काठमाडौं। संयोगले नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई करोडको चेक वुझेका एक विचौलिया वेचन झालाई दोस्रो चरणको अनुसन्धानका लागि भारतवाट पक्राउ गरेर नेपाल ल्याइयो अनि सरकार पनि परिर्वतन भयो । तत्कालीन समयमा सरकारको नेतृत्व पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए भने गृहमन्त्रीको रुपमा रवि लामिछाने थिए । अहिले प्रधानमन्त्रीको रुपमा एमाले अध्यक्ष केपी शर्मा ओली छन् भने गृहमन्त्रीको रुपमा नेपाली काग्रेसका रमेश लेखक छन् ।
केही दिनअघि संसदमै पूर्व गृहमन्त्री लामिछानेले यही कुरालाई संकेत गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणसहितका घटनामा आफूहरुले प्रतिपक्षमा बसेर हेरिरहने र आफूले अनुसन्धान थालेपछि सरकार ढालिएको आरोप लगाए । प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा बोल्दै निर्वतमान प्रधानमन्त्री प्रचण्डले पनि यस्तै संकेत गर्दै आफूहरुले प्रतिपक्षमा बसेर हेरिरहने बताएका थिए ।
सरकारमा रहेका र प्रतिपक्षले यसलाई विषय बनाइरहँदा यो प्रकरणमा अनुसन्धान गरिहेको प्रहरीले बयान लिने औपचारिकता बाहेक अरु केही गरेको छैन ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान गरिरहेको काठमाडौँ प्रहरीले बेचन झाको प्रारम्भिक बयान सकेको छ । झाले आफ्नो संलग्नता अस्वीकार गरेका छन् भने प्रहरीले उनको बयानमा आधारित भएर थप व्यक्तिलाई तत्काल अनुसन्धानको दायरमा ल्याउने सम्भावना न्यून रहेको छ। त्यस्तै प्रहरीले बयान गराइरहँदा झा परिवार भने सर्वोच्च अदालत पुगेका छन् ।
झाका तर्फबाट छोराले दायर गरेको निवेदनमा झालाई गैरकानुनी थुनामा राखिएको दाबी गरिएको छ । उनीहरूले झालाई तत्काल धरौटीमा वा हाजिर जमानीमा रिहा गर्न माग गरेका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणमा पूरक अभियोगपत्र दायर गर्न अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार झाको बयान सकिएको छ । ‘पहिलो चरणको बयान सकियो । आवश्यकता देखिएमा थप बयान गरिन्छ,’ जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी बसन्त रजौरेले भने, ‘सङ्गठित अपराध र ठगीमा अनुसन्धान भइरहेकाले समय लाग्छ ।’
सङ्गठित अपराधमा अनुसन्धानका लागि लामो समय पाउने र यसअघि पनि यही अपराधमा अभियोग पत्र दायर भएकाले प्रहरीले सोही अनुरूप अनुसन्धान अघि बढाएको छ ।
किन पुगे झाका छोरा सर्वोच्च
झा पक्राउ पर्दा नेकपा एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री थिए । काठमाडौँ जिल्ला अदालतले झालाई अनुसन्धानका लागि थुनामा राख्न अनुमति दिदै आएको छ। अहिले परिस्थिति फेरिएर नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाएकाले परिबार सवोच्च पुगेको देखिन्छ ।
उक्त निवेदन दुई पटक इजलासमा पेसी तोकिए पनि हालसम्म एक पटक पनि सुनुवाइ भएको छैन । जिल्ला अदालतबाट छुट्ने सम्भावना न्यून भएपछि झाको परिवार वेरितको निवेदन लिएर सर्वोच्च पुगेको हो । झाका तर्फबाट छोरा दिव्यान्शु शेखर झाले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका हुन् । उक्त निवेदन असार ३० गते दर्ता भएको थियो ।
