काठमाडौं । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले मंगलबार आगामी आर्थिक वर्ष आर्थिक वर्ष २०२४/२५ का लागि लोसकभासमक्ष बजेट प्रस्तुत गरेकी छन्। वित्तमन्त्री सीतारमणले शिक्षा, रोजगार, किसान, महिला र युवाहरुलाई प्रोत्साहन गर्ने गरी करका दर हेरफेर गर्दै बजेट सार्वजनिक गरेकी हुन्।
भारतको नयाँ बजेटले ७ करोड ७५ लाख भारुसम्मको आम्दानीलाई करमुक्त गरेको छ। यसले आमजनतालाई १७ करोड ५ हजार फाइदा भएको छ। वित्तमन्त्री सीतारमणले पहिलो जागिर गर्नेहरुको वार्षिक तलब १ लाखभन्दा कम भएको अवस्थामा सरकारले नै २ किस्ता गरेर अधिकतम मासिक १५ हजार रुपैयाँ दिने घोषणा गरेकी छन्।
वित्तमन्त्रीले बिहारको पूर्वाधार परियोजनाका लागि ५८ हजार ९ सय करोड भारु विनियोजन गरेकी छन्। आन्ध्र प्रदेशको नयाँ राजधानीको पूर्वाधार निर्माण गर्न १५ हजार करोड रुपैयाँ छुट्याएकी छन्।
वित्तमन्त्री सीतारमणले कर प्रणालीमा समावेश हुने नयाँ करदातालाई छुट, भन्सार दर परिवर्तन, पहिलो जागिरेलाई थप भारु १५ हजार तलब, शिक्षामा सहुलियत कर्जा, कृषि क्षेत्रको लागि १ करोड ५२ लाख भारु अनुदान, छुट्याएकी छन्। उनले वार्षिक २० लाख युवालाई इन्टर्नसिप र ३ प्रतिशतमा शिक्षा कर्जा, महिलालाई फाइदा हुने परियोजनामा ३ लाख करोड भारु विनियोजन, सौर्य ऊर्जा प्रवर्द्धनमा लागि सौर्य घर निःशुल्क बिजुली परियोजना सञ्चालन गर्न १ करोड घरलाई मासिक ३ सय युनिट बिजुली निशुल्क उपलब्ध गराउनेलगायत नयाँ व्यवस्था बजेटमा गरिएको छ।
भारत सरकारले नयाँ बजेटमार्फत ७ वस्तुको भन्सार महसुल घटाएको छ भने २ वटाको बढाएको छ। नेपालको ६० प्रतिशत अर्थतन्त्र भारतबाट आयतीत वस्तु तथा सेवामा निर्भर छ। भारत सरकारले वस्तु तथा सेवाको अन्तःशुल्क र भन्सार महसुल बढाउँदा त्यसको प्रभाव नेपाली उपभोक्तालाई प्रत्यक्ष पर्छ।
भारत सरकारले भन्सार घटाएर मोबाइल फोन पार्टस् र चार्जरमा १५ प्रतिशत, सुनचाँदीका गरगहना ६ प्रतिशत, प्लेटिनियममा ६.४ प्रतिशत कायम गरेको छ भने टेलिकमका सामान र प्लास्टिकका सामानमा भन्सार दर बढाएर १५ प्रतिशत र २५ प्रतिशत कायम गरेको छ। यसअघि यस्तो भन्सार दर १० प्रतिशत र १५ प्रतिशत थियो।
भारतीय सरकारले चालू वर्षको बजेटमार्फत क्यान्सरको ३ प्रकारका औषधी, अक्सिजन फ्री काँपरको इलेक्ट्रोनिक सामान र सोलार प्यानलको मेनुप्mयाक्चरिङ सम्बन्धित सामानको भन्सार शुल्क हटाइएको छ।
यसैगरी भारतीय सरकारले चालू वर्षदेखि केही दैनिक उपभोग्य सामानको मूल्यदर थपघट गरेको छ। जसमा घरेलु प्रयोजनका ग्यास सिलिन्डरको मूल्य २७.१९ प्रतिशतले र व्यवसायीक प्रयोजनको ग्यास सिलिन्डरको मूल्य २.०२ प्रतिशतले घटाएको छ।
भारतमा घरेलु प्रयोजनको ग्यास सिलिन्डरको मूल्य १ हजार १०३ भारुबाट ८०३ कायम भएको छ भने व्यावसायिक प्रयोजनको ग्यास सिलिन्डर १ हजार ६८० भारुबाट १ हजार ६४६ कायम भएको छ। साथै, डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर २ भारु घटाइएको छ।
भारतीय सरकारले दैनिक उपभोगका केही सामानको मूल्य बढाएको छ। यीमध्ये दालको मूल्य २४.८२ प्रतिशत, चामल ९.१४ प्रतिशत, आलु ५४.५० प्रतिशत, चिनी ४.१७ प्रतिशत, दूध २.५५ प्रतिशत, आटा ३.८२ प्रतिशतले बढाइएको छ भने टमाटर ३८.७६ प्रतिशत र सोयाबिन तेल ५.५३ प्रतिशत सस्तो गरिएको छ।