साढे तीन बिघा जमिनको बीचमा सिमसार छ। सिमसार वरपर दुई सय बढी प्रजातिका एक हजार बढी बोट छन्। यीमध्ये ५० प्रतिशत बढी बोटमा चराचुरुंगीले खाने विभिन्न प्रजातिका फल फल्छन्।
केरा, आँप, अम्बालगायतका बोट रोप्दा चरा र मानिसबीच संघर्ष हुने आकलनले पक्षी र जनावरलाई लक्षित गरी सोहीअनुसारका बोट रुख हुर्काइएको छ। यी बोटमा फल्ने फलले चरालाई चारो खोज्न अन्यत्र जान दिँदैन। तलाउमा रमाइरहेका माछा, विभिन्न प्रजातिका चराका गुँड र तिनको चिरबिरले यो कुनै जंगलभन्दा कम लाग्दैन। यही मानन निर्मित जंगलभित्र बनेको छ, सिद्धार्थ भिलासा वनबास रिसोर्ट।
सौराहाको गैंडाचोकबाट पूर्वतर्फ साढे दुई किलोमिटरमा पर्ने कुमरोजमा रहेको यो रिसोर्ट हेरिटोपल्दा पर्यटकका लागि भन्दा पनि चराचुरुंगी र वन्यजन्तुका निम्ति बनाइएको आभास हुन्छ। रिसोर्ट निर्माण गर्दा जैविक विविधतालाई प्राथमिकतामा राखेको यसको बनोटले पनि झल्को दिन्छ।
संरक्षणकर्मीसँगै पर्यटन व्यवसायी बनेका वासु ढुंगानाको परिकल्पनामा बनेको यो रिसोर्ट तयार हुन करिब डेढ दशक लाग्यो। नलागोस् पनि कसरी। सिमसारको जैविक विविधतालाई समृद्ध गर्ने उद्देश्यले उनले सुरुमा सिमसार बनाए। त्यहाँ बर्सेनि भुरा हालेर माछा हुर्काए, सँगै विभिन्न जातका रुख रोपेर चरालाई गुँड बनाउन निम्ता दिए। जब कृत्रिम सिमसारले प्राकृतिक रुप लियो र हुर्किएका रुखमा फलेका फल खाँदै चराले गुँड बनाए, तब ढुंगानाले मानिसका लागि बस्ने बास बनाउन सुरु गरे। ढुंगानाले दशक अगाडि रोपेका रुखमा सयौंको संख्यामा चराका गुँड देख्न सकिन्छ। क्याम्पभित्र मात्रै एक सय बढी प्रजातिका चरा अवलोकन गर्न सकिन्छ।
‘वातावरणमैत्री रिसोर्टसँगै चराचुरुंगीका लागि पनि राम्रो बासस्थान होस् भन्ने मेरो सोच थियो। रिसोर्ट बन्नुअघि चराचुरुंगीको बास बन्नुपर्छ भन्ने लाग्थ्यो। त्यसैले तयार हुन केही समय लाग्यो’, उनले सुनाए। वनबासको बनोट हेर्दा ढुंगाना वातावरणको पारिस्थितिक प्रणाली र जैविक विविधताप्रति कतिसम्म मोहित छन् भन्ने बुझ्न कठिन छैन। रिसोर्ट निर्माणभन्दा पनि साढे तीन बिघामा नयाँ पारिस्थितिक प्रणाली सिर्जना गर्नु सहज थिएन। त्यसैले उनी कहिल्यै हतारिएनन्। निरन्तर काम गर्दै जाँदा प्राप्त नतिजाले उनको धैर्य, लगनशील र दृढ अठोटको परिकल्पना झल्काउँछ।
सिमसारमा माछा हुर्कंदै जाँदा सिकारी चरा, गोही र कछुवा आउन थाले। अहिले सिकारी चराले माछा खाँदै गरेको दृश्य निकै लोभलाग्दो देखिन्छ। एक प्रकारले ढुंगानाले जैविक विविधता संरक्षण गर्दै पारिस्थितिक प्रणालीमा खाद्य शृंखला सिर्जना गरेको देखिन्छ।
जब कृत्रिम सिमसारले प्राकृतिक रुप लियो र हुर्किएका रुखमा फलेका फल खाँदै चराले गुँड बनाए, तब ढुंगानाले मानिसका लागि बस्ने बास बनाउन सुरु गरे।
