काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मुद्रास्फीति दर (मूल्यवृद्धि दर) ५ प्रतिशत सीमित गर्ने घोषणा गरेको छ। राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै मूल्यवृद्धिदर बजेटले घोषणा गरेको भन्दा कम रहने दाबी गरेका हुन्।
चालू वर्षको बजेट सार्वजनिक गर्दै तत्कालिन अर्थमन्त्री वर्षमान पुनले चालू वर्ष ५.५ प्रतिशत मूल्यवृद्धि हुने लक्ष्य राखेका थिए। तर, पुन सरकारबाट बाहिरिएर अर्थमन्त्री विष्णुप्रसाद पौडेल आएसँगै मूल्यवृद्धिदर घटाएर लक्ष्य तोकेका हुन्।
किन लक्ष्य घटाइएको भन्ने विषयमा मौद्रिक नीतिले केही नबोले पनि विस्तृत मुद्रा प्रदायक र कर्जा विस्तारलाई खासै नचलाएका कारण मूल्यवृद्धि कम हुने राष्ट्र बैंकले अनुमान गरेको हो।
भारतमा मूल्यवृद्धि तय गर्दा एउटा निश्चित अंकसँगै दुई प्रतिशत बिन्दु तलमाथि जोड्ने प्रचलन भए पनि नेपालमा भने यस्तो अभ्यास छैन। यद्यपि राष्ट्र बैंकले डेढ महिनाको अन्तरमा बजेटले लिएको लक्ष्य मौद्रिक नीतिमार्फत घटाएर तल्लो बिन्दुमा कायम गर्ने उद्घोष गरेको हो।
मौद्रिक नीतिले गत वर्ष १२.७ प्रतिशत रहेको विस्तृत मुद्राप्रदायलाई घटाएर १२ प्रतिशत तोकेको छ भने निजी क्षेत्रतर्फको कर्जा विस्तार ११.५ प्रतिशतको सट्टा १२.५ प्रतिशत तोकेको छ। यसले मुद्रा विस्तार कम हुँदा र कर्जा विस्तार बढे पनि उत्पादनमुलक क्षेत्रमा जाने कर्जाले उत्पादित वस्तुको मूल्यमा कमी ल्याउने हुँदा मूल्यवृद्धि नियन्त्रीत हुने विश्वास राष्ट्र बैंकको छ।
तथापि नेपालमा आयातमा निर्भर रहनुपर्ने हुँदा भारतीय बजारमा हुने मूल्यवृद्धिले नेपालको मूल्यवृद्धि तय हुने छ। राष्ट्र बैंकले मूल्यवृद्धिमा हुन सक्ने फेरवदललाई आफू अनुकुल बनाउन भारतीय मुद्रासँगको स्थिर विनियमदरलाई मौद्रिक नीतिको अंकुषको रुपमा लिएको छ।
गत वर्षको जेठसम्म मुलुकको उपभोक्ता मुद्रास्फ्रीति ४.१७ प्रतिशत छ। त्यसका आधारमा पनि राष्ट्र बैंकले उपभोक्ता मुद्रास्फ्रिति घट्ने अनुमान गर्दै लक्ष्य घटाएको हो।