गोदावरी । कैलाली भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा ७ अर्ब ९१ करोड ८० लाख राजस्व संकलन गरेको छ। भन्सार कार्यालयलाई गत आवमा ११ अर्ब ५८ करोड २४ लाख राजस्व संकलनको वार्षिक लक्ष्य दिइएको थियो।
भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार सवारीसाधान, पेट्रोलियम पदार्थ, निर्माण सामग्री, हार्डवेयरका सामान, खाद्यान्न, तरकारी, कपडालगायत सामानको आयात घटेकाले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकिएको हो।
आव २०८०/८१ मा भन्सार महसुलबापत ३ अर्ब १ करोड, मूल्य अभिवृद्धि करबापत ३ अर्ब १७ करोड, अन्तः शुल्क बापत २० करोड ४४ लाख र अन्य शुल्क बापत १ अर्ब ५२ करोड राजस्व संकलन भएको उनले बताए।
भन्सार कार्यालयले आव २०८०/८१ मा लक्ष्यको ६८.३६ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ। भन्सार कार्यालयको तथ्यांक अनुसार आव २०७९/८० मा ८ अर्ब २९ करोड राजस्व संकलन गरेको थियो।
आव २०७८/७९ मा रु नौ अर्ब ५८ करोड राजस्व असुली भएकामा आव २०७७/७८ मा ८ अर्ब ८४ करोड संकलन भएको थियो।
यसैगरी, आव २०७६/७७ मा कोभिड–१९ महामारीका कारण ४ अर्ब ९२ करोड मात्रै राजश्व संकलन भएको थियो भने आव २०७५/७६ मा ५ अर्ब १९ करोड संकलन गरेको कार्यालयले जनाएको छ।