काठमाडौं। सांसदहरुले हरेक हवाई दुर्घटनामा समिति गठन मात्रै हुने तर दीर्घकालीन समस्या समाधानकाे पहल नखाेजिँदा नेपालकाे अकास असुरक्षित हुँदै गएकाे गुनासाे गरेका छन्।
बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको छलफलमा दुर्घटनापछि समिति मात्रै गठन हुने तर सुरक्षा सुधारको काम नहुने भन्दै सरकारकाे आलोचना गरे।
सौर्य एयरलाइन्स दुर्घटनापछि पनि अध्ययन समिति मात्रै बनेको भन्दै यसले दीर्घकालीन रुपमा हवाई दुर्घटना समस्या समाधान नहुने सांसदहरूले बताए। बैठकमा सांसद उदयशमशेर राणाले समिति मात्र बनाएर सधैंका लागि हवाई दुर्घटना समस्या समाधान नहुने हुँदा सरकारले दीर्घकालीन रूपमा साेच्ननुपर्ने सुझाव दिए।
‘दुर्घटनापछि हिजो क्याबिनेटले एउटा समिति बनायो। यो किन बनाएको हो? जहिल्यै एउटा समिति बन्छ, रिपोर्ट आउँछ तर, केही हुँदैन। यसअघि, यती एयरलाइन्सको जहाज दुर्घटनामा पर्दा पनि समिति बनेको थियो। त्यसबाट केही भएन। हाम्रो सुरक्षाको विषयमा सुधार आउन सकेको छैन,’ सांसद राणाले भने, ‘मानिसको ज्यान बारम्बार गइरहेको छ। हामी पुरानै कुरामा अडिएका छौं। अरुलाई मात्रै दोष दिने कि दुर्घटनाको जिम्मा सरकारले पनि लिने? मन्त्री र क्यानले यसको जिम्मेवारी लिने वा नलिने? यो गम्भीर विषय हो।’
उनले नियामक र सेवाप्रदायक एउटै भएसम्म हाम्रो उड्डयन सुरक्षा राम्रो नहुने पनि बताए।
अर्का सांसद सुनिता बरालले जहाज दुर्घटना बढेकाले सुरक्षा सुधारमा परिणाम खोज्न ढिला भइसकेको बताइन्। ‘हाम्रोमा तत्परता नभएको हो वा प्राविधिक समस्या भन्ने विषयमा छलफल गर्ने समय आइसकेको छ। परिणाम नदिने र एकअर्कालाई आरोपप्रत्यारोप गरेर पन्छिएर हुँदैन’, बरालले भनिन्, ‘दुर्घटना भएपछि मात्र हामी त्यसका विषयमा ध्यान केन्द्रित गर्ने प्रवृति गलत छ।’ उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सन्दर्भमा नेपालले खाली घाटा बेहोरेर मात्र बस्न नहुने तर्क गरिन्।
सांसद शिशिर खनालले पटकपटक दुर्घटना हुँदा पनि नेपालको हवाई सुरक्षा सुधार नभएको तर्क गरे। ‘हवाई सुरक्षाको विषयमा हामी कसरी अगाडि बढ्ने हो भन्ने योजना बनाएर कार्यान्वयन गर्न आवश्यछ। दुर्घटना पटकपटक भएकोले नागरिक उड्डयन प्राधिकरण, मन्त्रालय वा सरकारले यसको जिम्मेवारी लिनुपर्छ’, खनालले भने, ‘जहिल्यै समिति मात्र बनाएर त्यसले सोही एउटा घटनाको मात्र हेर्ने भन्दा पनि समग्र घटनाको जिम्मा कसले लिने भन्ने विषयमा जान आवश्यक छ।’
सांसद एकनाथ ढकालले सौर्य एयरलाइन्सको दुर्घटनाले धेरै प्रश्न उठाएको बताए। ‘सौर्यको उडान कमर्सियल उडान पनि होइन भनिएको तर, त्यसमा अनधिकृत व्यक्ति कसरी समावेश भयो? बच्चा कसरी सहभागी गराइयो? यसको उत्तर आउनुपर्छ र नआएमा सम्बन्धित व्यक्तिलाई कारबाही गर्नुपर्छ’, ढकालले भने, ‘क्यान र नेपाल एयरलाइन्सको द्वन्द्वले गर्दा नेपालमा ठूलो क्षति भएको छ।’
सांसद सुदन किरातीले हिजोको समितिले पनि प्राविधिक र मानवीय त्रुटि भनेर मात्र निष्कर्ष निकालेर नहुने बताए । ‘हिजोको अध्ययन समितिबाट पनि त्यही त्रुटि मात्र देखाएर हुँदैन। हामीले पनि कानुन बनाएका छैनौं। यस्तै घटनाका बेला ठूला कुरा मात्र गरेर हुँदैन’, किरातीले भने, ‘विमानस्थल सुरक्षाको विषयमा सरकार गम्भीर बन्न आवश्यक छ।
सांसद धबलशमशेर जबराले पोखरामा पनि यती एयर दुर्घटना हुँदा समिति बनेर केही नभएको उल्लेख गर्दै अहिले फेरि समिति नै बनाएर मात्र नहुने तर्क गरे।