काठमाडौं । बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९एन–एएमई जहाज दुर्घटनामा पर्यो।
त्रिभुवन विमानस्थलको रनवे छाडेको करिब २० सेकेन्डमै दुर्घटनामा परेको जहाजमा सवार १८ जनाको ज्यान गएको छ भने क्याप्टेन पाइलट मनिषरत्न शाक्य घाइते भए। घाइते शाक्यको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ। मृतक १८ जनाको शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा राखिएको छ।
जहाज दुर्घटनाबारे अहिले विभिन्न आशंकासहितका टीकाटिप्पणी भइरहेका छन्। पोखरामा नियमित उडान नगर्ने जहाज किन पोखरा गएको र उडान अवधि सिद्धिएको विमान किन उडाएकोलगायत प्रश्न उठ्न थालेका हुन्।
प्राधिकरणले भन्यो- उडान अवधि ६० घन्टा थियो
दुर्घटनाग्रस्त जहाज इन्जिनको पूर्ण मर्मत (सी–चेक)का लागि पोखरा उडेको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जहाजको उडान समय ६० घन्टा बढी अवधि बाँकी रहँदै सी–चेकका लागि पोखरा उडेको जानकारी दिए।
सौर्यले विगत तीन वर्षदेखि नै प्राधिकरणको पोखरामा रहेको ह्यांगरमा आफ्ना जहाज मर्मत गर्दै आएको छ। सोहीअनुसार आज दुर्घटनामा परेको जहाज बिहान पोखरा उडेको हो।
सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेल जहाजको उडान अवधि पर्याप्त हुँदाहुँदै मर्मतका लागि पोखरा लगिएको बताउँछन्। ‘१५/२० दिनअघि नै जहाज मर्मतका लागि पोखरा लगिन भनिए पनि ल्यान्डिङ गियर परिवर्तन गर्नुपर्ने भएकाले विदेशबाट आउन ढिलाइ भएको थियो,’ अध्यक्ष पोखरेलले भने, ‘तीन दिनअघि मात्र सामान आएपछि फेरेर पठाइएको थियो।’
सौर्य एयरलाइन्सका अध्यक्ष पोखरेलले भने करिब १२० घन्टा उडान अवधि रहेको बताए।
पाइलटलाई कारबाही हुन्छ?
सामान्यतया सवारी दुर्घटनामा परी कसैको मृत्यु वा घाइते भए चालकलाई जेल सजायको प्रावधान छ। तर, जहाज दुर्घटना हुँदा पाइलटलाई कारबाही हुन्छ या हुँदैन भन्ने प्रश्न उठेका छन्। हुन त, जहाज वा हेलिकोप्टर दुर्घटना हुँदा पाइलट बाँच्ने घटना कमै मात्र हुने गर्छ। केही ठूला दुर्घटनामा पाइलट बाँचेको घटना पनि छ, जसलाई भाग्यवस ठानिन्छ।
सौर्यको अहिलेको दुर्घटनामा पनि पाइलटको ज्यान बचेको छ। प्रारम्भिक अध्ययनअनुसार जहाज जमिनमा बज्रिएर टुक्राटुक्रा हुँदा उछिट्टिएर पाइलट बाँच्न सफल भएको हुन सक्ने अनुमान छ। यद्यपि जहाजबाट हाम फालेर पाइलटले ज्यान बचाएको पनि भनिएको छ।
सन् २०१० मा तारा एयरको जहाज लुक्लामा दुर्घटना हुँदा पनि पाइलट बाँचेका थिए। उड्डयनविज्ञका अनुसार यसरी ठूलो दुर्घटनामा परेर बाँचेका पाइलट कमै मात्रामा रहेका छन्।
जहाज दुर्घटनामा परेर बाँचेका पाइलटलाई सामान्यतया निश्चित समयका लागि उडानमा रोक लगाउनेबाहेक अन्य कारबाही नहुने कानुन व्यवस्था छ।
गैरसैनिक हवाई उडान(सिभिल एभिएसन) ऐन, २०१५ अनुसार जल, स्थल वा हवाई क्षेत्रमा रहेको कुनै व्यक्तिको जिउज्यान वा सम्पत्तिमा हानिनोक्सानी हुने किसिमले वा उडानमा रहेको वा नरहेको अन्य कुनै वायुयानलाई समेत बाधा पुग्ने वा हानिनोक्सानी पुग्न सक्ने किसिमबाट कसैलाई खतराजनक तरिकाबाट वायुयान उडाएमा निजलाई ६ महिनासम्म कैद र ५० हजारदेखि एक लाखसम्म जरिवाना हुनेछ भन्ने उल्लेख छ।
उपदफा(१) बमोजिम खतराजनक तरिकाबाट वायुयान उडाएको कारणले दफा ९(क)को उपदफा(३) को खण्ड(ङ) बमोजिम कसैको मृत्यु भए वा वायुयान ध्वस्त भए सोही खण्डमा लेखिएबमोजिमको सजाय हुनेछ।
उच्चस्तरीय जाँचबुझ आयोग बन्दै
दुर्घटनाको विस्तृत अध्ययनका लागि सरकारले उच्चस्तरीय आयोग गठन गर्ने तयारी छ। आयोगले जहाज दुर्घटना कसरी र किन भयो भन्ने अध्ययन गरेर सरकारलाई प्रतिवेदन बुझाउनेछ। त्यसको आधारमा मात्र जहाज प्राविधिक वा मानवीय के कारणले दुर्घटनामा परेको हो भन्ने थाहा हुन्छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारै मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सम्भवत: आजकै मन्त्रिपरिषद् बैठकले सौर्य एयरलाइन्स दुर्घटनाका विषयमा जाँचबुझ आयोग गठन गर्ने छ।