काठमाडौं । व्यावसायिक घराना शंकर ग्रुपले निर्माण गरेको पाँचतारे होटल हिल्टन शुक्रबारबाट पूर्ण रुपमा सञ्चालनमा आउने भएको छ। असार २८ गते सफ्ट ओपनिङ गरेको होटल शुक्रबारदेखि पूर्ण रुपमा सञ्चालनमा आउने भएको हो।
काठमाडौंको नक्सालमा निर्माण भई सञ्चालनमा आएको होटलको लागत ८ अर्ब पुगेको शंकर ग्रुपले बताएको छ। शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले होटल उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ। तर, हालसम्म निर्णय भइसकेको छैन।
होटलले सफ्ट ओपनिङदेखि नै कोठा र बैंक्विट हल पूर्ण रुपमा सञ्चालनमा रहेको जनाएको छ। होटलमा १ सय ७४ कोठा छन्। २०१८ बाट निर्माण थालिए पनि कोरोना महामारीले निर्माण प्रभावित बनाएको थियोे।
होटल व्यवस्थापनको जिम्मा बेलायतको हिल्टन वल्र्डवाइड म्यानेजमेन्ट लिमिटेडले गरेको छ। यसमा हिल्टन वल्र्डवाइड इन्कर्पोरेटेड अमेरिकाको स्वामित्व छ। अमेरिकी हस्पिटालिटी कम्पनी हिल्टनले १ सय १८ देशमा ६ हजार २ सय १५ होटल तथा ९ लाख ८३ हजार ४ सय ६५ कोठा व्यवस्थापन गरिरहेको छ।
हिल्टनले मार्केटिङ र ब्रान्ड पहिचान स्थापना तथा हस्पिटालिटी सञ्जाल निर्माण गर्न महत्त्वपूर्ण योगदान गर्ने अपेक्षा होटलले लिएको छ।
जगदम्बा हस्पिटालिटी सन् २०१२ मा शंकर ग्रुपले स्थापना गरेको आतिथ्य सत्कार कम्पनी हो। कम्पनीले ५ अर्ब २ करोड २० लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ।
दुई दशक लामो व्यावसायिक अनुभव रहेका अध्यक्ष शाहिल अग्रवालको होटलमा ९० प्रतिशत लगानी छ। ग्रुपले सिमेन्ट र डन्डी उद्योगमा आक्रामक लगानी गरिरहेको छ।
यस्तै बैंक तथा बिमा, जलविद्युत्, व्यापार र घरजग्गालगायत अन्य उत्पादनमूलक क्षेत्रमा लगानी गरेको छ।