काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरिसकेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले वर्तमान अवस्थामा सुस्त रहेको अर्थतन्त्र चलायमान बनाउने आधारशिला तयार भएको देखिन्छ।
राष्ट्र बैंकले अर्थतन्त्रको ऐना मानिने पुँजी बजारका आवश्यकतालाई सम्बोधन गर्दै सुस्त अर्थतन्त्र चलायमान बनाउने मौद्रिक नीति सार्वजनिक गरेको हो।
२०८१ असार १७ मा सेयर बजार सूचक नेपाल स्टक एक्चेन्ज (नेप्से)मा २ अर्ब ९२ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भयो। तत्कालीन गठबन्धन टुटेर नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउने र एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने सहमतिको कुरा बाहिरियो।
त्यससँगै अर्थमन्त्रालय एमालेको पोल्टामा पर्ने र विष्णुप्रसाद पौडेल अर्थमन्त्री बन्ने चर्चा चुलियो। त्यसयताको १८ दिनको सेयर कारोबारमा १५ दिन सकरात्मक प्रभाव देखियो भने ३ दिन मात्र सामान्य करेक्सन भयो।
नेप्से बढ्यो वा घट्यो भन्ने मात्र सवाल हैन, नेप्सेमा कसरी कारोबार भइरहेको छ भन्ने अवस्थाले मुलुकको अर्थतन्त्रको आधार कसरी बन्छ अथवा कसरी चलायमान हुन्छ भन्ने संकेत देखाएकाे छ। १७ गते करिब ३ अर्ब रुपैयाँ कारोबार भएको बजारमा निरन्तर वृद्धि हुँदै १६ अर्बसम्म कारोबार भयो। गत बुधबार १६ अर्ब १२ करोड र बिहीबार १४ अर्ब रुपैयाँको सेयर किनबेच भयो। त्यसअघि पनि निरन्तर सेयर खरिद बिक्रीको रकम उच्चनै थियो। यसले देखाउँछ, अर्थतन्त्र चलायमान हुने आधार।
असार १७ यताको २५ दिनमा देखिने गरी राजनीतिक स्थायित्वको दुहाइ दिने कांग्रेस र एमालेको प्रतिबद्धताबाहेक अरु कुनै नीतिगत सुधार भएको छैन। तर, लगानीकर्तामा एक प्रकारको सकारात्मक सोच पैदा भयो। साथै, मौद्रिक नीति सरलीकृत भएर आउँछ त्यसले लगानीका नयाँ आयाम खोल्छ, सेयर बजारको कारोबारलाई सहज बनाउँछ, घरजग्गा कारोबारलाई उत्साहित बनाउँछ, निर्माण क्षेत्रमा देखिएको समस्यालाई केही हदसम्म भए पनि सम्बोद्धन गर्छ, हायर पर्चेजका सवालमा पनि राष्ट्र बैंकले लिनुपर्ने नीतिमा केही सचेततान अपनाउँछ, बजारमा देखिएका यस्ता समस्यामा मौद्रिक नीतिले सम्बोद्धन गर्छ र लगानीकर्ता सकारात्मक बन्दा लगानी माहोल बन्छ भन्ने अपेक्षाले सेयर बजार उचालियो।
सेयर बजार मात्र उचालिएन, सेयर बजारमा हुने कारोबार ५ गुणाले वृद्धि भयो। सरसर्ती हेर्दा २५ दिनमा ३ अर्बबाट दैनिक १६ अर्ब रुपैयाँसम्म कोरोबार गर्ने आधार कसरी भयो? यही प्रश्नबाट अर्थतन्त्र चलायमान बन्ने आधार तय हुन्छ।
चालू मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाले असल कर्जामा गरेको कर्जा नोक्सानी व्यवस्था ०.१ प्रतिशत बिन्दुले घटाउँदा बैंकको नाफामा करिब ५ अर्बको हेराफेरी हुन्छ। त्यसले नाफा मात्र बढाउँदैन, लगानीकर्ताको मनोबल बढाँउछ। अझ निष्कृय कर्जा घटाउनसमेत सहयोग गर्ने हुँदा बैंक तथा वित्तीय संस्थालाई ऋण दिन थप सहज हुन्छ। अहिले अधिकांश वित्तीय संस्था अरु हिसाबले ऋण दिन तयार भए पनि निष्कृय कर्जाकै कारण ऋण दिन नसक्ने अवस्थामा छन्। यसले बजारमा ऋण जाने आधार तयार गरेको छ।
