पर्सा। प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालयमार्फत हुने आयात र निर्यात दुवैमा गिरावट आएको छ। गत आर्थिक वर्षमा विदेशी मुलुकबाट कम मात्रामा सामान नेपाल भित्रिँदा तथा नेपालबाट विदेशी मुलुकमा हुने निर्यातमा पनि कमी आउँदा समग्र यो नाका हुँदै हुने वैदेशिक व्यापार नै खुम्चिन पुगेको हो।
आव २०८०/८१ मा यो नाका हुँदै ६ खर्ब ९ अर्ब २८ करोड ११ लाख १४ हजार बराबरको वस्तु तथा सामान आयात भएको छ। जबकि आव २०७९/८० को तुलनामा गत आवमा मात्रै आयात १२.८५ प्रतिशतले घटेको छ।
आव २०७९/८० मा ६ खर्ब ९९ अर्ब १२ करोड ६ लाख ६९ हजार बराबरको वस्तु तथा सामान नेपाल आयात भएको थियो। विश्वका एक सय १२ मुलुकबाट नेपालमा विभिन्न खालका वस्तु तथा सामान आयात हुने गर्छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले गत आवमा समग्र मुलुकभरि आर्थिक शिथिलताको कारणले वैदेशिक व्यापार खुम्चिएको बताए।
कार्यालयका अनुसार गत आवमा आयात मात्रै होइन, वीरगञ्ज भन्सार कार्यालय हुँदै विदेशी मुलुकमा हुने निर्यातमा पनि गिरावट देखिएको छ। गत आवमा ३१ अर्ब ८५ करोड ७१ लाख २७ हजार मूल्य बराबरका नेपाली सामान विदेशी मुलुकमा निर्यात भएको छ।
जबकि अघिल्लो आव २०७९/८० मा यो नाका हुँदै ३७ अर्ब २३ करोड १८ लाख ७४ हजार मूल्य बराबरको वस्तु तथा सामान निर्यात भएको थियो। आघिल्लो आवको तुलनामा गत आवमा मात्रै १४ दशमलव ४४ प्रतिशतले निर्यातमा कमी आएको छ।
यो नाका हँुदै करिब ६० मुलुकमा विभिन्न नेपाली उत्पादन निर्यात हुने गर्छ। आव २०७९/८० को तुलनामा यो नाका हुँदै हुने वैदेशिक व्यापारमा १२ दशमलव ९३ प्रतिशत गिरावट आएको छ। आव २०८०÷८१ म यो नाका हुँदै छ खर्ब ४१ अर्ब १३ करोड ८२ लाख ४१ हजारको वैदेशिक व्यापार भएको थियो।
जबकि अघिल्लो आव २०७९/८० मा भने यो नाका हुँदै कुल वैदेशिक व्यापार सात खर्ब ३६ अर्ब ३५ करोड २५ लाख ४३ हजार रहेको छ। यो नाकाबाट हुने वैदेशिक व्यापारमध्ये आयातको हिस्सा ९५ प्रतिशत र निर्यातको हिस्सा पाँच प्रतिशत रहेको छ।–रासस