काठमाडौं। ज्योति विकास बैंकले १६औं वार्षिकोत्सव अवसरमा हाम्रो विकास प्रवर्द्धन कोषमार्फत तीन विभिन्न संस्थासँग संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमका लागि सम्झौता गरेको छ।
बैंकले शारीरिक रुपमा फरक क्षमताका बालबालिकालाई कृत्रिम हात वितरण गर्दै आएको ई–नेबल नेपालसँग सहकार्य सम्झौता गरेको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल तथा ई–नेबल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठले उक्त हस्ताक्षर गरे।
सम्झौतापछि बैंकले १६ बालबालिकालाई प्रिन्टेड कृत्रिम हात उपलब्ध गराउनेछ। बैंकले यसअघि पनि ई–नेबल नेपालसँगको सहकार्यमा १५ जना बालबालिकालाई यस्ता हात सहयोगस्वरुप उपलब्ध गराएको थियो। बैंकले राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्यमा न्यानो नानी परियोजना–५ लाई निरन्तरता दिने घोषणा गरेको छ।
हाइपोथर्मियाका कारण नवजात शिशुको जीवन जोखिममा पर्ने गरेको दृष्टान्तलाई मनन गर्दै जोखिम न्यूनीकरण गर्ने अतिसंवेदनशील १० जीवनरक्षक चिकित्सा उपकरण न्यानो नानी बेबी वार्मर मेसिन विभिन्न स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरमा जडान गर्न बैंकले सहयोग गर्नेछ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ढकाल तथा राष्ट्रिय आविष्कार केन्द्रका महाप्रबन्धक जय झाले सम्झौतामा हस्ताक्षर गरे। बैंकले हालसम्म देशका विभिन्न अस्पताल, स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टरमा ४५ बेवी वार्मर जडान गरिसकेको छ।
यस्तै, बैंकले स्वावलम्बन नेपाल संस्थासँगको सहकार्यमा संस्थामा अभिभावकविहीन बालबालिकाको अभिभावकत्व निर्वाह गर्ने, सिकाइ वातावरण अभिवृद्धि र समग्र शैक्षिक अनुभवमा गुणात्मक सुधार ल्याउने उद्देश्यका साथ डेस्क बेञ्च उपलब्ध गराउने भएको छ।