काठमाडौं । मर्मत गर्न पोखरा उडेको सौर्य एयरलाइन्सको जहाजमा नाबालक भेटिएपछि चौतर्फी प्रश्न उठेको छ। जहाज 'सी चेक'मा जाँदा प्राविधिक कर्मचारीबाहेक अरुलाई अनुमति दिने कानुनी व्यवस्था छैन।
तर, बुधबार दुर्घटित सौर्य एयरको जहाजमा नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आफ्नो कर्मचारी भनेर ४ वर्षीय नाबालक अधिराज शर्मालाई एयरलाइन्सले यात्रा गराएपछि विवादमा तानिएको हो।
जहाज दुर्घटना हुँदा विमान चालक मनिषरत्न शाक्यबाहेक १८ जना कर्मचारीको मृत्यु भएको छ। मृत्युको सूचीमा ४ वर्षीय बालक शर्मा र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयकी कर्मचारी प्रिजा खतिवडासमेतको सूची निष्किएपछि सौर्य एयरलाइन्सले सी-चेकमा लैजाने जहाजमा बाह्य मान्छे कसरी परे भनेर प्रश्न उठेको हो।
सौर्य एयरलाइन्सका बजार प्रबन्धक मुकेश खनालले प्रिजाले कम्पनीमा आंशिक रुपमा काम गर्दै आएकाले कर्मचारीकै रुपमा पोखरा लगिएको बताए। ‘प्रिजाका श्रीमान् मनुराज शर्मा इन्जिनियर रहेको र आमाबुबा नै एक महिनाका लागि पोखरा जाने भएपछि बालकलाई पनि लागिएको हो’, उनले भने।
प्राधिकरण प्रवक्ता हंसराज पाण्डेले सौर्यले सी-चेकका लागि कर्मचारीको नामावली पठाएर उडान स्वीकृति लिएकाले बालक वा अन्य बाहिरका यात्रु को थिए भन्ने जानकारी नभएको प्रतिक्रिया दिए। ‘कानुनअनुसार बाहिरका मानिस सी-चेकका लागि लैजान मिल्दैन’, प्रवक्ता पाण्डेले भने, ‘यहाँ त नाबालक नै परेका छन्, यस विषयमा अध्ययन अगाडि बढाउँछौं।’
सी-चेकमा जाने जहाजमा नि:शुल्क उडान हुने भएकाले बालबालिका वा अन्य को-को छन् भन्ने नियामकलाई थाहा नहुने उनको तर्क छ। ‘अहिले हेर्दा नाबालक पनि देखिएकाले यो गम्भीर विषय हो,’ प्रवक्ता पाण्डेले भने।
बुधबार बिहान ११:११ बजे काठमाडौंबाट पोखरा उडेको सौर्यको ९ एन–एएमईरसिआरजे २०० कलसाइनको जहाज दुर्घटनामा परेको हो।
जहाज दुर्घटनामा १८ जनाको निधन भएको छ भने पाइलट बाँच्न सफल भएका छन्।