सिटिजन्स बैंकले ‘हाम्रा कर्णाली बचत खाता’ सञ्चालनमा ल्याएको छ। बैंकले कर्णाली प्रदेशका लागि ‘हाम्रो कर्णाली राम्रो कर्णाली’ नारासहित खाता योजना सुरु गरेको हो। खाताको न्यूनतम रकम १० हजार रुपैयाँ रहेको छ। यसमा कर्णाली प्रदेशका ग्राहकले वार्षिक लकर, ई–कम कार्ड र क्रेडिट कार्ड शुल्कमा ५० प्रतिशतसम्म छुट पाउँछन्। उक्त न्यूनतम बचतमा पनि ग्राहकले निक्षेप श्रेणीमा सबैभन्दा बढी प्रकाशित दरको ब्याजदर ५.१० प्रतिशतसम्म पाउने व्यवस्था छ। ग्राहकले निःशुल्क इन्टरनेट बैंकिङ, डेबिट कार्ड, मोबाइल बैंकिङ, चेक बुक, चेक स्टप पेमेन्ट सुविधा, डिम्याट, बैंकका शाखाबाट सर्भिस, खाता विवरण र ब्यालेन्स प्रमाणपत्रमा शुल्कजस्ता बैंकिङ सुविधा छन्। सिटिजन्स बैंकले विकट कर्णालीलाई वित्तीय पहुँचमा लैजान सञ्चालनमा ल्याएको ‘हाम्रा कर्णाली बचत खाता’को अवधारणा, यसबाट पुग्ने फाइदा र समग्र कर्णालीको बैंक तथा वित्तीय अवस्थामा केन्द्रित रहेर क्यापिटल नेपालका दिलु कार्कीले बैंकका डिपोजिट मार्केटिङ हेड पारसविक्रम थापालाई सोधेका ५ प्रश्नः
‘हाम्रा कर्णाली बचत खाता’ कस्तो योजना हो? अन्य सामान्य खाताभन्दा यसमा के फरक छ?
‘हाम्रा कर्णाली बचत खाता’ कर्णालीबासी र त्यहाँ बैंकले खोलेका शाखा लक्षित योजना हो। यसमा बचत र कर्णाली मुद्दती गरी दुई प्रकारको सुविधा दिइएको छ। अहिलेको बचतमा जुन ब्याजदर दिइएको हुन्छ, त्यसको अधिकतम ब्याजदर राखेका छौं। यसका लागि आवश्यक न्यूनतम रकम १० हजार रुपैयाँ छ। यसमा मोबाइल र इन्टरनेट बैंकिङ निःशुल्क छ। यो सुविधा कर्णालीका शाखामा मात्रै पाइन्छ। अन्यमा यो सुविधा छैन। हामीले कर्णालीलाई केन्द्रित गरेर यो योजना अगाडि सारेका हौं। अन्य शाखामा अधिकम ब्याजदर पाउन कम्तीमा १ लाख रुपैयाँ राख्नुपर्ने हुन्छ।
कर्णालीको आम्दानी र आर्थिक अवस्था सोहीअनुसारको रहेकाले कम रकम बचतमा राख्दा पनि अधिकतम ब्याजदर प्राप्त गर्ने अवस्था बनाएका हौं। डिजिटल र मोबाइल बैंकिङ वृद्धि होस् भनेर हामीले त्यसलाई निःशुल्क गरेका हौं। अहिले बचतमा ३.१ देखि ५.१ सम्म जान मिल्नेमा १० हजार बचत गरे बचतकर्ताले ५.१ प्रतिशतले ब्याज पाउँछन्। मुद्दतीमा पनि ०.१५ प्रतिशत बढी पाउने व्यवस्था छ।
यो योजनाबाट कति संख्याले लाभ लिने ठान्नुहुन्छ? बैंकलाई के फाइदा?
पछिल्लो दुई/तीन वर्षदेखि कर्णालीको बचत एकदमै कम भइरहेको छ। १० देखि १२ करोडभन्दा बढी छैन। २५ करोडसम्मको थप निक्षेप आओस् भन्ने योजना हो। कर्णाली बढी मात्रामा सरकारी पैसामा मात्रै निर्भर छ। सरकारी पैसा असार मसान्तमा मात्रै आउँछ। यो समयमा केही बढेजस्तो देखिए पनि वर्षभरि भने सकारात्मक हुँदैन। यो आर्थिक वर्षमा पनि हाम्रो करिब १८ करोड हाराहारी वृद्धि देखिन्छ। यो कर्णाली बचत योजनाले करिब २५ करोड निक्षेप पुर्याउने हाम्रो अनुमान छ। कर्णालीको जनसंख्या १६ लाख ८८ हजार रहेकामा हाम्रो करिब ८३ हजार बचतकर्ता छन्। कुल कर्णाली प्रदेशमा सबै बैंक तथा वित्तीय संस्थामा ६६ अर्बको डिपोजिट छ भने सिटिजन्स बैंकको मात्रै ४ अर्बको निक्षेप रहेको छ।
कर्णालीलाई नै यसरी प्राथमिकतामा राख्नुको कारण के हो?
