काठमाडौं । अहिले बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम (तरलता) छ। नेपाल राष्ट्र बैंकका अनुसार गत असारसम्म बैंकिङ प्रणालीमा पौने २ खर्ब रुपैयाँ तरलता मौज्दात छ।
बैंकिङ प्रणालीमा कर्जा लगानीका लागि पर्याप्त तरलता भए पनि नयाँ कर्जा माग नहुँदा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) निरन्तर घट्दै आएको छ। २०७९/८० मा उच्च सीडी रेसियोका कारण कर्जा लगानीमा समस्या हुने गरेको थियो।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा ९० प्रतिशत सीडी रेसियो भए पुग्ने व्यवस्था गरेको छ। यसको अर्थ बैंकहरूले १ सय रुपैयाँ निक्षेप (स्रोत) संकलन गरेको स्थितिमा ९० रुपैयाँ कर्जा लगानी गर्न पाउँछन् भन्ने हो।
राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (जेठसम्म)अनुसार वार्षिक बिन्दुगत निक्षेपको वृद्धिदर १२.६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ५.६ प्रतिशत छ। यसले पनि सीडी रेसियोमा दबाब छैन भन्ने देखाउँछ।
निक्षेप संकलन सहज रुपले भइरहे पनि अघिल्ला वर्षहरूको तुलनामा कर्जा लगानी गर्न नसक्दा सीडी रेसियोको अन्तर निरन्तर फराकिलो हुँदै गएको हो। गत असारमा बैंकहरूले २ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा २६ अर्ब ७६ करोड रुपैयाँ मात्रै कर्जा लगानी गरे।
यसको परिणाम औषत सीडी रेसियो ७७.२९ प्रतिशतमा सीमित भयो। गत असारसम्म १४ वटा बैंकको सीडी रेसियो ८० प्रतिशतभन्दा तल हुँदा ६ वटा बैंकको मात्रै ८० प्रतिशत भन्दा बढी छ।
८० प्रतिशतभन्दा बढी सीडी रेसियो हुनेमा सिटिजन्स बैंक इन्टरनेस्नल, हिमालयन बैंक, कुमारी बैंक, नबिल बैंक, एनएमबी बैंक र प्राइम कमर्सियल बैंक छन्। सबैभन्दा बढी सीडी रेसियो भएको प्राइमको ८५.२८ प्रतिशत छ।
त्यस्तै, गत असारमा सबैभन्दा कम सीडी रेसियो हुनेमा राष्ट्रिय वाणिज्य बैंकको ६०.६५ प्रतिशत छ। यसअघि २०७९ असारमा बैंकहरूले १ खर्ब ९२ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गर्दा २ अर्ब १४ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए। त्यतिबेला औसत सीडी रेसियो ८१.५९ प्रतिशत थियो।