काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेयर खरिद बिक्रीमा सरलीकरण प्रदान गर्ने भएको छ। केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा सेयर तथा डिबेञ्चर खरिदमा पोटफोलीयो वा पुँजीकोषको निश्चित प्रतिशत तोकेर खरिद बिक्रीलाई सहज बनाउने भएको हो।
शुक्रबार सार्वजनिक गर्न लागिएकाे माैद्रिक नीतिले उक्त व्यवस्था गर्न लागेकाे हाे।
२०७८ मा बैंक तथा वित्तीय संस्थाहरु आफ्नो क्षमताभन्दा बढी सेयर खरिद बिक्रीमा सक्रिय भएपछि राष्ट्र बैंकले बिक्री सीमा लगाम लगाएको थियो। जसले गर्दा वित्तीय संस्थाहरुले सेयर खरिद बिक्रीमा चासो दिएका थिएनन्।
यसअघि कुनै एक संगठित संस्थाको सेयर, डिबेञ्चर वा कुनै सामूहिक लगानी कोषमा लगानी गर्दा प्राथमिक पुँजीको १० प्रतिशतमा नबढ्ने गरी र सबै संगठित संस्थाको सेयर, डिबेञ्चर वा सामूहिक लगानी कोषमा बढीमा आफ्नो प्राथमिक पुँजीको ३० प्रतिशतमा नबढ्ने गरी लगानी गर्न सक्ने व्यवस्था थियो।
त्यसैगरी, संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा लगानी गर्दा लगानी हुने संस्थाको चुक्ता पुँजीको १० प्रतिशतसम्म मात्र लगानी गर्न सकिने व्यवस्था थियो।
यसरी लगानी गर्दा सीमाभन्दा बढी लगानी गरेको भएमा पुँजीकोष गणना गर्दा प्राथमिक पुँजीबाट घटाई पुँजीकोष कायम गर्नु पर्ने व्यवस्था गरेको थियो।
गत चैतमा गत बर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै प्राथमिक पुँजीको २० प्रतिशत सेयर बिक्री गर्न खुला गरेको थियो। त्यसले सेयर बजारलाई केही समय चलायमान बनाउन समेत भुमिका खेल्यो।
राष्ट्र बैंक स्रोतका अनुसार प्राथमिक पुँजी वा पोर्टफोलियोको न्युनतम सीमा तोकेर दैनिक कारोबारलाई सहज बनाउने छ। पुँजीकोषको १ प्रतिशत सीमामात्रै कारोबार गर्न पाउँने हो भने हरेक दिनमा झण्डै ६ अर्ब रुपैयाँ पुँजी बजारमा भित्रिनेछ। यसले सेयर कर्जाको सीमा र जोखिम भारमा कुनै परिवर्तन नगरेपनि सेयर बजारलाई चलायमान बनाउने छ।