काठमाडौं। भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२४/२५ का लागि ७०० करोड भारु अनुदानस्वरुप उपलब्ध गराउने भएको छ।
मंगलबार भारतीय वित्तमन्त्री निर्मला सीतारमणले संसद्मा प्रस्तुत गरेको वार्षिक बजेटमा गत वर्षभन्दा यस वर्ष ५० करोड भारु बढी अनुदान दिने भएको हो। गत आर्थिक वर्षमा भारतले नेपाललाई ६५० करोड भारु दिएको थियो।
प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो बजेटमा वित्तमन्त्री सीतारमणले शिक्षा, रोजगारी, किसान, महिला र युवामा जोड दिएकी छन्। नयाँ बजेटमा नयाँ कर प्रणाली छनोट गर्नेलाई ७.७५ लाखसम्मको आम्दानी हुने व्यक्तिले कर तिर्नुपर्ने नपर्ने व्यवस्था गरिएको छ।
पहिलो जागिरमा १ लाखभन्दा कम तलब हुनेलाई सरकारले तीन किस्तामा अधिकतम १५ हजार रुपैयाँ दिने घोषणा बजेटमा उल्लेख छ।मोदी सरकारले बिहारका मुख्यमन्त्री नितिश कुमारको जेडीयू र आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुको टीडीपीको समर्थनमा केन्द्रमा सत्ता चलाएकाले ती दुई राज्यलाई थप बजेट उपलब्ध गराइएको छ।
बिहारमा पूर्वाधार र अन्य परियोजनाका लागि ५८ हजार ९०० करोड र आन्ध्र प्रदेशको नयाँ राजधानी अमरावतीको विकासका लागि १५ हजार करोड थप रकम छुट्याइएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
बजेटपछि क्यान्सरको औषधी, सुनचाँदी, प्लेटिनम, मोबाइल फोन, मोबाइल चार्जर, विद्युतीय तार, एक्सरे मेसिन, सोलार सेट, छाला, सिफुड, मोबाइल र चार्जरमा भन्सार महसुल १५ प्रतिशतमा झरेको छ। सुन र चाँदीका गहनामा भन्सार महसुल ६ प्रतिशतमा झारिएको छ।
भारतको नियमित बजेट फेब्रुअरीमा आउँछ। नयाँ सरकार गठनपछि पूर्ण बजेट सार्वजनिक भएको हो।-एजेन्सी