काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोग उपाध्यक्षमा शिवराज अधिकारीलाई नियुक्त गरेको छ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
अधिकारी यसअघि पनि योजना आयोग सदस्य थिए। उनी त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र विभागका पूर्वप्रमुख हुन्।
अधिकारी थाइल्यान्डको चुलालोंगकोर्न विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि हुन्। उनले स्वास्थ्य सेवा वित्तीयकरण सम्बद्ध विभिन्न संस्थामा संलग्न छन् भने स्वास्थ्य सहरी योजना, समतामूलक पहुँचलगायत परियोजनामा संलग्न छन् भने नेपाल वातावरण तथा स्वास्थ्य प्रणाली विकास संस्थाका अध्यक्ष पनि हुन्।
नवनियुक्त उपाध्यक्ष अधिकारी नेकपा एमालेको बुद्धिजीवी परिषद्को सचिवालय सदस्यसमेत हुन्।
उनले २०७५ मा डा. डिल्लीराज खनाल नेतृत्वको सार्वजनिक खर्च पुनरवलोकन आयोगमा सदस्य, त्यसअघि आयोकै वरिष्ठ सल्लाहकार र अन्तरसरकारी वित्तीय परिषद् सदस्यको रूपमासमेत काम गरेका छन्।
त्यस्तै सदस्यमा आरपी विच्छा, रमेश सिंह, प्रकाश श्रेष्ठ, गीताकुमारी पौडेल, जयबहादुर टण्डन र गंगादत्त अवस्थी नियुक्त भएका छन्। श्रेष्ठ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन्। श्रेष्ठले यसअघि लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्ष भएर काम गरेका थिए।