काठमाडौं । तीव्र उतारचढाबका बीच सेयर बजार २५३६.११ बिन्दुमा सीमित भएको छ। बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले २०७८ चैतपछि २६०० बिन्दु छोएको भएपनि कारोबार बन्द हुँदा भने २७.३२ अंकले घटेर २५३६.११ को बिन्दुमा सीमित भएको हो।
यसअघि २०७८ चैत १० मा नेप्से २६१३ बिन्दुमा थियो। अघिल्लो कारोबार दिन मंगलबार ७५.३३ अंकले बढेर २५६३.४३ को बिन्दुमा रोकिएको नेप्सेले बुधबार ११ बजेर २६ मिनेटमा २६००.४१ को बिन्दु छोएको थियो। यसपछि घटेको नेप्से १ बजेर २५ मिनेटमा २५१३.३४ को न्यून बिन्दुसम्म झर्यो।
बुधबार नेप्सेमा कुल ८७ अंकको उतारचढाव आएको छ। आज नेप्से सूचक घटेपनि कारोबार रकम भने बढेको छ। बुधबार नेप्सेमा कुल १६ अर्ब १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन मंगलबार भने नेप्सेमा कुल १४ अर्ब बराबरको कारोबार भएको थियो।
बुधबार कारोबारमा आएकामध्ये ४६ कम्पनीको सेयर मूल्य बढ्दा १९४ कम्पनीको घटेको छ। यस्तै, २ कम्पनीको सेयर मूल्य भने स्थिर छ। आज बोटलर्स नेपाल (तराई) लिमिटेड र एसियन हाइड्रोपावरको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। मंगलबार भने बोटलर्स नेपाल बालाजु, समृद्धि फाइनान्स, मान्डु हाइड्रोपावर, ह्वाथवे इन्भेस्टमेन्ट नेपाल र नेपाल वेयरहाउजिङ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको थियो।
आज चन्द्रगिरी हिल्स, समृद्धि फाइनान्स र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ प्रतिशत बढीले वृद्धि भएको छ। यस्तै, चिर्खवा हाइड्रोको सेयर मूल्य ७.७९ र सुपर मोदी हाइड्रोको सेयर मूल्य ६.०८ प्रतिशतले घटेको छ।
बुधबार फाइनान्स समूहको सेयर मूल्य १.१६ प्रतिशत र होटल तथा पर्यटन समुहको सेयर मूल्य ०.१३ प्रतिशतले घटेको छ। बाँकी अन्य ११ समुहको सेयर मूल्यमा भने गिरावट आएको छ। आज व्यापार समूहको सेयर मूल्य ३.०९ प्रतिशत, जलविद्युत समूहको सेयर मूल्य १.५७ प्रतिशत र लुघवित्तको १.३५ प्रतिशतले घटेको छ। अघिल्लो कारोबार दिन मंगलबार भने १३ समुहको सेयर मूल्य नै बढेको थियो।
मंगलबार व्यापार समूहमा सर्वाधिक अर्थात् ५.०६ प्रतिशतको वृद्धि भएको थियो भने जीवन बिमा समुहको सेयर मूल्य ४.४५ प्रतिशतले बढेको थियो।