‘यहाँका माछा हाम्रा लागि होइन, चराचुरुंगीलगायतले खान्छन्। हामीले अहिलेसम्म मुस्किलले १० केजी पनि निकालेका छैनौं’, वासुले सुनाए, ‘अहिले यहाँ रहु र नैनीलगायत जातका माछा छन्। बर्खामा बढी पानी परेको समय अन्य जातका माछा पनि देखिन्छन्।’
सिमसार बनाएपछि वासुले विभिन्न जातका बिरुवा रोप्न थाले। बिरुवा हुर्कंदै जाँदा यसले जंगलको रुप लिन थाल्यो। चराका बथान बास खोज्दै आउन थाले। बोटमा फल लाग्न थालेपछि चरालाई आहार खोज्न बाहिर जानु परेन।
करिब एक दशकअघि बिरुवा रोप्दै गर्दा चारो र बास खोज्दै आउने चराचुरुंगीको भीड लाग्छ भन्ने सोचाइ थियो? वासुलाई सोध्यौं। ‘प्रकृतिमा आफ्नो मित्र, शत्रु र खानेकुरा नचिन्ने कुनै जीव हुँदैन। तपाईंले उसका लागि खानेकुरा चिज राखिदिनुभयो र माया गर्नुभयो भने आज नभए भोलि त आइहाल्छन् भन्ने मेरो मनले बोल्थ्यो’, उनी भन्छन्, ‘अहिले मेरो क्याम्प एक सय बढी प्रजातिका चराको बासस्थल बनेको छ।’ वासुले अधिकांश रैथाने जातकै बिरुवा भए पनि सौन्दर्यका लागि न्यून संख्यामा विदेशी प्रजातिका फूल लगाएको बताए। ‘ठूला जनावरलाई सडक पूर्वाधार र बस्ती भएकाले आकर्षित गर्न नसके पनि चरालाई भने आकर्षित गरिरहेका छौं’, उनले भने।
त्यति मात्रै होइन, वासुले रिसोर्र्टमा जे जति संरचना निर्माण गरेका छन्, त्यसमा सकेसम्म स्थाानीय साधन नै प्रयोग भएका छन्। सिमेन्ट, फलाम कम र काठ प्रयोग बढी गरिएको छ। काठमार्फत काष्ठकला प्रवद्र्धनमा पनि उनले उत्तिकै जोड दिएका छन्। संरचना अपांगतामैत्री होस् भन्ने पनि कतै कञ्जुस्याँइ छैन। सकेसम्म मार्बलको साटो ढुंगा र इँटा प्रयोग गरिएको छ। रिसोर्ट निर्माणबाट वातावरणमा कमभन्दा कम हानि होस् भन्नेमा विशेष ध्यान दिइएको छ।
पर्यटन व्यवसायीभन्दा अघि ढुंगानाको परिचय वातावरणकर्मी वा संरक्षणकर्मीका रुपमा थियो। वन र वन्यजन्तुको संरक्षणमा क्रियाशील भएकाले स्वदेश र विदेशसम्म पुगेर यसका लागि पैरवी गर्थे। उनले चितवनस्थित मध्यवर्ती उपभोक्ता समितिमा रहेर पनि काम गरिसकेका थिए। चितवन राष्ट्रिय निकुञ्ज वरिपरिको स्थान, जहाँ जनावरको चरिचरण र मानिस घाँसपात एवं जीविकोपार्जनका लागि निकुञ्जमा आश्रित छन्, त्यस क्षेत्रलाई मध्यवर्ती भनिन्छ। चितवन राष्ट्रिय निकुञ्ज ९५२ वर्गकिलोमिटरमा फैलिएको छ भने मध्यवर्ती क्षेत्र ७३२ वर्र्गकिलोमिटरमा। मध्यवर्तीको आधा हिस्सा वन र आधा बस्तीमा पर्छ।
ढुंगानामा मृगकुञ्ज उपभोक्ता समितिमा पाँच वर्ष सचिव र पाँच/पाँच वर्ष अर्र्थात् १० वर्ष अध्यक्ष भएर काम गर्दा प्राप्त निकुञ्ज संरक्षणको अनुभव नै पर्यटनको सबभन्दा ठूलो शक्ति भएको ज्ञानले इको रिसोर्ट सञ्चालन गर्ने सोच पलाएको थियो। ‘म सुरुदेखि नै निकुञ्जको सौन्दर्य कत्ति पनि कम नगरी वा विनास नगरी काम गर्नुपर्छ भन्नेमा प्रस्ट थिएँ। त्यसबाहेक स्थानीय कला, संस्कृति, परम्पराको जगेर्ना गर्ने गरी काम गर्छु भन्ने थियो’, उनले भने।
