काठमाडौं। नेपाली उखानै छ, आयु रहुन्जेल वायुले केही गर्दैन। अहिले यो उखान ठ्याक्कै मिलेको छ, सौर्य एयरलाइन्सका क्याप्टेन मनिषरत्न शाक्यका हकमा। विमान दुर्घटनामा क्याप्टेन बिरलै बाँच्ने गरेका छन्। भाग्य बलियो भएकै मान्नुपर्छ क्याप्टेन शाक्यकाे। बुधबार बिहानको भयानक दुर्घटनामा बाँच्न सफल भए।
आफूसँगै यात्रा गरेका १८ जना सहकर्मीलाई गुमाए पनि उनी बाँच्न सफल भए। जहाजले जमिन छाडेको २० सेकेण्डमै भयानक दुर्घटना भयो।
उद्धारमा संलग्नहरुको भनाइअनुसार क्याप्टेन शाक्यले ध्वस्त भएको कन्टेनर र ककपिटको बीचमा रगताम्य अवस्थामा हात हल्लाउँदै आफू जिउँदै रहेको संकेत दिइरहेका थिए। दुर्घटना भएलगत्तै उद्धारमा खटिएकाले उनलाई तत्कालै उद्धार गरी काठमाडौं मेडिकल कलेजमा उपचारार्थ लैजान सफल भए। अहिले उनी खतरामुक्त छन् भने थप उपचार काठमाडौं मेडिकल कलेजमै गराइरहेका छन्।
सन् २०१० मा लुक्लामा भएको तारा एयरको जहाज दुर्घटनामा एक जना क्याप्टेन बाँच्न सफल भएका थिए। उड्डयन क्षेत्रका जानकारका अनुसार यति ठूलाे विमान दुर्घटनामा बाँच्ने क्याप्टेन शाक्य दोश्रो हुन्। नत्र यसअघि भएका सबै घटनामा क्याप्टेन बाँचेको थाहा नभएको जानकार बताउँछन्।
को हुन क्याप्टेन शाक्य ?
अनुभवी पाइलट शाक्य सौर्य एयरलाइन्सका चिफ अफ अपरेसनसमेत हुन्। सन् २००९ बाट उडान थालेका शाक्यले सुरुमा गुण एयरलाइन्समा काम गरेका थिए। सन २०२२ देखि शाक्यले सिम्रिक एयरलाइन्समा ट्रेनिङ म्यानेजरका रुपमा काम गरेका थिए। क्याप्टेन शाक्यले गत वर्ष मात्रै युवा अपरेसन डाइरेक्टरको अवार्ड प्राप्त गरेका थिए। ग्यालेक्सी एक्सिलेन्स अवार्डमा उनले सो विधामा अवार्डसमेत पाएका थिए।
के ढोकाबाट उफ्रिन मिल्छ क्रु मेम्बर
बसमा जस्तै के झ्यालबाट हाम फाल्न मिल्छ त भन्ने प्रश्न पनि अहिले उठ्न थालेका छन्। कतै क्याप्टेन पनि त्यसैगरी उफ्रिन सफल भए कि भन्ने आशंका गर्न थालिएको छ। तर, उडानमा संलग्नका अनुसार जहाज उडानको क्रममा झ्याल खोल्न मिल्ने गरी राखिएको हुँदैन। एयर होस्टेजले मात्र ढोका खोल्न मिल्ने भएकोले दुर्घटनाका बेला झ्याल खोलेर हाम फाल्न सक्ने अवस्था रहँदैन। त्यसो भए कसरी बाँचे त क्याप्टेन?
प्रारम्भिक अध्ययनअनुसार एयर डायनेष्टी कार्यालय रहेको टहरा नजिकै कन्टेनरमा ठोक्किँदा जहाज टुक्राटुक्रा भएको थियो। जहाज बज्रिने क्रममा क्याप्टेन शाक्य उछिट्टिएको हुन सक्ने उद्धारमा संलग्नको अनुमान छ। यद्यपि, क्याप्टेन शाक्य उपचारमै रहेकोले कसरी बाँच्न सफल भए र दुर्घटना कसरी भयो भन्ने जानकारी दिनेछन्।