युनिभर्स नेपाल २०२४ मा ट्रान्सजेन्डर, विवाहित, गैरनेपाली महिला र डाक्टर, इन्जिनियर, पाइलटलगायत विभिन्न पृष्ठभूमिका व्यक्तिको सहभागीता रहेको मिस युनिभर्स नेपालको नेसनल डिरेक्टर संगीता पुरीले दिइन्।
‘मिस युनिभर्स नेपाल २०२४’ को ग्रान्ड फिनाले आगामी सेप्टेम्बरको पहिलो हप्ता हुँदैछ। बिजेताले नोभेम्बरमा हुने मिस युनिभर्स २०२४ को लागि मेक्सिकोमा १०० देशसँग प्रतिस्पर्धा गर्नेछन्।