प्रकृतिको अनुभव लिन चाहने पर्यटकका लागि यो रिसोर्ट उपयुक्त विकल्प बनेको छ। ढुंगानाकै शब्दमा, रिसोर्ट आउने प्रत्येक मानिसले प्रकृतिमा शान्तसँग बस्न पाओस्, प्रकृतिको नजिकै रहेर यसलाई बुझ्न सकोस भन्ने चाहना हो। त्यसका लागि उनले ठूलो मिहिनेत खर्चिएका छन्।
त्यसो त, रिसोर्टमा अनेकौं सुविधा पनि छन्। पाहुना वातानुकूलित कोठामा बसेर आनन्द उठाउन सक्छन् भने रुखको छहारी वा घाम ताप्दै बस्ने सुविधा पनि छ। कुनै समूह छ भने त्यसका लागि छुट्टै सेवा पनि लिन सकिन्छ। चारैतिर बाँसले बेरेर गोपनीयतालाई पनि उत्तिकै ख्याल गरिएको छ। रिसोर्टले जंगलमा क्यान्डल लाइट डिनर गर्नेका लागि पनि सुविधा दिन्छ।
भिल्ला निर्माणको सोच प्रकृतिलाई नजिकबाट बुझ्न वा अनुभव लिन सकियोस् भन्ने हो। भुइँमा जोडिएको रुम हाइजेनिक हिसाबले पनि सुरक्षित नहुने र गोपनीयताका लागि उचित नभएकाले एक तला माथि उठाएर निर्माण गरिएको छ। सबै भिल्ला स्थानीय कला–संस्कृति र परम्परा झल्कने गरी डिजाइन गरिएको छ।
रिसोर्टमा विशेषगरी थारु संस्कृति बढी प्रवद्र्धन गरिएको छ। सबै भिल्लामा स्थानीय साधन–स्रोतको अधिक उपयोग गरिएको छ। बस्तीबाट ल्याइएका झिंगटी प्रयोग बढी मात्रामा गरिएको छ। रिसोर्ट कुमरोज र जन्कौली मध्यवर्ती सामुदायिक वन नजिकै छ। यहाँ २४ भिल्लामा ३४ सुविधायुक्त कोठा छन्। उनले भने, ‘भिल्ला काठले बनेका, माटोले पोतिएका, खपटाले छाएका छन्। सम्पूर्ण भिल्लाको नामकरण चराको नामबाट राखिएको छ।’
‘झिंगटी वास्तविक देखियोस् भनेरै स्थानीयसँग खरिद गरेर राखेका छौं। यहाँ प्रयोग गरिएका अधिकांश सामान पुनः प्रयोग अर्थात् रिसाइकलयोग्य छन् भन्न सकिन्छ’, उनले भने। त्यति मात्रै होइन, रिसोर्टभित्रै झरनासहितको स्वीमिङ पुल पनि छ। भिल्लाबाहेक सुविधासम्पन्न स्वीट रुम पनि छन्। एउटा सेमिस्वीट रुम छ। परिवार र ठूलो समूहलाई बस्न चार वटा रुम इन्टरकनेन्टेड छन्। सांस्कृतिक कार्यक्रम पनि चलिरहन्छ। साधारणतयाः एक दिनको अन्तरालमा थारु संस्कृति देख्न सकिन्छ।
ढुंगानाले रिसोर्टलाई सामाजिक, कानुनी र न्यायिक हिसाबले पनि उत्कृष्ट बनाउने प्रयासमा रहेको सुनाए। ‘दुई वर्षभित्र ५० प्रतिशत महिलाले रोजगारी पाएका हुनेछन्। ५० प्रतिशत स्थानीय नै हुनेछन्। संविधानले पहिचान गरेका सीमान्तकृत, दलित, जनजातिलाई पनि उत्तिकै महत्त्वका साथ स्थान दिइनेछ’, उनले योजना सुनाए। त्यति मात्रै होइन, मध्यवर्तीका निकुञ्जपीडित, जनावरको आक्रमणका परेका परिवारका सदस्यलाई रोजगारीमा प्राथमिकता दिइनेछ।
रिसोर्ट सञ्चालनको उद्देश्य जैविक विविधतालाई संरक्षण गर्दै स्थानीयलाई आत्मनिर्भर बनाउनुका साथै स्थानीय रैथाने परिकारको प्रवद्र्धन गर्नु रहेको ढुंगाना बताउँछन्। ‘ग्राहकसँग स्थानीय परिकार खाने कि कन्टिनेन्टलमा जाने भन्ने विकल्प हुनेछ। थकाली मात्रै खान्छु भने पनि पाइन्छ’, उनले भने।
