काठमाडौं। उद्योगी व्यवसायीमाझ चिरपरिचित नाम हो, पवन गोल्यान। गोल्यान ग्रुपमार्फत बैंक तथा वित्तीय, टेक्सटायल, जलविद्युत्, होटलमा लगानी विस्तार गर्दै आएका गोल्यान पछिल्लो समय कृषि क्षेत्रमा सक्रिय छन्।
छोरा अक्षयलाई कार्यकारी नेतृत्व दिएर पवन अहिले कृषि क्षेत्रमा लगानीका सम्भावना र क्षेत्र पहिचान गर्दै अगाडि बढिरहेका छन्। ६ वर्षअघिदेखि गोल्यान पूर्णकालीन रुपमा कृषि क्षेत्रमा क्रियाशील छन्।
आफ्ना लागि पुग्यो र अर्को पुस्ता अर्थात् अरुका लागि केही नयाँ गरौं भन्ने सोच राखेर कृषि क्षेत्रलाई व्यावसायिकीकरणमा जोड दिँदै अगाडि बढिरहेका गोल्यानले कृषि क्षेत्रलाई उचो बनाउने सपना पालेका छन्। सबैभन्दा पीडित/बेवास्ता गरिएको क्षेत्र कृषि र कृषक रहेकाले तिनको जीवनस्तर उकास्नलाई औधोगिकरणमा जोड दिने उद्देश्य राखेर यो क्षेत्रमा लागेको उनले बताए।
सामाजिक उत्तरदायित्वअन्तर्गतका काम कृषिमार्फत गर्ने मुख्य सोच राखेर लागे पनि अर्गानिक खेतीका लागि झापामा करिब १ हजार किसानसँग काम गर्दा उनले उत्पादन गर्नभन्दा बिक्री गर्न मुख्य समस्या रहेछ भन्ने बुझ्न पाए। किसानले उत्पादन गर्न सक्छन् र तरकारी खेती गरेकालाई जैविक खेती गरेर अगाडि बढाए पनि बजारमा उचित मूल्य नपाएको थाहा पाएपछि बिक्रीका लागि उद्योगसँग जोड्ने उद्देश्यसहित ‘माटो’ स्थापना गरे।
काम गर्दै जाँदा माटोका ब्रान्डमा स्टोर खोल्दै बिक्री अनि अनुसन्धानका लागि आफैंले खेती सुरु गरेको उनी सुनाउँछन्। तरकारी र खाद्यान्नले मात्र नपुग्ने भएपछि झापामा जग्गा खरिद गरी फलफूल र जडीबुटी लगाउन सुरु गरेका छन्।
कृषिमा कस्तो सम्भावना छ र के-के गर्न सकिन्छ भन्ने विषयमा जानकारी लिँदै जाँदा आशापुरी अर्गानिक फार्मसँग जोडिन पुगे। आशापुरी अर्गानिक नेपालको एकमात्र अन्तर्राष्ट्रिय मापदण्ड प्राप्त फार्म हो। ‘आशापुरीका सञ्चालक प्रेम लामासँग अर्गानिक तरकारी र फलफूल कसरी उत्पादन र निर्यात गर्न सकिन्छ भन्ने २२ वर्षदेखिको ज्ञान भएको र मसँग व्यापारलाई कसरी ठूलो बनाउन सकिन्छ भन्ने ज्ञान भएकाले दुवैलाई समेटेर कृषि व्यवसायलाई ठूलो रुपमा रुपान्तरणका लागि जनता एग्रो प्रालि स्थापना गरेका हौं’,उनले भने।
जनता एग्रो एन्ड फरेस्ट्रीज् लिमिटेडलाई कृषि कम्पनीको मोडलको रुपमा अगाडि बढाएर देशभरका किसानलाई एकजुट बनाउन अहिले लागेका छन्। कम्पनीले अहिले मुलुकभर कुन ठाउँमा के–के उत्पादन हुन्छ भन्ने अध्ययन गरेर किसानको आयआर्जन बढाउने उपायबारे फोकस भएर काम गरिरहेको उनले बताए।
‘तराईमा एक बिघा जग्गामा सरदर वर्षमा ५० हजारभन्दा बढी जोगाउन सक्दैन। यसको मतलव १० कठ्ठामा २५ हजार कमाउनसमेत मुस्किल हुन्छ। त्यतिका लागि मान्छे गाउँमा बस्दैन र विदेश जाने क्रम बढेको छ,’ गोल्यानले भने, ‘अब यसलाई एक वर्षमा ३ लाख र पाँच वर्षमा ५ लाख आम्दानी हुने वातावरण बनाउन अहिले अध्ययन गरेर मोडल बनाइसकेका छौं।’
अहिले जनता एग्रो एन्ड फरेस्ट्रीज्ले झापाको कन्काई नगरपालिकासँग सम्झौतासमेत गरिसकेको छ। ६ महिनामा २ लाख र बाँकी ६ महिनामा ५० हजार आम्दानी हुने गरी खेतीको क्यालेन्डर नै निर्माण गरिसेकका छन्। जैविक विषादीसमेत कम मात्र प्रयोग गर्ने गरी क्यालेन्डर तयार भएको छ। अब जनता एग्रो एन्ड फरेस्ट्रीज्ले मात्र धान्न नसक्ने भएपछि देशभरिका स्थानीय सरकारले समेत कृषिलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बेला आइसकेको छ।
कृषिमा नेपालमै राम्रो सम्भावना छ भन्ने सन्देश जनता एग्रोलाई उदाहरणको रुपमा प्रस्तुत गरी धेरैभन्दा धेरै किसानलाई आबद्ध गराउन लागिएको उनले बताए। सरकारले दिने अनुदान अब कषिजन्य बस्नुको प्रशोधनका लागि विनियोजन गरे धेरै किसान लाभान्वित हुने उनी बताउँछन्।...