दोस्रो, राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको २० करोडको सीमा संस्थागत लगानीकर्ताका लागि हटाइदिएको छ। त्यसले विगतमा सेयर बजारमा कारोबार गर्न खुम्चिएका कम्पनीलाई अब थप ऋण लिएर लगानी गर्न बाटो खुलेको छ।
यसले बैंक तथा वित्तिय संस्थाबाट ऋण प्रवाहको आधार बढाउने छ। ऋण प्रवाह बढ्दा त्यसले घरपरिवारसम्म सकरात्मक प्रभाव पार्छ। जसरी सेयर बजार घट्दा प्रत्येकको चुलाचौकासम्म असर पारेको थियो, त्यसैगरी सेयर बजार बढ्दा घरभान्सामा उज्यालो छाउनेछ किनभने विगतमा आफ्नो पैसा घट्यो भनेर यथास्थितिमा बसेका साना लगानीकर्ताहलाई आफ्नो सेयर बिक्री गरेर अप्ठेरा टार्ने अवसर सिर्जना गरेको छ।
तेस्रो, मौद्रिक नीतिले ब्याजदर अझै घटाउने नीति अख्तियार गरेको छ। विगतको तुलनामा ०.५ प्रतिशत बिन्दुले बैंक दर र नीतिगत दर घटाएका कारण त्यसको प्रत्यक्ष असर ब्याजदरमा देखिनेछ। यसले निक्षेपको ब्याजदर घट्दा सर्वसाधारणमा केही प्रभाव परे पनि सँगै ऋणको ब्याजदर घट्नाले औधोगिक विस्तारमा सहयोग पुर्याउँछ।
औधोगिक विस्तार हुँदा त्यसले रोजगारी सिर्जना गर्दछ। रोजगारी हुनेबित्तिकै घरपरिवारको आम्दानीको श्रोत बढ्दछ। आम्दानी भएपछि खर्च गर्ने आधार तयार हुन्छ। घरपरिवारले खर्च गरिरहँदा त्यसको प्रत्यक्ष प्रभाव अर्थतन्त्रमा देखिन्छ। अर्थात,अर्थतन्त्र चलायमान हुन्छ।
राष्ट्र बैंकले सेयर धितो कर्जा, घरजग्गा कर्जा, हायर पर्चेज कर्जाजस्ता क्षेत्रमा अझै पुनरवलोकन गर्ने नीति लिएको छ। यस्ता नीतिले ती क्षेत्रमा जाने कर्जा विस्तारित हुँदा त्यसको सकारात्मक प्रभाव पनि अर्थतन्त्रमा देखिने नेपाल बैंकर्स संघ (एनबिए) का उपाध्यक्ष सन्तोष कोइराला बताउँछन्।
‘मौद्रिक नीति अपेक्षभन्दा माथि रहेर आएको छ, यसले बजारलाई चलायमान बनाउँछ,’ एनबिएका उपाध्यक्ष कोइरालाले क्यापिटल नेपालसँग भने, ‘बैंकहरुको पुँजीलाई समेत सहज गर्ने र कर्जा विस्तारलाई सहयोग गर्ने गरी मौद्रिक नीति आएको छ, अहिलेको अवस्थामा यो मौद्रिक नीति अर्थतन्त्रलाई सकारात्मक प्रभाव पार्नेछ।’
राष्ट्र बैंकले बैंकहरुको कर्जा क्षमतालाई सहयोग गर्ने गरी मौद्रिक नीति ल्याएको हुँदा कर्जा विस्तारमा राखिएको १२.५ प्रतिशतका लक्ष्यसमेत बैंकहरुले पूरा गर्न सक्ने उनको विश्वास छ।
त्यसैगरी चालू पुँजी कर्जा मार्गदशर्नको व्यवस्थालाई एक वर्ष बढाएर २०८२ साउन तोकेकाले चालू कर्जाबाट अप्ठेराेमा परेका निर्माण व्यवसायी, उद्योगी, व्यापारीलगायत सबै क्षेत्र थप चलायमान हुने आधार बन्छ। यसले एक वर्षसम्म पुरानै विधिअनुसार काम गर्ने वातावरण बन्दा लगानीका नयाँ ढोका खुल्नेछन्।
त्यस्तो लगानीले अर्थतन्त्रको नयाँ स्वरुप दिन मद्दत गर्दछ। राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिले लामो समययता निरास अवस्थामा रहेको निजी क्षेत्रमा समेत आशाको दियो बलेको नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष चन्द्र ढकाल बताउँछन्।
