क्यापिटल नेपालले मुख्य आर्थिक समाचारलाई प्राथमिकता दिएर सुरु गरेको साताभरका प्रमुख आर्थिक खबर नामक स्तम्भ। यस्ता छन्, संक्षेपमा साताभरका मुख्य–मुख्य आर्थिक समाचारः
सरकारले राष्ट्रिय योजना आयोग उपाध्यक्षमा शिवराज अधिकारीलाई नियुक्त गरेको छ। साउन १० को मन्त्रिपरिषद् बैठकले त्रिवि अर्थशास्त्र विभागका पूर्वप्रमुखसमेत रहेका अधिकारीलाई आयोग उपाध्यक्ष नियुक्त गरेको हो। आयोगमा अधिकारीसँगै अरु ६ सदस्य पनि नियुक्त भएका छन्।
राजस्व अनुसन्धान विभागले राजस्व छली आरोपमा ७ जनाविरुद्ध साढे ३ करोड रुपैयाँ बढी बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ। विभागले साउन ९ मा गणेशदत्त बडु, दिनेश खरेल, भरतराज खरेललगायत एक बालकसहित ७ जनाविरुद्ध उच्च अदालत पाटनमा र काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराको लागि उडेको सौर्य एयरलाइन्सको ९एन–एएमई जहाज दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ। साउन ९ गते बिहान ११ः११ बजे पोखराका लागि उडेको जहाजमा सवार १९ मध्ये सकुशल उद्धार गरिएका चालक क्याप्टेन मनिषरत्न शाक्यको हाल उपचार भइरहेको छ। पोखरामा सी–चेकका लागि जाँदै गरेको जहाज दुर्घटनामा परेर धेरै जनशक्तिको मृत्यु भएपछि सौर्य एयरलाइन्सले हालका लागि उडान रोकेको छ।
नेपाल राष्ट्र बैंकले चालू वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ। गभर्नर महाप्रसाद अधिकारीले ११ साउनमा सार्वजनिक गरेको मौद्रिक नीतिमा बजेटले राखेको ६ प्रतिशत आर्थिक वृद्धिलाई सहयोग पुग्ने गरी १२.५ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखिएको छ। मौद्रिक नीतिमा निर्माण क्षेत्रलाई सहयोग, चालू वर्षमा ५ प्रतिशतमा मूल्य वृद्धिदर कायम राख्ने लक्ष्य निर्धारण गरिएको छ। मौद्रिक नीतिले सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोड रुपैयाँको सीमा खारेज गरेको छ।
नेपालको प्रशासनिक इतिहासमा पहिलो पटक महिला मुख्यसचिव बनेकी छन्। साउन १० को मन्त्रिपरिषद् बैठकले कामु मुख्यसचिव लीलादेवी गड्तौलालाई मुख्यसचिव बनाउने निर्णय गरेको हो। उनलाई असार ३१ मा निमित्त मुख्यसचिवबाट कामु मुख्यसचिवको जिम्मेवारी दिइएको थियो। २०५२ मा न्याय सेवाअन्तर्गत कानुन समूहबाट शाखा अधिकृत बनेकी गड्तौलाले ५८ वर्षे उमेर हदका कारण आगामी भदौ १५ बाट अनिवार्य अवकाश पाउनेछन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट दुई तिहाइ बढी सांसदको मत पाएका छन्। साउन ६ मा प्रतिनिधिभासभामा भएको मतदानमा प्रधानमन्त्रीलाई १८८ सांसदले विश्वासको मत दिएका हुन्। २७५ सदस्यीय सांसदको ६८.३६ प्रतिशत हो। प्रतिनिधिसभामा उपस्थित कुल २६३ सांसदमध्ये विपक्षीमा ६४ मत परेको थियो।
लगानी बोर्डले आर्थिक वर्ष २०८०/८१ मा ९ वटा परियोजनाका लागि २ खर्ब ७१ अर्ब लगानी स्वीकृत गरेको छ। साउन १० मा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले प्रधानमन्त्री एवं लगानी बोर्ड अध्यक्ष केपी शर्मा ओलीसमक्ष आर्थिक वर्ष २०८०/८१ मा भएका कार्यसम्पादन प्रतिवेदनमा उक्त रकम बराबरको लगानी स्वीकृत भएको उल्लेख छ। गत वैशाखमा सम्पन्न तेस्रो लगानी सम्मेलनका बेला नेपालमा लगानीका सम्भाव्यताको उजागर गर्दै तयार गरिएका विभिन्न ९ वटा क्षेत्रका १५२ वटा परियोजना प्रस्तुत भएका थिए।
साताको सेयर बजारमा १४३.८१ अंकको वृद्धि भएको छ। यो साताको पाँच कारोबार दिनमा सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४३.८१ अंकले बढेर २५६८.१३ बिन्दुमा पुगेको हो। साउन ३ मा २४२४.३२ रहेको नेप्से यो साताको पाँच कारोबार दिनमा एक दिन घटेर चार दिन बढ्दा १४३.८१ अंकले वृद्धि भई अन्तिम कारोबार दिन बिहीबार २५६८.१३ बिन्दुमा पुगेको छ। यो साता नेप्सेमा कुल ७३ अर्ब ५ करोड रुपैयाँ बढीको कारोबार भएको छ। गत साता नेप्सेमा कुल ५२ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
नेपाल संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्(इकोसक)को एसिया–प्रशान्त क्षेत्रको उपाध्यक्ष निर्वाचित भएको छ। नेपाल साउन ९ मा राष्ट्रसंघका प्रमुख ६ अंगमध्येको एक निकाय इकोसकको उपाध्यक्षमा निर्वाचित भएको हो। ५४ सदस्यीय इकोसकमा नेपालको नेतृत्व संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले गर्नेछन्।
पाँचतारे होटल सांग्रिलाका संस्थापक अध्यक्ष श्यामबहादुर पाण्डेको निधन भएको छ। लामो समयदेखि स्मरणशक्तिलगायत रोगबाट पीडित ८७ वर्षीय पाण्डेको साउन ७ मा उपचारका क्रममा धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको हो। आतिथ्य क्षेत्रका पायनियर मानिने स्व. पाण्डेले २०३६ मा लाजिम्पाटमा स्थापना गरेको सांग्रिला नेपालका प्रमुख पाँचतारे होटलमध्येमा पर्छ। पाण्डेले सांग्रिलालाई काठमाडौंबाट पोखरा र भरतपुरसम्म विस्तार गरेका थिए।