काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका, कर्मचारीहरुले चार बुँदे माग पुरा नभएको भन्दै आन्दोलन सुरु गरेका छन्। नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरु आफुहरुको माग पुरा नभएको भन्दै आजदेखि आन्दोलनमा उत्रिएको हो।
प्राधिकरण व्यवस्थापन समक्ष राखेका आफ्ना कुनैपनि मागहरु सम्बोधन नभएको भन्दै पहिलो चरणमा कालो ब्यानर र कालोपट्टि बाँधेर आन्दोलन शुरु गरेका हुन्।
कर्मचारी युनियले यसअघि असार ३० गते अन्तिम १० दिनको समय तोकेर प्राधिकरणका अध्यक्षलाई आफ्ना मागहरु पुरा गर्न आग्रह गरेको थियो। युनियनले दिएको १० दिनको अवधि पुरा भएलगत्तै आजदेखि आन्दोलन शुरु गरेको हो।
युनियनले पहिलो चरणमा चार दिन कालो ब्यानर र कालो पट्टि बाँध्ने भएका छन् भने दोस्रो चरणमा दुई दिनसम्म पहिलो आधा दिन पेन डाउन गर्ने भएका छन्।
यसैगरी तेस्रो चरणमा डिजिटल सिग्नेचर व्यवस्थापनलाई बुझाएर प्राधिकरणको कामकारबाही ठप्प पार्दै एक सातासम्म अध्यक्षको कार्यकक्ष घेराउ गर्ने योजना राखेको छ।
यस अवधिमा समेत माग सम्बोधन नभएको खण्डमा नेपाल दूरसञ्चार प्राधिकरण, स्वतन्त्र कर्मचारी युनियनले माग पुरा नभएसम्मको अवधिका लागि अध्यक्षलाई कार्यालय प्रवेश निषेध गर्ने भएको छ।
यस्ता छन् ४ माग
१. नेपाल दूरसञ्चार प्राधिकरणको आफ्नै स्वामित्वको घर÷जग्गा तथा भवन निर्माण कार्यको सुनिश्चितता गर्नको लागि जोडदार माग गर्दछौं।
२. मौजुदा नेपाल दूरसञ्चार प्राधिकरणको भवनमा कार्य सम्पादनका दृष्टिकोणले उचित र पर्याप्त अक्सिजन र प्रकाशको न्युनतम मापदण्ड समेत नपुगेकोले अधिकांश कर्मचारी स्वास्थ्य समस्या देखिएको सन्दर्भमा उचित स्वास्थ्य वातावरणमा काम गर्ने वातावरण निर्माण गर्नको लागि जोडदार माग गर्दछौं।
३. नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरूसँग सम्बन्धित नीति, नियम, गुरूयोजना, पदपूर्ति तथा ओ एण्ड एम सर्भे लगायतका विषयहरूमा कर्मचारीहरूको हक हित, उत्प्रेरणा, पूर्वानुमानयोग्य वृति–विकास सुनिश्चितता हुने गरी तत्काल अगाडी बढाउनको लागि जोडदार माग गर्दछौं।
४. समग्र दूरसञ्चार सुधारको लागि यस युनियनले पेश गरेको मागहरू अक्षरस; कार्यान्वयन गर्नको लागि पुनः जोडदार माग गर्दछौं।