काठमाडौं। संसदीय समिति बैठकमा हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि सांसदहरुले कार्यक्षमताको प्रश्न उठाएका छन्।
२०७८ माघ १८ मा नागरिक उड्डयन प्राधिकरणको नेतृत्व सम्हालेका अधिकारीको कार्यकालभित्रै पछिल्लो साउन ९ मा भएकाे सौर्य एयरसँगै ८ वटा जहाज तथा हेलिकोप्टर दुर्घटना भएपछि सांसदहरूले उनको कार्यक्षमतामाथि नैतिक प्रश्न उठाएका हुन्।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको जोडबलमा प्राधिकरणको महानिर्देशक नियुक्त भएका अधिकारीले हवाई क्षेत्रमा सुधार नगरेको र विमान दुर्घटनापछि पनि नैतिक रुपमा जिम्मेवारी नलिएको आरोपसमेत सांसदले लगाए।
बिहीबार सिंहदबारमा बसेको संसदीय समिति बैठकमा नेपाली अकासमा लगातारजसो विमान दुर्घटना हुनुको कारण र रोकथामका उपायबारे प्रश्न सोध्न बोलाइएका अधिकारीले सांसदहरुले सोधेका प्रश्नको समेत गोलमटोल जवाफ दिए। उनले विमान दुर्घटना रोकथाममा प्राधिकरणले निरन्तर प्रयास गरिरहेको दाबी गरे।
बैठकमा सांसद उदयशमशेर जबराले महानिर्देशक अधिकारीको क्षमतामाथि प्रश्न उठाए। अधिकारीले प्राधिकरणको नेतृत्व सम्हालेयता मात्र ८ वटा हवाई दुर्घटनामा परिसकेको तथ्य पेस गर्दै जिम्मेवारी लिन आग्रह गरे।
‘नेपाली अकासमा आन्तरिक मात्र होइन, विदेशी जहाज पनि दुर्घटनामा परेका छन्। सन् १९९६ यता सानाठूला ६० वटा जहाज दुर्घटनामा परिसकेका छन्। यसमा विदेशी जहाजसमेत ८ वटा परे। आन्तरिक सबैजसो एयरलाइन्स कम्पनीका जहाज दुर्घटनामा परेका छन्’, जबराले भने, ’प्राधिकरणमा तपाईंकै नेतृत्वयता मात्र ८ वटा जहाज दुर्घटनामा परिसकेका छन्। यसको जिम्मेवारी लिनुपर्दैन ? दोष जति सधैं अरूलाई नै लगाउने?’
सौर्य एयरलाइन्स दुर्घटना सन्दर्भमा छानबिन आयोग बनिसकेको अवस्थामा स्वार्थ जोडिने हुँदा प्राधिकरणका महानिर्देशकलाई सरकारले निलम्बन गर्नुपर्ने माग जबराकाे छ।
१८ जनाको मृत्यु हुने गरी भएको सौर्य एयरलाइन्सको दुर्घटनामा बच्चासहितका बाहिरी व्यक्तिहरू कसरी परे भन्दै पर्यटन तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति राजकिशोर यादवले अधिकारीसँग प्रश्न गरे। तर, महानिर्देशक अधिकारीले घटना सम्बन्धमा छानबिन आयोग बनिसकेको अवस्थामा प्राविधिक पक्षबारे आफूले बोल्न उचित नहुने रेडिमेड जवाफ फर्काए।
बिहीबारको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको छलफलमा सांसद सुनिता बराल, शिशिर खनाल, एकनाथ ढकाल, सुदन किराती, सांसद धबलशमशेर जबरालगायतले जहाज दुर्घटनापछि समिति मात्रै बनाउनुभन्दा दीर्घकालीन हवाई दुर्घटना नियन्त्रणका उपाय खोज्न सरकारलाई सुझाव दिए।
बुधवार काठमाडौंदेखि पोखरा उड्न लागेको सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रनवे नजिकै दुर्घटनामा परेको थियो । जहाजमा सवार १९ मध्ये १८ जनाएको घटनास्थलमै मृत्यु भएको छ भने क्याप्टेन मनिषरत्न शाक्यको सकुशल उद्धार गरिएको थियो।
अधिकारीले नेतृत्व सम्हालेपछि भएका विमान दुर्घटना
२०७९ माघ १ पाेखरा अन्र्तराष्रिटुय विमानस्थलमा अवतरण गर्ने त्रफममा यती एयरलाइन्सकाे जहाज दुर्घटना हुँदा चालकदलका सदस्यसहित ७२ जनाकाे मृत्यु।
पाेखराबाट जाेमसाेम उडेकाे तारा एयरकाे विमान दुर्घटना हुँदा २२ जनाकाे मृत्यु २०७९ जेठ १६।
काठमाडाैंबाट पाेखरा उडेकाे साैर्य एयरलाइन्सकाे जहाज दुर्घटना हुँदा त्यसमा सवार १९ मध्ये १८ काे मृत्यु, पाइलट सकुशल, २०८१, साउन ९
२०८० असार २६ मा साेलुखुम्बुकाे लामजुरामा मनाङ एयरकाे हेलिकाेप्टर दुर्घटना हुँदा ६ जनाकाे मृत्यु।
२०८० असार २७ मा साेलुखुम्बुकै लाेबुचेमा मनाङ एयरकाे एन-एनजे कलसाइन हेलिकाेप्टर दुर्घटना। पाइलटकाे उद्धार।
संखुवासभाकाे सिप्रुङमा सिम्रिक एयरकाे हेलिकाेप्टर दुर्घटना, २०८० वैशाख २२। एक जनाकाे मृत्यु।
२०७९ चैत २५ गते ह्याम्स अस्पतालमा एयर डाइनिस्टीको हेलिकोप्टर दुर्घटना। मानवीय क्षति भएन।
२०७९ चैत २६ गते धौलागिरी बेसक्याम्प नजिकै कार्गो लिएर गएको एभरेष्ट एयरको हेलिकोप्टर दुर्घटना। मानवीय क्षति भएन।