उक्त निवेदन दुई पटक इजलासमा पेसी तोकिए पनि हालसम्म एक पटक पनि सुनुवाइ भएको छैन । पहिलो पटक न्यायाधीश विनोद शर्माको इजलासमा असार ३१ गते पेसी तोकिएको थियो । उक्त दिन झाका कानुन व्यवसायीले निवेदन दिएर सुनुवाइ सारेका थिए ।
दोस्रो पटक साउन ६ गते (आइतबार) न्यायाधीश बालकृष्ण ढकालको इजलासमा पेसी तोकिएको थियो । आजको पेसी पनि झाकै कानुन व्यवसायीले निवेदन दिएर सारेका छन् ।आफू अनुकूल न्यायाधीश नपरेका कारण उनीहरूले निवेदन दिएर पेसी सारेको देखिन्छ । झाका तर्फबाट आफू अनुकूल इजलास छान्ने (बेन्च सपिङ) गर्ने प्रयास भइरहेको देखिन्छ ।
झाका कानुन व्यवसायीले सर्वोच्च अदालतबाट अनुसन्धानका लागि आवश्यक भएको समयमा उपस्थित हुने सर्तमा झालाई छुटाउने प्रयासका लागि निवेदन दिन लगाएको आशङ्का गरिएको छ । सर्वोच्च अदालतमा गोलाबाट पेसी तोकिन्छ । यसअघि साउनको पहिलो हप्ता सर्वोच्चले कममात्र मुद्दा पेसी तोकेको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरण अन्तर्गत यो दोस्रो चरणको अनुसन्धान हो । यसअघि पहिलो मुद्दा दायर भएर जिल्ला अदालतमा विचाराधीन छ । काठमाडौँ प्रहरी परिसरले यो मुद्दामा अनुसन्धान गरिरहेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित झा असार १४ गते पक्राउ परेका थिए । नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले झालाई पक्राउ गरेको हो । उनलाई नेपाल–भारत सीमावर्ती क्षेत्रबाट गर्दै नेपाल ल्याइएको थियो ।
झालाई अनुसन्धानका लागि काठमाडौँ प्रहरी परिसरको जिम्मा लगाइएको थियो । त्यसपछि झा काठमाडौँ प्रहरीको अनुसन्धानमा छन् । झालाई पहिलो पटक असार १६ गते काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको थियो, जसमा अदालतले अनुसन्धानका लागि सात दिनको म्याद दिएको थियो । त्यस्तै दोस्रो पटक असार २१ गते पाँच दिनको म्याद थप गर्ने आदेश जिल्ला अदालतले गरेको थियो ।
तेस्रो पटक जिल्ला अदालतले फेरि पाँच दिन म्याद थप गरेको थियो । तेस्रो पटक म्याद थप भइरहँदा दलहरू सरकार परिवर्तनको खेलमा व्यस्त थिए । असार २८ गते अदालतले सात दिन म्याद थप गरिदियो ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने अपराधमा झाले बिचौलिया भूमिका निर्वाह गरेको आरोप छ । उनले गिरोहबाट २ करोड रुपैयाँ बुझेको अनुसन्धानमा पाइएको थियो । उनले बुझेको चेकको कपी नै अनुसन्धानको क्रममा अघिल्लो पटक फेला परेको थियो ।
त्यस्तै अघिल्लो अभियोगपत्रमा झाले विभिन्न व्यक्तिको नाम लिएका थिए । उनको खोजी पहिलो अभियोगपत्रको अनुसन्धानको क्रममा पनि भएको थियो ।
यदि अनुसन्धानमा झाको संलग्नता पुष्टि हुने आधार नदेखिएमा मुद्दा नचल्ने निर्णय पनि हुन सक्छ । त्यसका लागि जिल्ला सरकारी वकिलको कार्यालय हुँदै उच्च सरकारी वकिल कार्यालय र महान्यायाधिवक्ता समक्ष पुग्नुपर्ने छ ।