उमेरले ६६ वर्ष पुगेका गोल्यान विगत ६ वर्षदेखि कृषि कर्ममा लागेका छन्। काठमाडौंमा होस्र या उपत्यकाबाहिर। जहाँ गए पनि उनी कृषिकै विषयमा कुरा गर्छन्। अहिले उनको अधिकांश बसाइँ काठमाडौं बाहिर र विदेशमा हुने कृषिसम्बन्धी सेमिनार तथा गोष्टीमै बित्ने गरेकाे छ।
‘६ महिना काठमाडौं र ६ महिना काठमाडौं बाहिरै हुने गरेको छ,’ व्यवसायी गोल्यानले भने, ‘बिहानदेखि बेलुकासम्म कृषिकै कुरा र कृषिकै काममा लागिरहेको हुन्छु।’
...
अहिले नेपालमा वार्षिक १२ अर्बभन्दा बढीको तरकारी र फलफूल आयात भइरहेको छ, जसमा विषादीको मात्र पनि अत्यधिक छ। ‘हामी पैसा तिरेर विष खान बाध्य छौं,’ उनले भने। तीनदेखि पाँच वर्षभित्र विषादीरहित तरकारी उत्पादन गरेर आयात निरुत्साहित गर्ने गरी व्यावसायिक रुपमा कृषिमा अगाडि बढेको उनले बताए। कृषिमा पहिलो सर्त नै विषादीरहित उत्पादन रहेको उनको भनाइ छ । ‘हामीले वर्षमा पाँच वटा खेती गर्ने गरेर काम थालेका छौं। धानको मात्र वर्षमा दुई पटक खेती हुन्छ,‘ उनले भने।
किसानलाई आबद्ध गरेर सामाजिक उत्तरदायित्वमा कृषिमा लागेका गोल्यान व्यावसायिक रुपमा कृषिलाई अँगालिसकेका छन्। किसानसँगको सामिप्य र उनीहरुलाई सहयोग पुर्याउन थालेपछि यसलाई अझ व्यावसायिक बनाउनुपर्छ भनेर अगाडि बढेको सुनाउँछन्।
तत्काल व्यावसायिक कृषिका लागि उनले आफूले छुट्टै २ सय बिघामा खेती गर्ने याेजना बनाइसकेका छन। १६० बिघा जग्गा खरिद गरेर काम थालेका गोल्यान किसानलाई बिचौलियाबाट टाढा राख्न ‘फार्म टू टेबल’ अवधारणामा जाँदै छन्। ‘भविष्यमा १ हजार बिघामा कृषि क्षेत्रमा काम गर्ने मेरो योजना छ,’ उनले भने।
सहभागितामा आधारित स्थानीय किसानको उत्पादन या आफ्नै फार्मको उत्पादन नै किन नहोस्। उनी आफ्नै बिक्री च्यानलबाट देशभर पुर्याउन लागिपरेका छन्। ‘हामीले उत्पादन गरेको कृषि उपजलाई ब्रान्ड दिएर देशभर पुर्याउन चाहन्छौं, अहिले ठ्याक्कै यही विषयमा काम भइरहेको छ,’ उनले भने। किसानलाई बिचौलिया ठगिरहँदा आफ्नो उपजको उचित मूल्य नपाउने अवस्था हटाउन जरुरी रहेको उनी ठान्छन्।
गाउँलेहरुले तरकारी खेती र आफूले गर्ने फार्ममा फलफूल लगाउने गोल्यान बताउँछन। तरकारी खेती ४० दिनदेखि ९० दिनमा हुन्छ। तर, फलफूल १ वर्षदेखि २ वर्षसम्म लाग्छ। त्यसैले किसानले धेरै धैर्य गर्न नसक्ने भएकाले आफू व्यावसायिक खेतीमा लागेको उनको भनाइ छ।
‘कृषिमा अरु व्यवसायमा जस्तो चेक काटेर मात्र पुग्दैन, फिल्डमै जानुपर्छ,’ कृषिमा रस पसिसकेका गोल्यानले भने, ‘म महिनाको चार-पाँच दिन कृषि फार्ममा नै गएर बस्छु।’
कृषिमा आफू राम्रोसँग लागेपछि अरु उद्योगीलाई पनि प्रेरित गर्ने उनले बताए। ‘यसमा देशका ठूला उद्योगी व्यापारीको सहभागिता भयो भने आयात स्वतः घट्छ, त्यसपछि हामीले निर्यातमा जोड गर्ने हो,’ उनले आफ्नो योजना सुनाए।