काठमाडौं। ज्योति विकास बैंकले स्थापनाको १६औं वार्षिकोत्सव मनाएको छ। २०६५ साउन ९ मा स्थापना भएको बैंकले १७वर्ष प्रवेश अवसरमा विभिन्न कार्यक्रमम सञ्चालन गरिएको जनाएको छ।
मुख्य कार्यालयमा आयोजित कार्यक्रममा बैंक सञ्चालक समिति अध्यक्ष हरिचन्द्र खड्काले आगामी दिनमा ग्राहक केन्द्रित सेवा–सुविधा थप्दै लगिने बताए। बैंकले वार्षिकोत्सव अवसर पारेर परिमार्जित, परिष्कृत तथा प्रयोगकर्तामैत्री नयाँ आधिकारिक वेबसाइट सञ्चालनमा ल्याएको छ।
वेबसाइट सञ्चालनपछि बैंकले दिँदै आएका सेवा–सुविधाको जानकारीमा सहज पहुँच, अनलाइनबाटै कर्जा आवेदन दिने व्यवस्था, भिडियो बैंकिङमार्फत अनलाइनबाटै खाता खोल्ने, क्यूआर कोडलगायत विभिन्न बैंकिङ सेवाका लागि अनलाइन निवेदन दिने सुविधा सेवाग्राहीले पाउनेछन्।
वार्षिकोत्सव अवसरमा बैंकले केन्द्रीय कार्यालय परिसरमा आयोजना गरेको कार्यक्रममा ५० जनाले रक्तदान गरेका थिए। कार्यक्रममा १० तथा १५ वर्षदेखि बैंकमा अनवरत कार्यरत रही योगदान दिएका २७ जना कर्मचारीलाई सम्मान गरिएको थियो।
बैंकले खुद मुनाफाबाट नेपालमा हाल सञ्चालित अन्य बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याउँदै आएको सीईओ कपिल ढकालले बताए।
नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले हालसम्म करिब ९०० भन्दा बढी नेपाली शिशुहरुको अमूल्य जीवन रक्षा गर्न सफल भएको बताएको छ।
हाल बैंकले १२१ शाखा, ३ विस्तारित काउन्टर र ७५ एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ।