काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ०७३ असोज १६ गते प्रदेश १,२ र ३ मा अप्टिकल व्याकबोन नेटबर्क (अप्टिकल फाइबर) विस्तार गर्ने जिम्मा टेलिकमलाई दियो ।
मध्यपहाडी लोकमार्गअन्तर्गत पूर्वी खण्ड पाँचथरको चियो भन्ज्याङदेखि धादिङको आरुघाटसम्म तथा राष्ट्रिय राजमार्ग र जिल्ला सदरमुकाम जोड्ने सडकमा अप्टिकल फाइबर बिछ्याई सबै सदरमुकाम, नगरपालिका तथा गाउँपालिकालाई सूचना महामार्गले जोड्न चार अर्ब रुपैयामा ग्रामीण दूरसञ्चार विकास कोषको उपयोग गरी प्राधिकरण र टेलिकम बीच ठेक्का सम्झौता भएको थियो ।
प्राधिकरणका अनुसार टेलिकमले पाएको सो फाइबर विस्तार सम्झौता भएको दुई बर्ष भित्र सम्पन्न गर्नुपर्ने शर्त थियो । सोहि अनुसार टेलिकमले टेन्डर प्रक्रिया समेत अघि बढायो । तर, सो टेन्डर प्रक्रिया फाइबर विस्तार कार्य सकिसक्नुपर्ने बेलासम्म पनि टेलिकमले अघि बढाएन ।
त्यतिवेला दूरसञ्चार प्राधिरणका अध्यक्ष दिगम्बर झा थिए भने टेलिकमका प्रवन्ध निर्देशक कामिनिराज भन्डारी थिइन् । टेलिकमको मात्र होइन झा अध्यक्ष हुँदा यूटिएल र स्मार्ट टेलिकमलाई दिइएको अप्टिकल फाइबर परियोजनाको प्रगति भएन ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ०७५ साउन २९ गतेकार्यसम्पादन गर्न नसकेको भन्दै तत्कालिन प्रवन्ध निर्देशक कामिनिराज भण्डारीलाई बर्खास्त गरेपछि ६ महिना टेलिकम नेतृत्व विहिन भयो । सो अवधिमा टेलिकमका कुनैपनि परियोजन अगाडी बढ्न सकेन ।
पुस २२ गते मन्त्रीपरिषद्ले प्रवन्ध निर्देशकमा डिल्लीराम अधिकारीलाई नियुक्ति दिएपछि उनले चीनियाँ कम्पनीलाई अप्टिकल फाइबर परियोजनको जिम्मा दिए । गत बैशाखमा प्रधानमन्त्री केपीशर्मा ओलीले धादिङ्को गल्छी पुगेर शिल्यान्स समेत गरे । प्राधिकरणका अनुसार दुई बर्षभित्र सक्नुपर्ने सो फाइबर परियोजना शिलान्यास भएदेखि हालसम्म १० प्रतिशत मात्र सकिएको छ ।
प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार हालसम्म टेलिकमले दुई सय किलोमिटरमात्र फाइबर विस्तार गरेको छ । उनले भने ‘सन्तोषजनक प्रगति देखिएको छैन, लक्ष्य अनुसार काम गर्न निर्देशन दिइरहेका छौं । अहिलेको प्रगतिले दुई बर्ष भित्र सो परियोजन सम्पन्न हुने छाटकाट छैन् ।’
टेलिकमले तीन प्रदेशमा कुल २१ सय किलोमिटर सडकमा अप्टिकल फाइबर बिच्छ्याउनु पर्नेछ । हाल भएको भौतिक प्रगतिलाई आधार मान्ने हो भने प्राधिकरणको लक्ष्य अनुसारको परियोजना सम्पन्न हुन समय लाग्ने देखिन्छ । तर, टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले प्रदेश एक देखि तीनसम्म टेलिकमको समय सिमा अनुसार नै काम भइरहेको बताए ।
उनका अनुसार डक्ट र फाइबर विदेशबाट आउँनु पर्ने भएकाले केहि ढिलाई भएको थियो अहिले काम नियमित अगाडी बढीरहेको छ । ‘परियोजनाको काम लक्ष्य अनुसारै भइरहेको छ’ अधिकारीले भने ‘तोकिएको समयमा काम सम्पन्न हुन्छ’ । अहिले टेलिकमले तीन प्याकेजमा अप्टिकल फाइबर विस्तार गरिरहेको छ ।
यता प्राधिकरण भने टेलिकमको प्रगतिमा खासै सन्तुष्ट छैन् । प्राधिकरणसँग भएको सम्झौता अनुसार काम भएको भए यति बेला टेलिकमले काम सम्पन्न गरी हस्तान्तरण समेत गरिसक्नु पर्ने हो ।
कर्णाली र सुदुरपश्चिम झन कठिन
कर्णाली र सुदुरपश्चिम प्रदेशमा अप्टिकल फाइबर बिच्छ्याउने जिम्मा स्मार्ट टेलिकमबाट खोसर नेपाल टेलिकमलाई दिइएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले दबाब दिएर टेलिकमलाई सो परियोजना दिइएको स्रोतको भनाई छ ।
गत शुक्रबार मात्र टेलिकमले दुई बर्षभित्र फाइबर विस्तार गरिसक्ने शर्तसहित सम्झौता गरिसकेको छ । तर, टेलिकमले हासम्म कुनैपनि ठूला परियोजना समयमै सकाएको छैन । प्रदेश १,२ र ३ मा तीन बर्ष अगाडी पाएको ठेक्काकै भौतिक प्रगाति नगरेको टेलिकमले भौगालिक दृष्टिले विकट कर्णाली र सुदुरपश्चिममा फाइबर परियोजन समयमै सकाउनेमा आशंका छ ।
सडकको किनारमा फाइबर विच्छाउनुपर्ने भएपनि हालसम्म केहि स्थानमा सडक सञ्जाल नै पुगेको छैन् । दूरसञ्चार क्षेत्रका एक अधिकारीले कर्णाली र सुदूरपश्चिम प्रदेशमा अप्टिकल फाइबर विच्छाउने जिम्मा टेलिकमको इच्छामा नभई सञ्चार मन्त्री गोकुल बास्कोटाको दबाबले दिइएको बताए ।
उनका अनुसार टेलिकमले समयमै काम सक्छ भन्ने आश छैन् । टेलिकमले परियोजना समयमै सम्पन्न नगरे न कार्वाहि हुन्छ न जरिवाना । सञ्चार मन्त्रीकै दबाबले उक्त परियोजनामा ढिलाइ गरेपनि दूरसञ्चार प्राधिकरण टुलुटुलु हेरेर बस्ने अवस्था छ । ठूला परियोजना सम्पन्न गर्न टेलिकम आर्थिक तथा प्राविधिक पक्षमा अब्बल भएपनि लापरवाहि गरेर काम सुस्त भएको हो ।
टेलिकमले कर्णाली र सुदूरपश्चिम प्रदेशका सुर्खेत, दैलेख, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट, मुगु, हुम्ला, अछाम, बाजुरा, बझाङ, डोटी, कैलाली, कञ्चनपुर, डँडेलधुरा, बैतडी, दार्चुला गरी २० जिल्ला छुनेगरी करीब २ हजार ४ सय किलोमीटरमा अन्डरग्राउन्ड र एडीएसएस फाइबर बिस्तार गर्ने छ ।