२०७९ चैतमा शरणार्थी प्रकरणका आरोपितहरू पक्राउ पर्न थालेपछि झा फरार भएका थिए । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल, पूर्वसांसद आङटावा शेर्पा, बिचौलियाहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मासहित ३० जनाविरुद्ध राज्यविरुद्धको अपराधसहित ४ वटा कसुरमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले अदालतमा मुद्दा दायर गरेको थियो ।
काठमाडौँ जिल्ला अदालतले तीमध्ये अधिकांशलाई पुर्पक्षका लागि थुनामा पठायो । त्यसविरुद्ध प्रतिवादीहरूले उच्च अदालत पाटनमा पुनरावेदन गरे । उच्च अदालतले थप केहीलाई धरौटीमा रिहा गर्ने आदेश ग¥यो भने केहीलाई थुनामै पठायो ।
यसरी धरौटीमा रिहा हुनेमा नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण पनि थिए । खाँणको मुद्दामा रायबाझी हुँदै ३० लाख धरौटी माग गर्ने आदेश सदर भएको थियो । अदालतले तोकेको धरौटी बुझाएर खाँण रिहा भएका थिए । पुर्पक्षका लागि थुनामा रहेका केही व्यक्ति भने उच्चको आदेशविरुद्ध सर्वोच्चसम्म पुगेका थिए । तर सर्वोच्चले पनि धरौटीमा रिहा गर्ने आदेश गरेन ।
तत्कालीन समयमा फरार रहेका प्रतिवादीमध्ये एक पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक थापा पनि पक्राउ परेर थुनामा गएका छन् । उनलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । प्रहरीले पूरक अभियोगपत्रका लागि बयानसहित थप अनुसन्धान गरेर फाइल जिल्ला सरकारी वकिल कार्यालयमा पेस गर्ने छ ।
जिल्ला सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदन प्राप्त गरेपछि मुद्दा चल्ने वा नचल्नेबारे निर्णय लिनेछ । मुद्दा चलाउने निर्णय लिएमा कति वटा कानुन अन्तर्गतको सजाय माग गर्ने भन्ने निर्णय हुनेछ ।
परराष्ट्रमन्त्री राणा परिवारसँग झाको सम्वन्ध
नेपाली केटीसँग वैवाहिक सम्वन्ध बनाएका झा भारतीय नागरिक हुन् । उनी नेपाली चेली विवाह गरेपछि यतै बसेर व्यवसाय गर्दै आएका छन् । उनले इलेट्रिक्स समान सप्लाई गर्ने देखि ट्रान्सफर्मरको कार्य गर्दै आएका छन् । उनी परराष्ट्रमन्त्री आरजु देउवाका भाई भुषणा राणासँग व्यवसायी सम्वन्ध रहेको छ। उनको सम्वन्ध आरजु राणा, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की, विमलेन्द्र निधि, महन्थ ठाकुरसँग राम्रो रहेका छ । अघिल्लो अभियोगपत्रमा गृहसचिव टेकनारायण पाण्डे,सानु केसी र एमाले नेता टोपबहादुर रायमाझीले वेचनाको नाम बयानका क्रममा लिएका थिए ।
सानु केसीले मन्त्रीपरिषदवाट निर्णय गराउनका लागि भन्दै २ करोडको हिमालयन वैकको चेक आफूले दिएको बयानमै उल्लेख गरेका छन् । यसरी लिएको २ करोड आफूले तत्कालीन मन्त्रीका साथै नेपाली काग्रेसका नेताहरुलाई दिएको दावी वेचनले गर्दै आएका छन् । यही कारण यो मुद्दामा थप अनुसन्धान नहुने आशंका गरिएको हो । संगठित अपराधमा ६० दिनको अनुसन्धान अवधी हुने भएकाले अवको केही महिनामा यो प्रकरण के हुन्छ भन्ने निष्कर्षमा पुग्ने देखिन्छ ।
झाको राजनीतिक कनेक्सन
त्यसो त कांग्रेस–एमाले नेताहरू अहिले सत्ता गठबन्धनमा आएको तरंगसँग बेचन पक्राउको साइनो नभएको दावी गरिरहेका छन् । यद्यपि, उनी कांग्रेस र एमालेका खासखास नेतासँग लामो समयदेखि सम्पर्कमा रहेको देखिन्छ ।