‘अहिले आएको मौद्रिक नीतिले सकारात्मक प्रभाव पार्ने निश्चित देखिएको छ,’ एफएनसीसीआईका अध्यक्ष ढकालले क्यापिटल नेपालसँग भने, ‘केही वर्षयता निरास अवस्थामा रहेको निजी क्षेत्रलाई मौद्रिक नीतिले आशाको दियो बालिदिएको छ, आशालाई यथार्थमा अब राष्ट्र बैंकले सकुर्लरमार्फत नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएर गर्नुपर्छ।’
मौद्रिक नीति कार्यान्यवनमा आएर निजी क्षेत्रलाई सकारात्मक रुपमा प्रभाव पर्दा समग्र अर्थतन्त्रको मुहार नै परिवर्तन हुन सक्ने उनको भनाइ छ।
यसैगरी मौद्रिक नीतिले उत्पादनमूलक क्षेत्रलाई जोड दिएको छ। उत्पादनमूलक क्षेत्र जहिले पनि ग्रामीण क्षेत्रसँग जोडिन्छ। औधोगिक कलकारखाना स्थापनादेखि रोजगारीका अवसर सृजना गर्ने आधारले ग्रामीण क्षेत्रमा आम्दानीका नयाँ स्वरुप पहिल्याउँछ। यसरी सहरदेखि गाउँसम्म नयाँ अर्थतन्त्रलाई चलायमान बनाउने नयाँ आधारशिला खडा गर्दछ।
त्यसै पनि नेपालको अर्थतन्त्रको बाह्य क्षेत्र मजबुत छ। त्यही जगमा टेकेर आयातलाई थप सहजीकरण गरिँदा व्यापारमा समेत उल्लेख्य सुधार भई सरकारको राजश्व लक्ष्य पछ्याउनसमेत मद्धत गर्ने छ। जसरी ३ अर्ब कारोबार हुँदा सरकारले पाउने राजश्व कम हुन्थ्यो तर १६ अर्ब कारोबार हुँदा त्यसबाट पाउने राजश्वको हिस्सा निश्चय पनि बढी हुन्छ। हरेक क्षेत्रमा यही रफ्तारमा कारोबार भएको खण्डमा अर्थतन्त्र चलायमान बन्छ।
त्यस्तै कृषि उपजको धितोमा ऋण दिने कार्यक्रम र समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघरको परिवारको सदस्यको नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा ५ लाखसम्मका बचतकर्ताको रकम फिर्ता दिन बैंक तथा वित्तिय संस्थाबाट ऋण दिने व्यवस्थाले हजारौं सहकारीका निक्षेपकर्ताको पैसा फिर्ता हुने हुँदा ग्रामीण क्षेत्रलाई समेत चलायमान बनाउँछ। विगतमा सहकारीको बचतकर्ताको ठूलो रकम सहकारीमा फस्दा हलचल नहुने अवस्थामा पुगेका बचतकर्तालाई यसले राहत दिनेछ। त्यसबाट समेत अर्थतन्त्रको आधार चलायमान बनाउन मद्दत गर्दछ।
राष्ट्र बैंकले लामो समयपछि अर्थतन्त्रलाई सकारात्मक दिशामा लैजाने गरी मौद्रिक नीति जारी गरेको नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का पूर्व अध्यक्ष रविभक्त श्रेष्ठ बताउँछन्।
‘मौद्रिक नीतिले भोलिका दिनमा अर्थतन्त्र चलायमान हुने विभिन्न आधार तयार गरेको देखिन्छ, अर्थतन्त्रको ऐना मानिने पुँजी बजारलाई चलायमान बनाउने गरि मौद्रिक नीतिको कार्यदिशा निर्धारण गरिएको छ,’ एफएनसीसीआईका पूर्वअध्यक्ष श्रेष्ठले क्यापिटल नेपालसँग भने, ‘नयाँ मौद्रिक नीतिले पुँजीबजारमार्फत समग्र अर्थतन्त्रलाई सकारात्मक बाटोमा डोहोर्याउन सहयोग गर्नुका साथै निजी क्षेत्रमा कर्जा विस्तारमा पनि सहयोग गर्ने देखिन्छ।’
राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति कार्यान्यवनमा आएपछि अर्थतन्त्र सकारात्मक बाटोतर्फमा जाने विस्वास उनको हो।