त्यसबाहेक पर्यटकलाई जंंगलसम्बन्धी सबैखाले गतिविधि गराइने उनी सुनाउँछन्।
‘जंंगल भन्नेबित्तिकै हात्ती सफारी गर्दैनौं। जनावरलाई दुःख दिने कुनै पनि काम हुँदैन। बरु जीप सफारीलार्ई प्रवद्र्धन गर्छौं। पर्यटकले चाहे हात्तीलाई खाना खुवाउने, हात्तीसँग घुम्ने र हात्ती नुहाएको पनि देखाउँछौं’, उनले भने।
त्यसबाहेक रिसोर्टमा बोट क्यानोनिङको पनि सुविधा छ। भौगोलिक हिसाबले ‘डिप फरेस्ट’मा भएकाले बोटिङको रमाइलो बेग्लै हुन्छ। रिसोर्टमा रमाउने मात्रै होइन, यहाँ आउनेहरुले स्थानीय समुदायमा घुलमिल भई काम गर्न पाउँछन्। योगा र फिसिङको पनि सुविधा छ।
ढुंगाना रिसोर्टमार्फत नेपाली काष्ठकलाको प्रवबद्र्धन होस् भन्ने चाहन्छन्। त्यसैले रिसोर्टमा बढ्ता काष्ठकलाको प्रयोग गरेका छन्। उनी भन्छन्, ‘हामीले खरिद नगर्ने हो भने उत्पादन घट्छ। उत्पादन घट्दा यो सीप पुस्तान्तरण हुँदैन। काठमाडौं, भक्तपुर र ललितपुरमा भएको मल्ल र लिच्छिविकालीन काष्ठकलाको पहिचान जोगाउन काम गर्नुपर्ने समय आएको छ।’ ढुंगाना नेपाली काष्ठकलालाई विदेशमा ‘भ्यालु एड’ गर्ने गरी काम गरिरहेको बताउँछन्।
वासुको यो परिकल्पनामा सुरुमा नातेदार रमेशबाबु वाग्ले र गीता अधिकारीले साथ दिएका थिए। कोरोना महामारीका कारण आर्थिक रुपमा समस्या भएपछि व्यवसायी उमेश श्रेष्ठले ५० प्रतिशत हिस्सा लिए र वासुको परिकल्पनाको इको रिसोर्टमा होमिएका छन्।
‘कोरोना महामारीलगायत कारणले सोचेभन्दा केही बढी समय लागेको होला। तर, हामीले सौराहमा जुन रिसोर्ट खोजेका थियौं, हाम्रो योजनाअनुरुप त्यस्तै बनेको छ’, उनले भने।
एक दशक बढी समय र करोडौं लगानीमा तयार भएको वनबास रिसोर्टको व्यवस्थापन अहिले नेपाली हस्पिटालिटी क्षेत्रको चर्चित ब्रान्ड सिद्धार्थ हस्पिटालिटीले गरेको छ। सिद्धार्थको प्रिमियम ब्रान्ड ‘भिलासा’को दोस्रो प्रपर्टीका रुपमा रिसोर्ट सञ्चालन भइरहेको छ। चितवन राष्ट्रिय निकुञ्ज भित्र हाई–इन्ड पर्यटकलाई लक्षित गर्दै सञ्चालित रिसोर्टमा लामो समय अनुभव सँगालेका जैविधिक विविधता र वाइल्ड लाइफ टुरिजमविज्ञ प्रकाश न्यौपाने महाप्रबन्धकका रुपमा वनबासमा जोडिएका छन्।
वनबासले चराचुरुंगीको सन्दर्भमा जनचेतना अभिवृद्धिको पनि जिम्मेवारी लिएको ढुंगाना बताउँछन्। उनका अनुसार यहाँ बेंगल फ्लोरिकल अर्थात् खरमयूर नामक लोपोन्मुख चरा पाइन्छ। त्यसको संरक्षण गर्ने, अन्डालाई सुरक्षित गर्ने गरी आर्थिक व्ययभार पनि सम्हाल्न तयार रहेको उनको भनाइ छ।
‘यो लोपोन्मुख जातिको चराको संख्या यहाँ १०/१२ मात्रै छ। यसको संरक्षण निकै जरुरी छ। साना घाँसमा लुकेर बस्ने चरा संरक्षणका लागि काम गरिरहेका पनि छौं’, उनले भने।