काठमाडौं। होटल संघ नेपाल (हान)को प्रतिनिधिमण्डलले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई भेटेर गौतमबुद्ध र पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान व्यवस्था गर्न आग्रह गरेको छ। संघ अध्यक्ष विनायक शाह नेतृत्वको टोलीले अर्थमन्त्रीलाई होटल क्षेत्रका मागबारे अवगत गराएको हो।
हान पदाधिकारीले बढ्दै गएका होटल संख्या र क्षमता उपयोग गर्न भैरहवा र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान बढाउन, पोखरा, चितवन, लुम्बिनीका सडक स्तरोन्नति समयभित्रै सकिसक्न अर्थमन्त्रीसँग आग्रह गरे।
अर्थमन्त्री पौडेलले पर्यटन र होटल क्षेत्रको स्थायित्व तथा प्रवर्द्धनका आगामी मौद्रिक नीतिमा व्यवसायीका माग सम्बोधन हुने विश्वास दिलाए। व्यवसायीले लामो समयदेखि होटल क्षेत्रलाई उद्योगसरहको मान्यता दिन राख्दै आएको मागमा सरकार सकारात्मक रहेको बताए।
नेपाल भ्रमणमा आउने भारतीय पर्यटकबाट खर्च गर्ने सीमा तथा व्यवस्था, आन्तरिक पर्यटन बढाउनेलगायत हानले उठाएका पर्यटन विकास विस्तारका विषयमा मन्त्रालय सकारात्मक रहेको मन्त्री पौडेलले जानकारी दिए।
भेटमा हान अध्यक्ष शाहले होटल संख्या तथा क्षमता बढेअनुरुप माग बढ्न नसकेको हुँदा सरकारी तबरबाट थप पर्यटक भित्र्याउन सरकारले लिनुपर्ने पहललगायत विभिन्न विषय समेटेर मन्त्रीसमक्ष ज्ञापनपत्र पेस गरेका थिए।
प्रतिनिधिमण्डलमा द्वितीय उपाध्यक्ष दिनेश तुलाधर, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्यसमिति सदस्य सीपी श्रेष्ठ र जयदीन श्रेष्ठ सहभागी थिए।