नेपालीलाई नक्कली भुटानी बनाएर अमेरिका पठाउने गिरोहमा उनको संलग्नता देखिएपछि प्रहरीले फरार अभियुक्तको सूचीमा राखेर खोजी गरिरहेको थियो । उक्त प्रकरणमा पक्राउ परेका धापासीका रामशरण केसीले बेचनले मन्त्रिपरिषदबाट निर्णय गराउनका निम्ति २ करोड मागेको र आफूले चेक पनि दिएको बयानमा भनेका थिए । सोही आधारमा उनी फरार सूचीमा राखिएका र अहिले पक्राउ गरिएका हुन् ।
धेरै वर्षदेखि नेपालमा ठेक्कापट्टाको काम गर्ने र उच्च राजनीतिक पहुँच बनाएका उनीसँग अहिलेसम्म नेपालको सक्कली नागरिकता छैन । तराईका चर्चित नेता बेदानन्द झाका दाइ कुलानन्दकी छोरीसँग विवाह गर्नका निम्ति नेपाल भित्रिएका उनी नेपालकी छोरी लिएर आफ्नो देश गएनन्, यहीँ बसेर पत्नीका नाममा व्यावसायिक कारोबार चलाइरहे ।
बेदानन्द पञ्चायतकालमा गृह र वाणिज्यमन्त्री हुँदै राजसभा स्थायी समितिको सभापतिसम्म भएका व्यक्ति हुन् । दाइ कुलानन्द ००७ सालको क्रान्तिदेखि नै बिपी कोइरालाका विश्वासिला नेता । पछि तराई मामिलामा दृष्टिकोण मिलेन र कुलानन्दले बिपीको छाथ छाडेर तराई कांग्रेस गठन गरे । उनकै राजनीतिक सहयात्री थिए, गजेन्द्रनारायण सिंह, जसले ०४६ सालपछि मधेसी पहिचानको नारालाई स्थापित गर्दै नेपाल सद्भावना पार्टी बनाए ।
कुलानन्दले तराई कांग्रेस स्थापना गर्दा बेदानन्द पटनामा अखबारको सम्पादक थिए । दाजुले पार्टी खोलेपछि त्यसलाई फैलाउन र त्यहीमार्फत राजनीतिक गतिविधि गर्न स्वदेश फर्किए । तराईका विभिन्न जिल्लामा संगठन फैलाउँदै २०१५ सालको आम निर्वाचनमा तराई कांग्रेसले भाग लियो, एउटा सीट पनि जित्न सकेन । कुलानन्द त जीवनभर प्रजातान्त्रिक र तराई पहिचानको आन्दोलनमै लागिरहे । बेदानन्द भने पञ्चायतमा प्रवेश गरे । कुलानन्दको निधनपछि उनको परिवारलाई बेदानन्दले नै अभिभावकत्व दिए । र, दाजुको निधनपछि बेचनले दाजुकी छोरीसँग विवाह गरेका हुन् ।
पत्नी नेपाली भएपछि उनकै नाममा बैंक खाता, चल र अचल सम्पत्तिको कारोबारमा सक्रिय भए । शुरुमा नेपाल विद्युत प्राधिकरणका ट्रान्समिटर लाइन जडान गर्ने ठेक्काबाट कुस्त रकम कमाए । फर्म पत्नीको नाममा, काम उनको । पैसा कमाएपछि घरबारसहित सामाजिक प्रतिष्ठा हासिल भयो । राजनीतिमा मधेसी खेमासँग त्यति राम्रो सम्बन्ध भएका व्यक्ति होइनन् ।
करिब ३० वर्षदेखि उनले काठमाडौंमा विद्युतीय उपकरणको ठेकेदारी गर्दै आएका छन् । श्रीमतीको नाममा ‘फर्म’ खोलेर थापागाउँमा बंगला ठड्याएका छन् । पहिलेपहिले हरेक महिना सत्यनारायणको पूजा लगाउने गर्थे । बेचनले छोराको नाममा रहेको ‘विभांशु ब्रदर्स’ मार्फत विद्युत प्राधिकरणबाट ठेक्का लिँदै आएका छन् ।
प्राधिकरणले बिजुलीको ट्रान्सफर्मरदेखि एअर कण्डक्टरसम्म उनकै कम्पनीबाट खरिद गर्दै आएको छ ।
एउटी छोरीको विवाह भारतमै भएको छ । एउटा छोराको विवाह सप्तरीकी नेतृ ममता झाकी छोरीसँग भएको हो । ममता पूर्वअञ्चलाधीश जगदीश झाकी छोरी हुन् । गत उपराष्ट्रपतिको निर्वाचनमा सिके राउत नेतृत्वको जनमत पार्टीबाट उठेकी थिइन् ।