पहिलादेखि हामीले कर्णालीमा राम्रो व्यवसाय गर्दै आएका छौं। कर्णालीमा शाखा पनि हामीले नै पहिला स्थापना गरेका थियौं। तर, प्रतिस्पर्धाले गर्दा हाम्रो बैंकको उपस्थिति कमजोर हुँदै गएजस्तो लाग्यो। विगत दुई वर्षदेखि धेरै बैंकहरूले कर्णालीमा शाखा खोलेका छन्। अन्य बैंकले शाखा बढाउँदै लग्दा हाम्रो हिस्सा कम भएको महसुस भयो। बैंक तथा वित्तीय क्षेत्रको समग्र उद्योगलाई हेर्ने हो भने २०७८ देखि नेपालमा नयाँ बैंकको शाखा खोल्ने औसत दर ७–८ प्रतिशत छ।
तर, कर्णाली प्रदेशको मात्र हेर्ने हो भने १४ प्रतिशतको छ। यसो हुँदा, हाम्रो व्यवसाय पनि बाँडिने भयो। कर्णालीमा मौसमी व्यवसायजस्तो देखिन्छ। अर्थात्, असार मसान्तमा कुनै एउटा प्रदेशमा ५ अर्बको बचत छ भने त्यसले बढाउँदै ७ अर्ब पुर्याउँछ। तर, कर्णालीमा असार मसान्तमा ४ अर्ब छ। अहिले ३ अर्ब ७० करोडको दरमा घटिसकेको छ। यो किसिमको अवस्था नियन्त्रण गर्ने प्रयास पनि हाम्रो हो। कर्णालीमा जाडो मौसममा व्यवसाय ठप्प हुन्छ। बचत पनि न्यून हुन्छ।
तपाईंहरूले ल्याएको अवधारणाबाट त्यहाँका नागरिकलाई बैंकसम्म ल्याएर बचत गराउन सफलता मिल्ने ग्यारेन्टी के छ?
नयाँ खाता योजनासँगै हामी कर्णालीमा वित्तीय साक्षरतालाई सँगै लिएर जाने तयारीमा छौं। त्यहाँका १–२ वटा शाखाबाट राम्रो प्रतिक्रिया आएको छ। हामीले नागरिकलाई साक्षरता दिँदा र बचत गर्न सिकाउँदा पक्कै पनि यो अवस्थामा सुधार हुनेछ। नयाँ योजनाका कारण मानिसले घरमा राख्ने पैसा बैंकसम्म ल्याउन थालिसकेका छन्। कर्णालीमा एकदमै प्रतिस्पर्धा छ। हाम्रो हाराहारीमा ब्याजदर दिने बैंक पनि छन्। तर, यो योजनामा हामीले अधिकतम ब्याजदर दिने हुँदा ग्राहक आकर्षित हुन थालेका छन्। फिक्स डिपोजिटतर्फ पनि हाम्रो अवस्था निकै राम्रो छ। कर्णाली प्रदेशमा हाल ११ शाखा छन्। साथै, ८२ हजार जनाले निक्षेप खाता खोलेका छन्।
सिटिजन्स बैंकले इन्टरनेट र मोबाइल बैंकिङमा पनि कर्णालीलाई प्राथमिकता दिएको रहेछ। त्यहाँको इन्टरनेट अवस्थाअनुसार कति सहज हुने देखिन्छ?
हामीले कर्णालीमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ राम्रो नहोला भन्ने सोच्छौं। तर, त्यहाँ यसको ठीक विपरीत छ। काठमाडौंमा जस्तै कर्णालीमा मोबाइल बैंकिङ प्रयोग राम्रो छ। कर्णालीमा ग्राहकलाई शिक्षित गर्न पनि सहज छ। काठमाडौं उपत्यकाका शाखाले टार्गेट मिट गर्न सकिरहेको हुँदैनन् तर कर्णालीमा भने राखिएको उद्देश्य पूरा भएको देखिन्छ। यद्यपि संख्याका हिसाबमा काठमाडौं बराबरी हुने कुरा भएन किनभने त्यहाँ जनसंख्यै कम छ। हामीले कर्णालीबासीलाई मोबाइल तथा इन्टरनेट बैंकिङ चलाउन सिकाउँदै पनि आएका छौं। त्यहाँ इन्टरनेटभन्दा पनि मोबाइ बैंकिङ अवस्था राम्रो छ।